माछा मार्ने खाल्डोमा अजिङ्गर भेटिएपछि...
राजविराज : माछा मार्ने क्रममा सप्तरीमा अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-३ स्थित गिदखोरामा स्थानीयवासीले अजिङ्गर फेला पारेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
माछा मार्न गएका स्थानीयले खाडलमा अजिङ्गर फेला पारेपछि प्रहरीलाई खबर गरेर जिम्मा लगाएका छन् । खाडलमा फेला परेको अजिङ्गर सात फिट लामो र झण्डै १० किलो तौलको रहेको छ।
इलाका प्रहरी कार्यालय भारदहमा ल्याइएको अजिङ्गर इलाका वन कार्यालय रुपनगरका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी मनोजकुमार यादवले बताए।
माछा मार्ने क्रममा फेला परेको अजिङ्गरलाई वन कार्यालयले कोशी टप्पु वन्य जन्तु आरक्षलाई बुझाउने जनाएको छ। उक्त अजिङ्गरलाई वर्षाको समयमा आरक्षको जंगलबाट बाढीले बगाएर ल्याएको हुनसक्ने आशंका गरिएको छ।