शैक्षिक अवस्था बुझ्न ‘असर टेष्ट’
दाङ : सार्वजनिक शिक्षामा शैक्षिक गुणस्तरको अवस्था बुझन दाङको तुलसीपुरबाट विद्यार्थीको सिकाइ उपलब्धीको सर्वे सुरु गरिएको छ। कक्षा १ देखि ८ सम्मका प्रत्येक विद्यार्थीको सिकाइको अवस्था बुझ्न विश्वमा मान्यता प्राप्त ‘असर टेष्ट’ (वार्षिक शैक्षिक अवस्था सर्वे) दाङमा गर्न लागिएको हो।
तुलसीपुर उपमहानगरपालिकाका एक सय ३९ विद्यालयका ३४ हजार विद्यार्थीहरुमा यो परीक्षण गरिदैछ। एक महिनाको अवधिमा एक/एक विद्यार्थीको सर्वे गरिने उपमहानगरपालिका शिक्षा महाशाखाका शिक्षा विज्ञ मुकुन्द रिजालले जानकारी दिए। हाल महानगरभित्रका ७० सामुदायिक विद्यालय र ६९ संस्थागत विद्यालयमा सर्वे सुरु गरिएको हो। जसका लागि एक सय ५० जना स्वयंसेवक खटाइएको छ।
उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थी सम्मीलित परीक्षणको व्यवस्थापन टिच फर नेपाल र नमुना युवा संसद्ले गरेको छ। भारत, पाकिस्तान लगायतका देशमा ३ करोड बालबालिका गरिएको परीक्षण सफल देखिएपछि नेपालमा पहिलोपटक गर्न लागिएको हो। यो परीक्षण कम्प्युटर प्रणालीमार्फत गरिन शिक्षा महाशाखा प्रमुख भास्करराज गौतमले बताए। असर टेस्टले सवै विद्यालयको शैक्षिक अवस्था, सिकाइको गुणस्तरका बारेमा अभिलेखिकरण गर्नेछ। बालबालिकाको सिकाइमा प्रभाव पार्ने तत्वको पहिचान पनि हुने प्रमुख गौतमले जनाए।
‘बालबालिकाको सिकाइ उपलब्धि र गुणस्तर कमजोर भएको गुनासो सर्वत्र छ’ उनले भने, ‘गुणस्तर खस्किनुको कारण यस परीक्षणबाट पत्ता लगाएर आगामी योजना निर्माण गर्नेछौं।’ उनले १३ हजार विद्यार्थीमा ‘असर टेष्ट भइसकेको जानकारी दिए। नेपालमा सन् २०१७ मा बुढानिलकण्ठ विद्यालयले गरेको थियो। त्यो अहिले पनि छ। स्थानीय तहमध्ये तुलसीपुरले पहिलोपटक परीक्षण गर्न लागेको जानकारी दिए।
स्वयंसेवक शिक्षकले मोबाइलबाट नै विद्यार्थीको अवस्थालाई तत्काल इन्ट्री गर्नेगरी सर्वेको सप्टवेयर निर्माण गरिएको छ। त्यो विवरण सिधै शिक्षा शाखाको कन्ट्रोल शाखामा जानेछ। नेपाली, अंग्रेजी र गणित विषयमा केन्द्रित रहेर परीक्षण गरिन्छ। यसबाट घरपरिवारको अवस्था, सामाजिक रहनसहन तथा वातावरणकोसमेत अध्ययन हुनेछ। बालबालिकाको घरमा पढाइको वातावरण, अभिभावकको भूमिका कस्तो छ भन्ने देखाउने असरका म्यानेजर रतन देवकोटाले बताए।
‘हामी विद्यार्थी, कक्षा कोठा, विद्यालय र उसको सिकाइको अवस्था बुझछौं’ देवकोटाले भने, ‘घर परिवारको अवस्था सामाजिक वातावरण बुझ्न पनि सजिलो हुनेछ। आगामी दिनमा शैक्षिक गुणस्तर सुधारका लागि यो सर्वे सहयोगी बन्नेछ।’ एउटा विद्यार्धीसँग बढीमा १५ मिटेको समयमा यो सर्वे गरिन्छ। मध्यम खाले प्रश्नबाट सुरु हुने परीक्षण दुई भागमा विभाजन गरिएको छ। मध्य प्रश्नको उत्तर दिएकालाई माथिका प्रश्नमा बढ्ने र नसक्नेलाई त्यसभन्दा तलका प्रश्न सोध्ने गरिन्छ।