स्याउ नपाक्दै धमाधम बिक्री

स्याउ नपाक्दै धमाधम बिक्री

जोमसोम : स्याउको पकेट क्षेत्र मानिएको हिमालीपारी मुस्ताङमा स्याउ टिप्न थालिएको छ । आसन्न हरितालिका तीज पर्वको मेलो पारेर व्यापारीले असोजमा पाक्ने स्याउ भदौको सुरुआतमै टिप्न थालेका हुन् ।

यहाँको स्याउ अक्सर असोज महिनामा खानका लागि योग्य हुन्छन् । त्यस समय बोटबाट टिपेका स्याउका दाना खदिलो र खानका लागि स्वादिष्ट हुने गर्छ । रस भरिएको स्याउको वजन समेत बढी हुने गर्छ । तर, यसअघि नै स्याउ ठेक्का लिइसकेका व्यापारीले राम्ररी स्याउ नपाक्दै धमाधम बोटबाट टिपेका हुन्। यहाबाट संकलन गरिएको स्याउ  ट्रकमा लोड गरी पोखरा र काठमान्डौका बजारमा पुर्‍याउँछन् ।

स्याउ किसानले ठेक्का नलगाएका स्याउ पनि अहिले नपाक्दै  टिप्न थालिएको छ । किसानले स्याउ टिपेर जोमसोमका पसलेलाई बिक्री गर्ने गरेको जोमसोमका स्याउ पसलले  बिष्णु पुनले बताए। बजारमा स्याउको कम प्रतिस्पर्धा हुने र साविक भन्दा बढी मुल्य पाईने भएकाले व्यापारीले छिटो-छिटो स्याउ संकलन गर्न थालेका हुन् । मुस्ताङका बगानमा फलेका स्याउ बर्सेनि सिजन अगावै बजार पुर्‍याउने क्रम बढेको हो । मुस्ताङमा सडक संञ्जालले जोडिएपछि व्यापारीलाई स्याउ बजारिकणमा सहज भएको हो ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ,घरपझोङ र थासाङ गाउँपालिकाका एक दर्जन गाउँमा व्यापारी धमाधम स्याउ टिप्न जुटेको थासाङ-१ टुकुचेका स्थानीय सपुत थकालीले बताए।

उनका अनुसार स्याउ खरिद आउने व्यापारीले स्याउको सिजन सुरु हुनु अगावै किसानसँग बैनापट्टा लगाउने गर्छन् । असोजमा पाक्ने स्याउ तीज पर्वको मेलो छोपेर भदौमै टिप्न सुरु गर्ने गरेको थकालीले उल्लेख गरे।

सिजन अगावै व्यापारीले स्याउ टिपेर बजार पुर्‍याउने गरेपछि यहाँको स्याउको गुणस्तर खस्किन थालेको जिसस मुस्ताङकी प्रमुख छिरिङ ल्हामो गुरुङले बताइन् । व्यापारीलाई स्याउ बगैचानै ठेक्का लगाइने भएकाले किसानले यसप्रति चाँसो नदिएको उनको बुझाई छ । उनले स्याउ टिप्ने समय तालिका निर्धारण हुनसके मुस्ताङको स्याउको विश्वसनीयता कायम रहने जनाइन्।

धादिङका स्याउ व्यापारी भीम तामाङका अनुसार तीज पर्वलाई लक्ष्य गरी स्याउ संकलन गर्न मुस्ताङ आएको बताए । उनले भने, 'श्रावणमै किसानसँग स्याउको ठेक्का लिएक थियौं । तीज, दशैं र तिहार पर्वमा यहाँको स्याउ सहर पुर्‍याउछौं ।'

उच्च हिमाली क्षेत्र तथा चिसो भूगोलमा हुर्काइएको मुस्ताङी स्याउ भर्जिन क्वालिटीको रुपमा लिने गरिएको छ। यहाँका किसानको मुख्य आम्दानीको श्रोत पनि स्याउ खेति नै हो । 

गत वर्ष मुस्ताङमा ५८ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । यहाँको १२ सय हेक्टरमा स्याउ खेति गरिएको छ भने उत्पादन ४ सय ५० हेक्टरमा मात्र हुने गरेको स्याउ जोन कार्यालय मुस्ताङले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.