जनस्वास्थ्य निरीक्षकसहित तीन विरुद्ध मुद्दा, सवारी चालकलाई माफी
काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्यसहित तीनजनाविरुद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई १ लाख ३० हजार विगो कायम गरिएको छ ।
कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएका थिए । घुस लिँदा लिँदै कार्यालय प्रमुख आचार्य, जिन्सी शाखा प्रमुख रेग्मी, लेखापाल शर्मा र हलुका सवारी चालक भगदत्त जैसीलाई अख्तियारले नियन्त्रणमा लिएको थियो ।
चालकबाहेक तीनजनालाई भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ । चालक जैसी भ्रष्टाचारजन्य कसुरमा दोषीलाई कारवही गराउने कार्यमा आयोगलाई सहयोग पुर्याएको आधार कारणबाट सजायको मागदावीमा पूर्ण रूपमा छुट दिइ आयोगको साक्षीको रूपमा पेश गर्ने गरिएको छ ।