फैलिँदै डेंगुको संक्रमण
ललितपुर : ललितपुर महानगरपालिकाको लगनखेल प्रयागपोखरी वरिपरी र सानेपा क्षेत्रमा डेंगुका बिरामी भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार बिरामी उपचारपछि घर फर्किएका छन्। हालसम्म ललितपुरमा डेंगुको संक्रमणमा परेका सात जना बिरामी देखिए पनि तीनजना मात्रै ललितपुरका वासिन्दा भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।
स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर खगेश्वर गेलालले सानेपा र प्रयागपोखरीका तीन जना स्थानीयमा डेंगुको संक्रमण देखिएको बताए। उनीहरु तीनै जनाको उमेर १८ देखी २० वर्ष रहेको छ। संक्रमितमध्ये युवा र युवती नै छन्। अन्य चार जना जिल्ला बाहिरबाट आएका बिरामी छन्। ‘सबै बिरामीहरुहरुको अल्का, बी एण्ड बी, सुमेरु र मेडिसिटी अस्पतालमा उपचार भएको हो’ स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियम शंकर पौडेलले भने, ‘ललितपुरका बिरामी उपचारपछि घर फर्किसकेका छन्, बाहिर जिल्लाका केहीको उपचार सकिएको छैन।’
स्वास्थ्य कार्यालयले डेंगु नियन्त्रणका लागि विद्यालय र प्रत्येक घरमा पुग्ने निर्णय गरेको छ। स्वास्थ्य कार्यालय, वडा स्वास्थ्य कार्यान्वयन समिति, महिला स्वास्थ्य स्वयंसेविका, निर्वाचित पदाधिकारी लगायत प्रत्येक घर–घरमा पुगेर (सर्च एन्ड डीस्ट्रोए) लामखुट्टेको लार्भा खोजी तथा नष्ट गरिने कार्यक्रम रहेको कार्यालय प्रमुख गेलालले बताए। विद्यालयमा पुगेर स्वास्थ्यर्मीले ८, ९ र १० कक्षाका बालबालिकालाई डेंगु संक्रमण र नियन्त्रणका विषयमा पढाउने कार्यक्रमको तय भएको उनले जानकारी दिए।
ललितपुर महानगरपालिकाले बिहीबार विज्ञप्ती जारी गर्दै विद्यालयले डेंगु नियन्त्रण सम्बन्धी सचेतना कक्षा पढाउन सर्कुलर जारी गरेको छ। यस्तै महानगरपालिकाले डेंगु भाइरस भएका लामखुट्टे नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। महानगरवासीको स्वास्थ्य सुरक्षामा संवेदनशीलता अपनाउँदै उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय महानगरको कार्यपालिका बैठकले गरेको हो।
ललितपुर महानगरपालिका चिरीबाबु महर्जनले भने, ‘ललितपुरमा डेंगु प्रभावित बिरामी देखिएकाले थप सजगता अपनाउन यस्तो निर्णय गरेका हौं।’ महानगरको पहिलो दायित्व नगरवासीको सुरक्षा भएको बताउँदै उनले प्राथमिकताका साथ सम्बन्धित निकायका विज्ञसँग छलफल गरेर कार्यक्रम ल्याउन लागेको बताए। सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले डेंगु नियन्त्रणका लागि जनचेतना आवश्यक भएको बताए।
डेंगु रोग संक्रमण डेंगु भाइरस भएका पोथी लामखुट्टेले टोकेपछि लाग्छ। फूल पार्नका लागि पोथी लामखुट्टेलाई पौष्टिक तत्व आवश्यक भएकाले मान्छेको रगतमार्फत उक्त पौष्टिक तत्व प्राप्त गर्न लामखुट्टेले मानिसलाई टोक्छ। यी लामखुट्टेले मान्छेलाई दिउँसोको समयमा टोक्ने चिकित्सकले बताएका छन्।
ललितपुर महानगरले डेंगु नियन्त्रण गर्नका लागि लामखुट्टेको वासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान थालेको छ।
दिउँसोको समयमा सुत्दा पनि झुल हालेर सुत्नुपर्ने, खाल्डाखुल्डीमा पानी जम्न नदिन अनुरोध गरिएको छ। डेंगु लाग्दा आँखाको जोर्नीहरु दुख्ने, पखाला लाग्ने, छालामा राता निला बिबिरा देखिने लक्षण देखा पर्छन्।
भक्तपुरमा स्वास्थ्यकर्मी संक्रमित
भक्तपुरमा पनि डेंगु देखापरेको छ। भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित १० जनामा डेंगुको संक्रमण फेला परेको हो। भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविभुषण सुवालले अस्पतालका एक कर्मचारीसहित १० जनामा डेंगुको संक्रमण देखिएको जानकारी दिए। उनका अनुसार अस्पतालमा डेंगुको परीक्षण किट नहुँदा टेकु अस्पताल रेफर गरिएकामध्ये ६ जनामा संक्रमण देखिएको थियो।
अस्पतालमा कीटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगु पुष्टि भएको उनको भनाइ थियो। ‘हामीकहाँ कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रेफर गरिएकामध्ये ६ जनामा डेंगु भएको पुष्टि भयो’ डा. सुवालले भने, ‘हामीकहाँ परीक्षण गराएका १८ मध्ये हाम्रै एक कर्मचारीसहित चार जनामा संक्रमण देखिएको छ।’
दुई जनाको भक्तपुर अस्पतालमै उपचार भइरहेको छ भने बाँकीको टेकु अस्पतालमा रेफर गरिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा गत वर्षको तुलनामा यसवर्ष डेंगु संक्रमण बढेको छ। कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर राजेन्द्रसिंह धामीले गतवर्ष तीन जनामा मात्रै डेंगु देखिएको बताए। उनले यसवर्ष डेंगुको संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर जनस्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको बताए। साउनमा एकजनामा मात्रै देखिएको डेंगुको संक्रमण भदौमा बढेको छ।