मुक्तिक्षेत्रमा पार्किङ विवाद चुलिँदै
जोमसोम : बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१स्थित रानीपौवा बसपार्कको पार्किङ ठेक्का टेन्डर विवाद चुलिँदै गएको छ। गाउँपालिकाले तोकेको टेन्डर खसाल्ने अन्तिम मिति शुक्रबार भएपनि स्थानीयको व्यापक विरोधपछि गाउँपालिकाले अनिश्चितकालका लागि पार्किङ टेन्डर स्थगित गरेको हो।
साउन ३१ गते गाउँपालिकाले भदौ १३ गते अन्तिम मिति रहने गरी सूचना प्रकाशित गरेको थियो। मुक्तिनाथ रानीपौवाका करिव ७० जना स्थानीयले प्लेकार्ड र ब्यानरसहित गाउँपालिकाको एकलौटी निर्णयप्रति आपत्ति जनाउँदै गाउँपालिकामा विरोध र धर्ना दिएका थिए।
पुराङ रानीपौवाका स्थानीय एंव जनप्रिय युवा क्लबका सल्लाहकार सुरज गुरुङले गाउँपालिकाले स्थानीय स्तरमा समन्वय र छलफल नगरी मनोमानी रुपमा पार्किङ टेन्डर खुलाएको बताए। उनले भने, ‘धेरै पहिलादेखि गाउँले भोग चलन गर्दै आइरहेको जग्गामा गाउँपालिकाले एकलौटी निर्णय गरेको गरेको छ।’ उनले पार्किङ कसरी र कसलाई दिने भन्ने अधिकार संम्वन्धित गाउकै अधिकार क्षेत्रमा पर्ने दाबी गरे।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले गाउँपालिकाले आह्वान गरेको पार्किङ टेन्डर स्थानीयको विरोधपछि आकस्मिक गाउँ सभाको बैठकले स्थगित गरेको जानकारी दिए। ‘गाउँपालिकाले तोकेको मितिमा कुनै टेन्डर खसेन। सहमतिबाटै निकास खोजौं भन्ने स्थानीयको माग रह्यो। यसको अन्तिम निर्णय छिट्टै गाउँ सभाले टुंगो लगाउँछ,’ उनले भने। उनका अनुसार स्थानीयले पार्किङ टेन्डर गाउलेले आह्वान गर्ने र यो विषयमा स्थानीय तहले हस्तक्षेप गर्न नमिल्ने पुराङबासीको माग रहेको जानकारी दिए।
पुराङवासीले परापूर्वकाल देखि पूर्खाहरुले विभिन्न गाउँहरुमा आ–आफ्नो ठाउँका चरनक्षेत्र, वन, खाली जग्गा संम्वन्धित गाउँले नै भोग चलन गर्ने गरी विभाजन भएको र त्यही जगका आधारमा त्यो हक र अधिकार गाउलेले उपयोग गर्दै आइरहेको पूराङ डेलिगन टोलीको मागपत्रमा उल्लेख भएको प्रशासकीय अधिकृत रेग्मीले खुलाए। मागपत्रमा भोग चलन तथा संरक्षण स्थानीय गाउँ समाजले गर्दै आइरहकाले पार्किङ कसरी व्यवस्थित गर्ने भन्ने अधिकार सम्बन्धित गाउँकै रहेको स्थानीयको अडान छ।
संघीयतापछिको पहिलो वर्षमा पनि गाउपालिकाले मूक्तिनाथ पार्किङ टेन्डर आह्वान गर्दा स्थानीयले विरोध जनाएका थिए। स्थानीयको दबाबका बीचमा गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो। गत वर्ष गाउँपालिकाले ५ लाख २५ हजारमा पार्किङ ठेक्का लगाएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तुलबहादुर कार्कीले पार्किङ टेन्डरमा आएको विरोध प्रदर्शन शान्तिपूर्ण भएको जानकारी दिए। उनले गाउँलेले पार्किङको उपयोग गाउँलेले निर्णय गर्ने र गाउँपालिकाले हस्तक्षेप गर्न नमिल्ने माग भएको जानकारी दिए।