ज्ञान र बुद्धि

ज्ञान र बुद्धि

ज्ञान र बुद्धि साथी–साथी हुन्। तिनीहरू एकले अर्कालाई सहयोग गर्छन्। परेको बेला अरूलाई पनि सहयोग गर्छन्। तिनीहरूको मित्रता र सहयोगी व्यवहारको विद्यालयभरि सबैले प्रशंसा गर्छन्।

साथी र मित्रताको उदाहरण दिनु पर्दा सबैले ज्ञान र बुद्धिकै नाम लिन्छन्। विद्यालयभरि निकै प्रख्यात छन् ज्ञान र बुद्धि। ती दुई असाध्यै मिल्छन् पनि। नङ र मासुजस्तै।

        ज्ञान निकै ज्ञानी छ। बुद्धि पनि निकै बुद्धिमान छ। ज्ञानले कहिल्यै नराम्रो काम गर्दैन। कुन काम कसरी गर्ने भन्ने कुरामा उसले निकै विचार गर्छ। ऊ अध्ययनशील छ। त्यसैले उसलाई धेरै कुराको ज्ञान छ। यसैगरी बुद्धि पनि कुनै पनि काम बुद्धि लगाएर गर्छ। कुनै पनि प्रश्नको उत्तर उसले सोचेरमात्रै दिन्छ। प्रश्नको उत्तर दिनुअघि ऊ आफ्नो बुद्धि लगाउँछ।

        एकदिन कक्षामा गणित सरले जोडघटाउ बारेमा पढाउँदै हुनुहुन्थ्यो। उहाँले जोडघटाउ बारेमा विद्यार्थीले राम्रोसँग बुझून् भनेर विभिन्न उदाहरण दिएर सिकाउनुभयो। कालोपाटीमा मात्रै लेखेर सिकाउँदा विद्यार्थीलाई बुझ्न गार्‍हो पर्‍यो। त्यसपछि उहाँले बाहिरी उदाहरण पनि दिनुभयो।

उहाँले एउटा रमाइलो कुरा सम्झनुभयो। त्यो कुरा उहाँले कतै पढ्नु अथवा सुन्नु भएको थियो। सरले त्यही कुरा विद्यार्थीलाई सोध्ने विचार गर्नुभयो। त्यससँगै उहाँले ज्ञानको ज्ञान र बुद्धिको बुद्धि पनि जाँच्ने विचार गर्नुभयो। ज्ञान र बुद्धिको जाँचले अरू विद्यार्थीले पाठ सिक्छन् भन्ने उहाँलाई लाग्यो।

जोडघटाउको एउटा रमाइलो उदाहरण प्रस्तुत गर्दै सरले भन्नुभयो, ‘एउटा रूखमा दसवटा चरा थिए। एउटा सिकारीले बन्दुकले हान्यो। गोली लागेर दुइटा चरा मरे। अब भन त, त्यो रुखमा कति वटा चरा बाँकी छन् ? ’

        यस्तो सजिलो प्रश्न सुनेर विद्यार्थी उत्तर भन्न हतारिए। सबै विद्यार्थीले हात उठाए। तर बुद्धिले उठाएन। ऊ अलिकति घोरिएर सोचिरह्यो।

        सरले एक–एकजनालाई उत्तर भन्न लगाउनुभयो।

रामुले भन्यो, ‘आठ वटा चरा बाँकी छन् सर।’

सरले केही भन्नुभएन। सही अथवा गलत। खाली मुसुमुसु हाँसी मात्रै रहनुभयो।

हरिले यसो सोचेर भन्यो, ‘आठ वटै हो सर।’

सरले फेरि पनि केही भन्नुभएन। पहिलाजस्तै हाँसी मात्रै रहनुभयो।

उत्तर सही नै हो। तर सरले केही बोल्नुभएन। त्यसैले अरूलाई त्यो उत्तर भन्ने आँट नै आएन। सही उत्तर पनि गलत हो कि जस्तो लाग्न थाल्यो।

        दसबाट दुई घटाएपछि त आठ नै बाँकी रहन्छ। तर सरले त्यो उत्तर सही वा गलत केही भन्नु भएन। विद्यार्थी अलमल्ल परे। उनीहरू एकले अर्काको मुख हेर्न थाले। गणितको नियमअनुसार त त्यो प्रश्नको उत्तर आठ नै हो। सबैले बुझेको र जानेको पनि यही नै हो। तर सही वा गलत भनेर सर किन बोल्नुभएन ? सबैजनाले अचम्म माने। उनीहरू अलिअलि अचम्म मानेर, अनि अलिअलि डराएर सरको मुख हेर्न थाले।

सबैले एउटै उत्तर दिएका हुन्। दस वटा चरामा दुईटा मरेपछि आठ वटा बाँकी रहन्छन्। तर सरले उत्तर मिल्यो वा मिलेन केही भन्नुभएको छैन।

ज्ञानले आफ्नो कापीमा हिसाब गर्‍यो। दसबाट दुई घटाएपछि आठ नै बाँकी रहन्छ। ऊ यही निष्कर्षमा पुग्यो। त्यसैले उसले पनि त्यही उत्तर भन्यो, ‘आठ वटा चरा बाँकी रहन्छन् सर।’

सरले फेरि पनि केही भन्नु भएन। खाली हाँसी मात्रै रहनुभयो।

अब पालो आयो बुद्धिको। ऊ अघिदेखि सही उत्तर के होला भनेर निकै गम्भीर भएर सोचिरहेको थियो। केही बेर सोचेर उसले भन्यो, ‘अब त्यो रूखमा एउटा पनि चरा बाँकी छैनन् सर।’

बुद्धिको उत्तर सुनेर कक्षाभरिका विद्यार्थी गललल हाँसे। तर सर हाँस्नु भएन।

सबै विद्यार्थीतिर हेरेर सरले भन्नुभयो, ‘यही नै हो सही उत्तर।’

सरको कुरा सुनेर विद्यार्थी झन् अलमल्ल परे। आज सरले कस्तो हिसाब सिकाउनुभएको होला ? सबैजना मनमनै यही सोच्न थाले।

सबै विद्यार्थीले अचम्म मानेर आफूतिर हेरिरहेको देखेर सरले भन्नुभयो, ‘तिमीहरूलाई अचम्म लाग्यो होला। वास्तवमा तिमीहरूले दिएको उत्तर सही नै थियो। किनभने गणितको नियमअनुसार दसमा दुई घटाएपछि आठ नै बाँकी रहन्छ। तर सबै ठाउँमा र सबै समयमा गणितको नियम लागू हुँदैन। त्यसैले सबै ठाउँमा र सबै समयमा गणितको नियमअनुसारको उत्तर गलत हुन सक्छ। त्यस्तो अवस्थामा बुद्धि र चतुर्‍याईंले काम गर्नुपर्छ। जस्तो आज हाम्रो बुद्धिले गरेको छ। उसले बुद्धि लगाएर उत्तर दिएको हुँदा उसको उत्तर मिल्यो।

कस्तो बुद्धि होला ? विद्यार्थी फेरि अलमल्ल पर्न थाले। त्यही बेलामा सरले भन्नुभयो, ‘लौ त बुद्धि, तिमीले नै तिम्रो उत्तरलाई अझ प्रस्ट पारिदेऊ त।’

त्यसपछि बुद्धिले भन्यो, ‘गणितको नियमअनुसार सरको प्रश्नको उत्तर आठ नै हो। किनभने दशबाट दुई घटाउँदा आठ नै बाँकी रहन्छ। तर यतिखेरको सरको प्रश्न अलि अचम्मको छ। त्यसैले यस प्रश्नको उत्तर दिन हाम्रो ज्ञानभन्दा बुद्धिको जरुरत पर्दछ। मैले त्यही बुद्धि प्रयोग गरेँ।’

बुद्धिले फेरि अगाडि भन्दै गयो, ‘कुरा के हो भने साथीहरू, सरले भन्नुभएजस्तै रूखमा दस वटा चरा थिए। एउटा सिकारीले बन्दुकले हान्यो। बन्दुकको गोली लागेर दुइटा चरा मरे। बाँकी चरा बन्दुकको चर्को आवाज सुनेर डराएर त्यहाँबाट उडेर गए। त्यसैले रूखमा एउटा पनि चरा बाँकी छैनन्।’

        बुद्धिको कुरा सुनेर अरू विद्यार्थी छक्क परे। उसको कुरा बुझेपछि सबैले बुद्धिको प्रशंसा गर्दै भने, ‘बुद्धिको त नामजस्तै बुद्धि पनि ठूलै रहेछ।’

        साथीहरूको कुरा सुनेर बुद्धि दंग पर्‍यो। बुद्धिको बुद्धि देखेर ज्ञान चाहिँ छक्क पर्‍यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.