सीमावर्ती गाउँमा होमस्टे

सीमावर्ती गाउँमा होमस्टे

मुस्ताङ : जिल्लाको उत्तरी सीमावर्ती गाउँ समजुङ र छोसेरमा होमस्टे सञ्चालनमा आएको छ। ‘लोवा संस्कृतिको पहिचान, घरबास पर्यटन प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने उद्घोषसहित त्यहाँका १२ घरधुरीले होमस्टे सञ्चालनमा ल्याएका हुन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको भौतिक तथा प्राविधिक सहयोगमा होमस्टे सुरु भएको हो। यसअघि सामान्य कृषि र पशुपालनमा आश्रित यी दुई गाउँका स्थानीयलाई पर्यटन व्यवसायतर्फ आकर्षित गर्न एक्यापले पहल गरेको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए। उत्तरी तिब्बतको बोर्डरसँग निकट गाउँ भएको र प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न कोरलापासमा पछिल्लो समय हजारौं स्वदेशी तथा विदेशी पर्यटकको विशेष आकर्षक गन्तव्य बन्दै गएकाले त्यहाँका स्थानीयको दैनिकीमा समेत होमस्टेले फरक परिवर्तन ल्याउने कार्यालय प्रमुख दाहालले दाबी गरे।

एक्यापले सीमावर्ती गाउँका स्थानीयलाई दुई वर्षअघि होमस्टे व्यवस्थापनसम्बन्धी तालिम दिएको थियो। तालिम उपलब्ध भए पनि होमस्टे सञ्चालन गर्न सकस बनेको थियो। तालिमपछि पूर्वाधार तयारीमा जुटेका १२ घरधुरीले संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ अनुसार होमेस्टे व्यवस्थापन उपसमिति गठन गरी हालै एक्यापमा होमस्टे दर्ता गरेका हुन्।

एक्यापले होमस्टे सञ्चालनका लागि करिब एक लाख बराबरको भौतिक सामग्रीसमेत उपलब्ध गराएको कार्यालय उनले जानकारी दिए।

दाहालका अनुसार बेडफोम, सेता तन्ना र सिरक खोल, कुर्ची, अतिथि दर्ता रजिस्टर, झाडन, डस्टबिन, डोरम्याटजस्ता सामग्री एक्यापले उपलब्ध गराएको छ। यस्तै गण्डकी प्रदेशको आर्थिक सहयोगमा सामुदायिक सोलार स्नान घरको निर्माण अन्तिम चरणमा पुगेको छ। होमस्टेमा आउने पाहुनाका लागि आ–आफ्नो घरको अतिरिक्त कोठा उपयोग गरी प्रत्येक घरघुरीले ३–३ जना पाहुना राख्ने निर्णय गरेका छन्।

होमस्टेमा आउने पर्यटकका लागि हिमाली अर्गानिक खानाका परिकार चौरीगाईका दूध, दही, छुर्पी, घिउ, याकचौरी र भेडाच्यांग्राका मासुका परिकार र फापरको पीठोबाट बन्ने विभिन्न खानाका परिकारको व्यवस्था हुने एक्यापले जनाएको छ। होमस्टे सञ्चालकले पर्यटकको सुविधाका लागि सफा शौचालय र स्नान घरको व्यवस्थासमेत गरेका छन्।

उपल्लो मुस्ताङको कोरलापास पुग्ने पर्यटकले होमस्टेमा पुगेपछि त्यहाँको ‘नोम्याड’ जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सक्नेछन्। गुफामा बस्ने मानिसको सदियौं पुरानो परम्परालाई नजिकबाट नियाल्न सकिनेछ। कोरला पुग्ने पर्यटकले नाकाको भ्रमण, अनौठा गुफा, पुराना गुम्बाको अवलोकन र आश्चर्यजनक भू–आकृतिजस्ता विशेषता रहेका आर्कषक गन्तव्य अवलोकन गर्न सक्नेछन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.