चेली ल्याउन छाडे माइतीले
ताप्लेजुङ : सिरिजंघा गाउँपालिकाका विनोद भट्टराई तीज नजिकिएसँगै दिदीको घर जान्थे। भिनाजु÷दिदीका सासुससुरासँग पठाइदिन अनुरोध गर्थे। दिदीलाई सँगै लिएर फर्कन्थे।
तर पछिल्लो ७ वर्षयता उनी तीजमा दिदीलाई लिन गएका छैनन्। पाँचथरको फिदिम घर भएकी दिदीलाई फोनबाटै बोलाउने गरेका छन्। ‘धेरै पटक दुई दिन पैदल हिँडेरै लिन गएको छु,’ विगत सम्झँदै उनले भने, ‘७ वर्ष भयो फोनबाट बोलाउने गरेको छु।’ विनोदजस्ता धेरै दाजुभाइहरू तीजमा डाक्न अहिले दिदी÷बहिनीको घर जाने क्रम बिरानो हुन थालेको छ।
‘उहिले पो बोलाउने कुनै माध्यम थिएन र घरै पुग्नुपथ्र्यो,’ मेरिङ्देन गाउँपालिकाका मदन गौतम भन्छन्, ‘अहिले फोन, सामाजिक सञ्जालजस्ता प्रविधि छन्, त्यसैको प्रयोगले तीजको बदलिएको हो।’ सञ्चार, यातायातको विकासले तीजलाई केही सहज बनाए पनि मौलिकता हराउने हो कि भन्ने चिन्ता रहेको फुङलिङ नगरपालिकाका माला पालुङ्वा बताउँछिन्। माइती र चेलीबीच पहिलेजस्तो घनिष्ठता र सामीप्यता देख्दिनन्, उनी।
उनी भन्छिन्, ‘टाढा टाढा रहेका चेली माइतीको लामो समयपछि भेट हुन्थ्यो, माइती घरमै लिन आउँदा जन्मघरै पुगेजस्तो हुन्थ्यो, बाटामा सुख दुःखका कुरा हुन्थे। अहिले त्यस्तो छैन।’ बाटामा मैतालुहरूको राताम्मे लस्कर देखिन र गाउँबेंसीमा चेलीबेटीका दुःखेसो बोकेका गीत पनि सुनिन छोडेको पालुङ्वाको अनुभव छ।
तृतीयाको दिन रातभरि नाचगान गर्दै खाइने दर। भोलिपल्ट निराहार व्रत बसी गरिने शिवजीको पूजा र नाचगानसहितको रमाइलो। चेली माइतीबीच सुखदुःख साटासाट नै तीजको मौलिकता हुन्। महिना दिनअघिबाटै दर खाने चलन सुरु भएको छ। संघ संस्थाहरूले होटल, पार्टी प्यालेस र अफिसमै पनि कार्यक्रम गर्न थालेका छन्। मासु र पेय पदार्थको अत्यधिक प्रयोग हुने गरेको छ।
यस्तो शैलीले माइती र चेलीको महत्व घटाएको फुङलिङका युवराज गिरी बताउँछन्। समयसँगै चाडपर्व मनाउने तरिका केही परिवर्तन हुनु सामान्य नै भए पनि मौलिकता जोगाउन भने सबैको ध्यान जानुपर्ने गिरीको भनाइ छ। तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउनु पर्ने फुङलिङ नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले बताइन्।
अहिलेको तीजमा उच्छृंखलता, तडकभडक र देखासिकी हाबी भएको ओझाको अनुभव छ। ‘तीज मनाउने नाममा पश्चिमा संस्कृतिले प्र श्रय पाइरहेको छ,’ उनले भनिन्, ‘तीजजस्ता परम्परादेखि मनाउँदै आएका संस्कार संस्कृतिको जगेर्ना गर्न हातेमालो आवश्यक छ।’