तस्करीको नयाँ तरिका : सिलिण्डरभित्र लागुऔषध !
राजविराज : हरितालिका तीज र गणेश चतुर्थीका कारण बजार खचाखच भरिएको थियो। पूजाका लागि महादेव मन्दिर जाने ब्रतालु र विभिन्न पूजाका समाग्री लिएर आ–आफ्नो घर जानेको भीडले बजारमा ओहोरदोहोर गर्नेको संख्या बाक्लो थियो।
राजविराज नगरपालिका १६ स्थित बागेश्वरी मन्दिरको बाटो हुँदै बजार प्रवेश गरिरहेको मोटरसाइकललाई सादा पोशाकका प्रहरीले रोकेर खानतलासी गरे। मोटरसाइकल चालक राजगढ गाउँपालिका ६ का ३८ वर्षीय अशोक यादवले खाली ग्यास सिलण्डिर मात्रै भएको बताए। घरमा पूजाका सामग्री तयार गर्नका लागि आवश्यक परेको ग्यास लिन बजार आएको भन्दै थिए, उनी। प्रहरीले शंका लागि ग्यास सिलिण्डर ओल्टो–कोल्टो पारी हेरे। ग्यास सिलिण्डरको पिंधमा प्वाल देखेपछि प्रहरी आश्चर्यमा परे।
ग्यास सिलिण्डरको पिँधमा रहेको प्वाल खोलियो। त्यसपछि थाहा भयो, सिलिण्डरभित्र त अवैध लागुऔषध पो रहेछ। एकछिन अघिसम्म खाली सिलिण्डर हो भन्ने यादव तर्सिए। उनी उम्कन खोजे तर प्रहरीहरुले उनलाई नियन्त्रणमा लिए।
सप्तरीका प्रहरीले तस्करीको नयाँ तरिका थाहा पाए। घरमा खाना बनाउनका लागि भन्दै गाउँ–गाउँबाट खाली सिलिण्डर ल्याउने र बजारबाट भरिएको ग्यास सिलिण्डर लैजाने गरिन्छ। ग्यास सिलिण्डरलाई सूक्ष्म ढंगले चेकजाँच गरिदैन। यसपाली भने सिलिण्डरको पिँधभित्र लुकाई ल्याएको लागुऔषध फेला परेको छ।
सिलिण्डरको पिँध काटेर बनाइएको प्वालभित्र लागुऔषध ल्याउने यादव ‘भरिया’ हुन् वा तस्कर हुन् भन्ने खुलेको छैन। यो विषयमा अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ। डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार यादवले भारतबाट अवैध लागुऔषध कुन तरिकाले सीमा नाका हुँदै बजार भित्र्याउँछन् र बेच्ने गर्दछन् खोजीको विषय बनेको बताए।
सिलिण्डरभित्र लुकाई छिपाई अवैध रूपमा ल्याएको एक सय मिली लिटरको एक सय ४० बोतल डाइलेक्स डि.सी.सिरप लागुऔषध फेला परेको छ। बरामद गरिएको लागुऔषधसहित यादवलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो। यादवलाई लागुऔषध ओसारपसार मुद्दामा कारवाही थालिएको डीएसपी मिश्रले बताए।