‘दसैंमा खसीबोका पर्याप्त’

‘दसैंमा खसीबोका पर्याप्त’

काठमाडौं : सरकारले यस वर्ष दसैंमा खसीबोका पर्याप्त आपूर्ति हुने दाबी गरेको छ। अहिले नै बजारमा खसीबोकाको अभाव हुँदा उपभोक्ताले प्रतिकिलो एक हजार पाँच सय रुपैयाँसम्म तिरेर मासु खरिद गरिरहेका छन्।

सरकारले मासु जाँच ऐनअनुसार गत फागुन २६ गतेदेखि औपचारिक रूपमा पशु स्वास्थ्य र क्वारेन्टाइन प्रमाणपत्रका आधारमा मात्रै भारतबाट खसीबोका आयात गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यो व्यवस्था कार्यान्वयनमा आएपछि भारतबाट आउने खसीबोका पूर्णरूपमा बन्द छ।

दसैंमा खसीबोका बिक्री हुने सबैभन्दा ठूलो बजार काठमाडौं उपत्यका हो। उपत्यकामा दसैंको अवधिमा मात्रै बर्सेनि ५० हजार खसीबोकाको माग हुन्छ। बर्सेनि भारतबाट आयात गरी खसीबोकाको व्यवस्थापन गर्दै आएको निजी क्षेत्र यसपटक सुस्ताएको छ। कारण हो, पशु स्वास्थ्य र क्वारेन्टाइन प्रमाणपत्रका आधारमा मात्रै औपचारिक रूपमा खसीबोका आयात गर्न पाइने। निजी क्षेत्रले यसपटकको दसैंमा उपभोक्ताले खसीबोकाको चरम अभाव व्यहोर्नुपर्ने बताएका छन्।

काठमाडौंमा खपत हुने खसीबोका मध्ये झण्डै ७० प्रतिशत भारतबाटै आयात हुन्थ्यो। ‘तर गत फागुनदेखि आयातमा कडाइ भयो’,चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष भानुभक्त पराजुलीले भने,‘यसले गर्दा अहिले नै मागको करिब २० देखि ३० प्रतिशत मात्रै स्वदेशी उत्पादनबाट बजार धानिरहेका छौं। दसैंमा माग बढ्छ। माग धान्न खसीबोका आपूर्ति गर्ने कुनै स्रोत छैन। यसले गर्दा उपभोक्ताले चरम अभाव व्यहोर्न सक्छन्।’

भारतबाट खसीबोका आयात नहुँदा संघले यसपटकको दसैंमा स्वदेशी लाम्काने, खसी र जमुनापारी जातको करिब २० हजार खसीबोका मात्रै बिक्री गर्ने जानकारी दिए। प्रत्येक वर्षको दसैंमा ४५ हजार गोटा खसीबोका संघ एक्लैले बिक्री गर्र्दै आएको थियो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैंलाई लक्षित गरी केही समयका लागि आयात प्रक्रिया खुकुलो पार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गरे पनि मन्त्रालय भने सकेसम्म आयात खुकुलो नगर्ने अडानमा छ। मन्त्रालयले आफ्नै उत्पादन पर्याप्त भएकाले बाहिरबाट अस्वस्थ खसीबोका आयात गर्न नदिने अडान लिएको छ।

पशु सेवा विभागले भने यसपटकको दसैंमा उपभोक्ताले गत वर्षभन्दा बढी खसीबोका बजारमा खरिद गर्न पाउने दाबी गरेको छ। विभागका महानिर्देशक डा.बंशी शर्माले व्यवसायीले भनेजस्तो खसीबोका अभाव नहुने बताए। उनले दसैंमा उपत्यकामा ६२ हजार गोटा खसीबोका स्वदेशी उत्पादनबाट उपलब्ध गराउने गृहकार्य सुरु गरिएको जानकारी दिए। शर्माले भने, ‘हाम्रै देशमा पर्याप्त परिमाणमा खसीबोका उत्पादन भएका छन्, व्यवसायीले भनेजस्तो अभाव हुन्न, बरु छेलोखेलो हुन्छ।’

शर्माका अनुसार दसैंलाई भनेर बाख्रा व्यवसायी संघले २० हजार गोटा, हेफर इन्टरनेसनलले २६ हजार गोटा, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार र चौपाया खरिदबिक्री सेवा संघले २० हजार गरी कुल ६८ हजार गोटा खसीबोका उपत्यकाको बजारमा ल्याउने तयारी भएको छ। ‘यो परिमाणमा खसीबोका ल्याउने गृहकार्य गरी त्यहीअनुसार तयारी सुरु भएको छ’, शर्माले भने। उनका अनुसार दसैंमा आठ हजारको संख्यामा निजी व्यापारीले मुस्ताङ र मनाङबाट च्यांग्रा भिœयाउन लागिएकाले उपभोक्ताले मासुका लागि अभाव व्यहोर्नु पर्दैन।

व्यवसायीका अनुसार सरकारको यो व्यवस्थाका कारण भारतबाट खसीबोका नआउँदा नेपाली बजारमा खसीबोकाको अभाव भएको हो। मागअनुसार आपूर्ति नहुँदा वस्तुको मूल्य वृद्धि हुने सिद्धान्तअनुसार खसीबोकाको पर्याप्त आपूर्ति नहुँदा मासुको उपभोक्ताको मूल्य अकासिएको व्यवसायी बताउँछन्। संघले दसैंमा पर्याप्त खसीबोका आपूर्ति नभए जिउँदो खसीको प्रतिकिलो सात सय ५० रुपैयाँसम्म मूल्य वृद्धि हुन सक्ने औंल्याएको छ। हाल प्रतिकिलो ६ सय रुपैयाँ छ।

पराजुलीका अनुसार भारतबाट औपचारिकरूपमा खसीबोका आयात गर्न निकै झण्झटिलो प्रक्रिया छ। यो प्रक्रिया पारगरी खसीबोका आयात गर्न सम्भव छैन। उनका अनुसार स्वास्थ्य परीक्षण गराउन खसीबोका बोकेर दिल्ली लैजानुपर्ने व्यवस्था छ। खसीबोकाको रगतको नमुना संकलन गरी परीक्षण गर्न दिएको २१ दिनपछि मात्रै रिर्पोट आउँछ। २१ दिनसम्म खसीबोका दिल्लीमा राख्ने व्यवस्था छैन। ‘परीक्षणपछि रिर्पोट राम्रो आयो भने त्यहाँबाट खसीबोका काठमाडौंसम्म ढुवानी गर्दा लागत खर्च निक्कै महँगिन्छ, यसले गर्दा यो प्रक्रिया झण्झटिलो भएको हो’, पराजुलीले भने। निजी क्षेत्रले अधिकांश खसीबोका भारतको कानपुरबाट आयात गर्दै आएका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.