१० प्रतिशत फोहोर मात्रै ल्यान्डफिल पुर्याइने
काठमाडौं : काठमाडौं महानगरपालिकाले उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि नयाँ योजना ‘हाउसहोल्ड फोहोर संकलन प्रणाली’ लागू गरेको छ। यो प्रणालीअन्तर्गत अब फोहोर उत्पादकले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्नेछ। यसरी छुट्याएको कुहिने फोहोर लिन साताको चार दिन र नकुहिने फोहोर लिन साताको चार दिन महानगरको गाडी टोल-टोलमा आउँछ। फोहोर संकलन गर्दा सुन्दर, सफा र स्वच्छ सहर हुने महानगरले जनाएको छ।
घरबाट उत्सर्जन भएको फोहोरलाई नियन्त्रण गर्न महानगरले तत्कालका लागि १२, १८ र २१ वडा यसरी फोहोर संकलन गर्न थालिएको छ। ती वडामा मंगलबार, बिहीबार र शनिबार नकुहिने फोहोर र आइतबार, सोमबार, बुधबार र शुक्रबार कुहिने फोहोर संकलन सुरु भएको छ। यी वडाबाट अब महानगरले मिसिएको फोहोर संकलन गर्ने छैन।
‘एक महिनासम्म फोहोर छुट्याएर ल्याउन आग्रह गर्छाैं’, काठमाडौं महानगरपालिकाका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘त्यसपछि पनि फोहोर मिसाएर ल्याएमा, सडक तथा खाली ठाउँमा फाले कारबाही गर्नेछौं।’ हाल तीन वटा वडामा लागू गरिए पनि विस्तारै महानगरभर कार्यान्वयनमा लैजाने उनको भनाइ छ।
‘महानगरले सुरु गरेको यो प्रणाली फोहोर व्यवस्थापनका लागि विकल्प छैन। सचेत भएर यसको कार्यान्वयन गर्नुपर्छ’, श्रेष्ठले भने, ‘नगरबासीसँगै मिलेर कार्यान्वयन गर्छौं। कुहिने र नकुहिने फोहोर छुट्याएर राखिदिनुभए पुग्छ।’ महानगरले कुहिने फोहोर घरको कम्पोस्ट विनमा राख्ने र नकुहिने फोहोरलाई कवाडीको रूपमा बिक्री-वितरण गर्ने प्रणाली विकास गरिएको श्रेष्ठले जानकारी दिए।
बाँकी काम नलाग्ने फोहोर ल्याण्डफिल साइटमा विसर्जन गरी क्यापिङ गरिने श्रेष्ठको भनाइ छ। कुहिने फोहोरबाट कम्पोस्ट प्लानबाट मल उत्पादन गर्ने, उत्पादित मल किसानसँग समन्वय गरेर सहुलियत मूल्यमा किसानलाई उपलब्ध गराउने नीति महानगरको रहेको श्रेष्ठले बताए।
कुहिने र नकुहिने फोहोर संकलनबारे टोल-टोलमा जानकारी दिन माइकिङ, प्रचा वितरण, भेला कार्यक्रम गरिएको काठमाडौं महानगर-१८ का वडाअध्यक्ष न्हुच्छे काजी महर्जनले जानकारी दिए। कुहिने सबै फोहोर घरमै व्यवस्थापन गर्न अभियानसमेत चलाएको उनले बताए। कम्पोस्ट मल बनाउने तरिका, कौशी खेती, प्लास्टिकका विभिन्न सामग्री बनाउने तालिमसमेत प्रदान गर्दै आएको महर्जनले बताए।
‘सबै नगरबासीले यस अभियानमा साथ दिनुपर्छ’, उनले भने। घरबाहेक होटल, रेस्टुरेन्टलगायतमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न आग्रह गर्दै जाने उनको भनाइ छ।
होटल, रेस्टुरेन्ट, गार्मेन्ट, उद्योग, कलकारखाना, हस्पिटल, बसोवास गर्ने घरबाट निस्कने फोहोरलाई स्रोतमै नियन्त्रण हुनेछ। ‘६० प्रतिशत कुहिने फोहोरलाई प्रांगारिक मलको रूपमा उत्पादन गर्ने गरी संकलन गरिनेछ’, श्रेष्ठले भने, ‘नकुहिने ४० प्रतिशत फोहोरमा ३० प्रतिशत कवाडीका रूपमा बिक्री हुनेछ। बाँकी १० प्रतिशत कामै नलाग्ने फोहोर ल्यान्डफिल साइटमा विसर्जन हुनेछ।’ यसबाट फोहोरको परिमाणमा कमी आउने, सडकमा कम गाडी गुड्ने, ऊर्जा प्रयोगमा कमी आउने तथा मानव संसाधनको उपयोग अत्यधिक गर्न सकिने उनको भनाइ छ।
समयको बचत र वातावरण प्रदूषितमा नियन्त्रण र कमी आउने अपेक्षा महानगरले गरेको छ। कबाडीको रूपमा बिक्री हुने फोहोर लिन खालिसिसिडटकम घरमै जाने व्यवस्था महानगरले मिलाउनेछ।
उपत्यकामा दैनिक उत्सर्जन हुने करिब एक हजार मेट्रिक टन फोहोरको अन्तिम व्यवस्थापनका लागि नुवाकोटको ककनी गाउँपालिका-२ स्थित सिसडोलमा गरिँदै आएको छ।
हाल सिसडोल फोहोरले भरिसकेको छ। दीर्घकालीन रूपमा सिसडोलबाट २ किमि टाढा बन्चरेडाँडामा फोहोरमैलाको अन्तिम विर्सजन गर्ने गरी निमार्ण भइरहेको भनिए पनि सिसडोलमै फोहोरमैला व्यवस्थापन गरिँदै आएको छ। काठमाडौं, ललितपुर महानगरपालिका र कीर्तिपुर नगरपालिकाको मात्रै फोहोर व्यवस्थापन सिसडोलमा गरिँदै आएको थियो।
काठमाडौं महानगरबाट ५ सय १६, कीर्तिपुर नगरपालिकाबाट ६, कागेश्वरी मनहराबाट २०, चन्द्रागिरिबाट ३०, गोकर्णेश्वरबाट ६०, टोखाबाट ३५, तारर्केश्वरबाट ३५, बूढानीलकण्ठबाट ३५, दक्षिणकालीबाट १५, नागार्जुनबाट ३५, शंखरापुरबाट ८, ललितपुर महानगरबाट १ सय ३०, गोदावरीबाट २५, महालक्ष्मीबाट ३०, मध्यपुर थिमीबाट ३०, चाँगुनारायणबाट १५ र सूर्यविनायकबाट २५ मेट्रिकटन फोहोर संकलन हुँदै आएको छ। यो सबै फोहोर सिसडोलमा विर्सजन गरिँदै आएको छ।
संकलन हुने फोहोर (मेट्रिकटनमा)
काठमाडौं महानगर-५१६
कीर्तिपुर नगरपालिका-६
कागेश्वरी मनहरा-२०
चन्द्रागिरि-३०
गोकर्णेश्वर-६०
टोखा-३५
तारर्केश्वर-३५
बूढानीलकण्ठ-३५
दक्षिणकाली-१५
नागार्जुनबाट-३५
शंखरापुर-८
ललितपुर महानगर-१३०
गोदावरी-२५
महालक्ष्मी-३०
मध्यपुर थिमी-३०
चाँगुनारायण-१५
सूर्यविनायक-२५