अनाथालय नै परिवार
गौर : रौतहटको गरुडा–४ स्थित वंशीराम अनाथालयमा ३२ बालबालिका आश्रित छन्। यसको स्थापना २०५१ सालमा वंशीराम मिश्रले गरेका थिए। ८३ वर्षीय उनी अस्वस्थ छन्। संस्थाको जिम्मेवारी २४ वर्षीया गायत्री देवी र २७ वर्षीय हृदयलाल कुशवाहा दम्पतीको काँधमा आएको छ।
यहीं हुर्किएका उनीहरूले पाँच वर्षअघि बिहे गरेका थिए। उनीहरूका दुई सन्तान छन्। थप ३२ बालबालिकाका साझा अभिभावक बनेका छन्। सर्लाहीको बरथवामा जन्मिएका हृदयलाल सानै हुँदा आमाबाबु बिते। आफन्तले हेला गरे। सम्पत्ति थिएन। गाउँका शिक्षकले ११ वर्षको उमेरमा अनाथालयमा ल्याइदिए। यहीं बसेर पढे। इन्जिनियर बने। ‘हामी दुवै जना टुहुरा’, हृदयलालले भने, ‘टुहुराको सहारा टुहुरा नै। यसमा हामी खुसी छौं।’
गायत्री देवीलाई आमाबुवाको को हुन् भन्ने थाहा छैन। उनलाई दुई वर्षको उमेरमा आमाले अनाथालयमा ल्याएर छाडेकी थिइन्। उनले यहीं बसेर एसएलसी उत्तीर्ण गरिन्। उच्च शिक्षाका लागि भारतको मुम्बई गइन्। केही वर्ष त्यहाँ बसेर पढिन्। अनाथालयका बाजे अर्थात् संस्थापक अध्यक्ष जयसवालले बोलाएपछि उनी फर्किइन्।
हृदयलालले देहरादुनको देवसंस्कृत विश्वविद्यालयबाट पोली इन्जिनियरिङको पढाइ सके। चेन्नाईमा जागिर मिल्यो। उनको तलब ६ वर्षअघि ९० हजार नेपाली रुपैयाँ थियो। दुई वर्ष जागिरमा रहे। बाजेले अनाथालयमा ‘तपाईंको खाँचो छ’ भन्ने खबर पठाएपछि उनी नेपाल फर्किए। तब उनले अनाथालय व्यवस्थापनसँगै मौसम विभागमा जागिर गरिरहेका छन्। आफ्नो आग्रहमा हृदयलालले गायत्रीसँग बिहे गरेको जयसवालले सुनाए। ‘गायत्रीको विवाह बाहिर हुन सकेन’, उनले भने, ‘थर, ठेगाना नभएको छोरीलाई समाजमा कसले विवाह गर्छ र ? त्यसैले मैले हृदयलाललाई आग्रह गरें।’
वंशीराम सडकमा अलपत्र बालबालिका देखेर दिक्क थिए। उनीहरूका लागि भनेर गरुडा बजारमा रहेको दुई कट्ठा पाँच धुर जमिनमा उनले अनाथालय खोले। उनले अनाथालय हातामै २०५७ सालमा ५ कक्षासम्म पढाइ हुने सामुदायिक विद्यालयसमेत खोलेका थिए। उनी केही वर्षदेखि बिरामी छन्। हृदयलाल र गायत्रीले हेरचाह गर्दै आएका छन्। ‘हाम्रो जीवन, सम्पत्ति, परिवार भनेकै यही अनाथालय हो’, हृदयलाल र गायत्रीले एकसाथ भने। अनाथालय चलाउन पैसा नभएपछि बाजेलाई टेन्सन भएको हृदयलालले बताए। त्यसपछि रोगी बनेको उनको भनाइ छ।
वंशीराम अनाथालयमा बालबालिकाको सहारा बनेका हृदयलाल र गायत्री।
गायत्री अनाथ बालबालिकाको सरसफाइ, खानपिन र रेखदेखको जिम्मेवारीमा छिन्। ‘खाना पकाउनु, खुवाउनु, पढ्न पठाउनु मेरो दैनिकी हो’, उनले भनिन्। मासिक १ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ। दातासँगको समन्वय, विद्यालय व्यवस्थापन, बालबालिकाको रेखदेख र बाजेको उपचारमै दिन बित्ने गरेको हृदयलालले बताए।
अनाथालयमा तीनदेखि २० वर्षसम्मका ३२ बालबालिकाले आ श्रय लिएका छन्। सात जना बालिका छन्। उनीहरू प्राथमिक तहदेखि क्याम्पससम्म पढ्छन्। बस्न दुईतले भवन छ। तल्लो तलामा आवास छ। माथिल्लो दुई कोठामा उनीहरू पढ्छन्। भवन भने जीर्ण छ। अनाथालयमा बसेर ३० जनाले उच्च शिक्षा हासिल गरेका छन्। उनीहरू विभिन्न पेसामा छन्।
जयसवालले एउटा इन्धन ढुवानी गर्ने ट्यांकर चलाएका छन्। त्यसकै आम्दानी र दाताको सहयोगबाट अनाथको पालनपोषण तथा पढाइ खर्च चलिरहेको उनले सुनाए। अनाथालय सञ्चालन समितिले १ करोडको कोष स्थापना गर्न प्रक्रिया अगाडि बढाएको छ। खर्च धान्न धौधौ परेकाले कोष स्थापना गर्न लागिएको जयसवालको भनाइ छ।
जयसवालको घर छ तर नगएको दुई दशक बित्यो। परिवारका सदस्य उनलाई भेट्न अनाथालयमै आउने गरेका छन्। ‘मलाई घरपरिवार, सम्पत्तिभन्दा पनि टुहुरा हाँसेको ठूलो लाग्छ’, उनले भने। करोडौं सम्पत्ति दिएको भन्दै परिवारमा खटपट पनि भयो। बिस्तारै परिवारका सदस्यले कुरा बुझे। उनलाई आफू बितेपछि यो संस्था कसरी अगाडि बढ्ला भन्ने चिन्ता छ।