लोमान्थाङमा यार्तुङ उत्सव : यसरी गरियो राजारानीको स्वागत
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङमा बुधबारदेखि यार्तुङ पर्व सुरु भएको छ। यार्तुङ अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक लोमान्थाङ आएका छन्। लोमान्थाङमा यार्तुङ लगातार ३ दिन सम्म मनाइन्छ।
यार्तुङ हिमाली समुदायको महत्वपूर्ण पर्व हो। पर्वको पहिलो दिन बिहानै मुस्ताङी सांस्कृतिक राजा जिग्मे पलवर विष्ट तथा रानी धोर्जे याङ्जी विष्टबाट लोछेदिनका दुई दर्जन गाउँका मुखियाले आर्शिवाद ग्रहण गरे। यार्तुङमा सहभागी हुन सबै गाउँका मुखिया मंगलबार नै लोमान्थाङ आएका थिए। गाउँ मुखियाहरूले 'राजारानी' लाई खादा पहिर्याए।
गणतन्त्र घोषणा भए पनि मुस्ताङबासीले सांस्कृतिक राजा मान्छन्। जिग्मे पलवर विष्ट बाबु जिग्मे दोर्जे पलवर विष्टको निधनपछि त्यो भूमिकामा छन्। पिताको निधन भएपछि उनको राज्याभिषेक भने भएको छैन।
गाउँ मुखियाहरूलाई राजा रानीले रोगव्याधि नलागोस्, अनिष्ठ नहोस्, अन्नबाली राम्रो होस्, व्यापार व्यवसाय राम्रो होस् भनी आर्शिवाद दिए। राजा रानीले मुखियाहरूलाई आर्शिवाद दिएलगत्तै यार्तुङ पर्व शुभारम्भ हुन्छ।
बर्खायाममा खेतीपातीको काम सकेर फुर्सदिलो भएपछि यार्तुङ मनाइन्छ। यार्तुङ अघि गाउँका सबै स्थानीयले अन्नबाली थन्क्याउँछन्। पर्वले हिउँदयामको सन्देश दिने गर्छ।
यार्तुङसँगै दुई महिना बितेपछि लोछोदिन समुदायका अधिकांश स्थानीय जाडो छल्न बेसी झर्छन्।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले गाउँका स्थानीय बेसी झर्नुअघि तीन दिनसम्म उत्साहका साथ यार्तुङ मनाइने विष्टले जानकारी दिए। 'यार' को अर्थ 'बर्खा' र 'तुङ'को अर्थ 'हिउँद'को आगमन भन्ने बुझिन्छ।
यार्तुङ पर्वको अवसरमा ३ दिनसम्म घोडा दौडाउने चलन छ। पहिलो दिन गाउँका ज्येष्ठ नागरिकले घोडा कुदाएर पर्व सुरु गर्छन्।
मुस्ताङी राजा जिग्मे पलपर विष्ट, गण्डकी प्रदेशका सांसद ईन्द्रधारा विष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल लगायत गाउँका युवाले घोडा कुदाएका छन्। पहिलो दिन लोछोदिन समुदायका पुरुष वर्गले मात्र घोडा कुदाउने चलन छ।
दोश्रो दिनको यार्तुङमा महिला र तेश्रो दिन गुम्बाका लामाले घोडा कुदाउने कार्यक्रम छ। घोडा दौड गर्दा करिव १५/१५ मिटरको फेरोमा पिठोले तयार पारिएको याक आकृति वस्तु, सेलरोटीलाई ऐना बनाएर बीचमा घ्यार राखिएको वस्तु र भेडाको दाहिने हात भित्रको कुरकुरे हड्डी (घ्यासा) राखिन्छ।
राखिएका वस्तुलाई घोडा दौडाउनेले ढुङ्गाले हानेर फुटाउने चलन छ। घोडा दौडका सहभागी जसले राखिएका वस्तुलाई फुटाउन सक्छ, उसलाई मुस्ताङी राजा, गाउँ मुखिया र स्थानीयले सम्मान गर्छन्।
घोडा दौड गर्दा राखिएको वस्तु फुटाउने व्यक्तिलाई गाउँको इज्जत र प्रतिष्ठा बचाइदिएको प्रतीकको रुपमा लिने गरेको अध्यक्ष विष्टले जानकारी दिए। राजाको साख र प्रतिष्ठा बचाइदिएको भन्दै राजाले गाउँलेलाई पैसा दिने चलन छ।
यार्तुङ पर्वमा लोमान्थाङ गाउँका स्थानीय ४ समूहमा बाँडिएर आपसमा रमाइलो गर्छन्। गीत गाउने, नाच्ने र साँस्कृतिक स्याब्रो नाच देखाउने गर्छन्। स्थानीयले दसैं पर्व जस्तो गरी यार्तुङ फरक प्रकारले मनाउने अध्यक्ष विष्टले खुलाए। यार्तुङको पहिलो दिन गाउँका प्रत्येक घरधुरीले छ्याङ र खादा लिएर अग्रज व्यक्तिको घरमा पुगेर आर्शिवाद ग्रहण गरेका छन्।
बिहानै देखि गाउँलेहरू स्थानीय भेषभुषामा सजिएर यार्तुङको सांस्कृतिक कर्म र परम्पराको सुरुआत गरे। यार्तुङ पर्वमा लोछोदिन समुदायका सबै गाउँलेहरू उपस्थिति भएका छन्। उपल्लो मुस्ताङमा मनाइने महत्वपूर्ण पर्वहरूमा राजाको सहभागीता हुने गर्छ। यार्तुङपछि मुस्ताङमा मनाइने अर्को चर्चित पर्व तिजी हो।