१२ वर्षमा ७६ किलोमिटर सडक !

१२ वर्षमा ७६ किलोमिटर सडक !

ताप्लेजुङ : ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि लेलेपसम्म ७६ किलोमिटर सडक खन्न १२ वर्ष लागेको छ। नेपाललाई भारत र चीनसँग जोड्ने त्रिदेशीय महत्त्वको सडक भएपनि सरकारको प्रथमिकतामा नपर्दा प्रगति कछुवा गतिमा छ।

सरकारले २०६३ सालमा छिमेकी मुलुक भारत र चीनलाई १४ वटा सडक करिडोरले जोड्ने योजना बनाएको थियो। सोहीअन्तर्गत चीनसँगको टिपताला नाका जोड्ने उद्देश्यसहित एक वर्षपछि उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्गको ट्र्याक खोल्न सुरु भयो। तर, सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा सडक निर्माणले गति लिन नसकेको हो।

यो सडक पूरा भए २ सय ७० किलोमिटर यात्रा गर्दा चीनबाट भारत पुग्न सकिन्छ। ‘प्रदेश १ लाई दुई देशसँग छोटो दूरीमा जोड्ने रणनीतिक महŒवको सडक हो’, उत्तर–दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजनाका निवर्तमान प्रमुख कुबेर नेपाली भन्छन्, ‘केन्द्रले यसको महŒव नबुझ्दा लामो समयमा थोरै प्रगति भएको हो।’

तीन वर्षअघिसम्म वर्षमा १ देखि डेढ करोड मात्रै बजेट आउने हुँदा काम सुस्त बनेको नेपालीको भनाइ छ। दुई वर्षअघि ४० करोड विनियोजन भएकोमा ३६ करोडको ठेक्का लागेर काम भइरहेको आयोजना प्रमुख रामबहादुर गुरुङले बताए। लेलेपको रानीपुलबाट ओलाङचुङगोलासम्म ट्र्याक खोल्ने जिम्म पाएको एलाइट कम्पनीले लुङथुङसम्म सम्पन्न गरेको छ।

‘पहिले बजेटै नआएर ढिलो भएको रहेछ। पछिल्लो दुई वर्षको काम सन्तोसजनक छ’, गुरुङले भने। असोज पहिलो साताबाट ओलाङचुङगोलाबाट काम सुरु गर्ने उनले बताए। ‘माथिबाट चिनियाँ ठेकेदारले काम गर्छन्। जसका लागि महावाणिज्यदूतमार्फत पत्र पठाइसकिएको छ’, उनले भने, ‘पत्र पाएलगत्तै नेपाल आएर काम सुरु गर्छन्।’ दुवैतर्फबाट काम भए यही आर्थिक वर्षमा ओलाङचुङगोला सडक पुग्ने आयोजना कार्यालयले जनाएको छ। त्यहाँबाट टिपतालासम्म २३ किलोमिटर दुई वर्षअघि स्थानीय आफैंले सडक खनेका छन्।

झापाको केचनादेखि ताप्लेजुङको सुकेटारखण्ड कालोपत्रे भइसकेको छ। सुकेटारदेखि फक्ताङलुङ गाउँपालिका–६ लुङथुङसम्म ७६ किलोमिटर ट्र्याक खुलेको छ। त्यहाँबाट ओलाङचुङगोलासम्म २३ किलोमिटर मात्रै बाँकी छ। चीनले टिपतालासम्म पक्की सडक निर्माण गरिसकेको छ। तमोर नदी किनारै किनारको यो सडक सस्तो र उत्कृष्ट ग्रेडको हुने आयोजनाका निवर्तमान प्रमुख नेपाली बताउँछन्। चीनले सीमानामा व्यापारिक प्रयोजनका लागि संरचना निर्माण गरेकाले नेपालतर्फ निकै ढिलो भएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङको भनाइ छ।

यो सडक चीनसँग जोडिएपछि प्रदेशकै विकासको ढोका खुल्ने पूर्वसांसद डम्बरध्वज तुम्बाहाम्फेको भनाइ छ। यसले त्रिदेशीय भूमिलाई नजिकबाट जोड्ने मात्र होइन, चौथो मुलुक बंगलादेशसँगको छाटो दुरीमा रहेको काँकडभिट्टा नाकालाई पनि सहज बनाउने उनले बताए। अलैंची, चिराइतो, तरकारीलगायत बहुमुल्य जडिबुटी भारत र चीन दुवैतर्फ निर्यात गर्न सकिने व्यावसायी खेम केसीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.