धनगढी बसपार्क साँघुरो, पार्किङमा समस्या
धनगढी : धनगढीको बसपार्क साघुँरो हुँदा गाडी पार्किङ गर्न समस्या भएको छ। तर, धनगढी उपमहानगर–४ मा रहेको बसपार्कलाई व्यवस्थित बनाउन कुनै विकल्प निस्किएको छैन।
सार्वजनिक जमिन नहुँदा नयाँ बसपार्क विस्तार गर्न नसकिएको उपमहानगरले जनाएको छ। साविकको धनगढी नगरपालिका हुँदा नै बसपार्क बनाउने योजना बनाए पनि अहिलेसम्म जमिन भेटिएको छैन। चार दशक अगाडि ५० बसका लागि बनाइएको धनगढी बसपार्कको क्षमता बढाउन सकिएको छैन।
धनगढीमा सवारी चाप बढ्दै गएको छ। मुख्य बजारमै बसपार्क नहुँदा ट्राफिक जामको समस्यासमेत हुने गरेको छ। उपमहानगरका इन्जिनियर दिजराज भट्टले ५० वटा बसको क्षमताका लागि बनाइएको बसपार्कमा जसोतसो ७० वटा बस पार्किङ गर्न सकिने अवस्था रहेको बताए।
‘धनगढीमा नयाँ बसपार्क बनाउने योजना चार दशक पहिलेको हो’ ,उनले भने , ‘तर, बसपार्क बनाउने खालको जमिन कतै पनि भेटिएको छैन।’ बसपार्कका लागि राजमार्ग नजिक र बजारभन्दा अलि टाढा पाँच बिघा जमिन आवश्यक भएको उनले जानकारी दिए।
टर्मिनल भवन, शौचालय, सुरक्षा भवन, यात्रु प्रतीक्षालय, ग्रिन पार्क, घन्टाघर, पेट्रोल पम्प, डिजिटल सूचना बोर्ड, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौर्य बत्ती, लकर रुम र गाडी स्टाफका लागि आराम गृहलगायत संरचनासहितको व्यवस्थित बसपार्क आवश्यकता देखिएको इन्जिनियर भट्टको भनाइ छ।
नयाँ बन्ने बसपार्कमा रुटअनुसार बस पार्किङको व्यवस्था हुन आवश्यक छ। साना र ठूला सवारीका छुट्टाछुट्टै पार्किङको व्यवस्थापनसहितको बसपार्क आवश्यक भएको उनले बताए। धनगढीमा सुदूरपश्चिम यातायातका मात्रै ६ सय बस छन्। कैलालीमै रहेका थप तीनवटा समितिका बस जोडेर एक हजार बस पुग्छन्। मुलुकका विभिन्न जिल्लाबाट आवतजावत गर्ने विभिन्न समितिका बस जोडेर दैनिक १५ सयको हाराहारीमा बस धनगढीमा ओहोरदोहोर गर्ने गर्दछन्।
बसको संख्या बढ्दै गएकाले दिर्घकालीन सोचका साथ व्यवस्थित बसपार्कको आवश्यकता महसुश भएको उपमहानगर प्रमुख नृपबहादुर वड बताउँछन्। ‘नयाँ बसपार्क बनाउन उपमहानरसंग योजना छ’, उनले भने, ‘तर, सार्वजनिक जमिन नहुँदा समस्या भएको हो।’
उनले जग्गा किनेर भए पनि नयाँ बसपार्क निर्माण प्रक्रिया अगाडि बढाउने दाबी गरे। ‘उपमहानगरभित्र बसपार्क हुने किसिमको सार्वजनिक जमिन छैन्’, उनले भने,‘वन र नदी किनारमा मात्र ऐलानी जमिन छ। त्यो पनि वनको जमिनमा साह्रै किचलो छ।’ सार्वजनिक जमिन नहुँदा बसपार्क मात्र नभएर बधशाला, डम्पिङ साइट निर्माण प्रक्रियासमेत अगाडि बढाउन नसकेका उनले जानकारी गराए।
एक वर्ष अगाडि धनगढी उप–महानगरपालिकाले बोराडाँडीमा सेनाले घेराबार गरेको जग्गामा अनुमति बिना नै बसपार्क बनाउन खोज्दा विवाद भएको थियो। त्यसपछि उपमहानगरले नयाँ बसपार्क बनाउने विषयमा छलफलसमेत गर्न छाडेको छ।
उपमहानरका अनुसार धनगढी उपमहानगरभित्र विभिन्न व्यक्ति बसोबास गरिरहेको ऐलानी जमिन नै १४ सय बिघा छ। तर, त्यो जमिन सार्वजनिक संरचना बनाउने खालको छैन। सहरभन्दा धेरै टाढा र धेरै ठाउँमा बस्ती बसेका छन्।