गुठी जग्गाको दुरुपयोग, सात रोपनीको भाडा ६ हजार

गुठी जग्गाको दुरुपयोग, सात रोपनीको भाडा ६ हजार

काठमाडौं : काठमाडौं महानगरपालिका–१ नक्साल नारायणचौरस्थित हरिहर नारायण गुठीको करोडौंको सम्पत्ति दुरुपयोग भएको छ। गुठी संस्थानले हरिहर नारायण गुठीको ६ रोपनी १४ आना ३ पैसा १ दाम जग्गा अत्यन्त कम मूल्यमा भाडामा लगाएको हो। राष्ट्रिय सतर्कता केन्द्रको छानबिनमा गुठीबाट सस्तोमा लिएर महँगोमा भाडा लगाएको पाइएको छ।

केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले कौडीको भाउमा लिएर महँगोमा भाडा लगाएको उजुरीका आधारमा छानबिन गरेको बताए। टेन्डरै नगरी कौडीको भाउमा भाडामा लगाएको उजुरी परेपछि केन्द्रले छानबिन गरेको हो।

छानबिन प्रतिवेदनअनुसार संस्थानले उक्त जग्गा सत्य साई केन्द्र र हरिहर नारायण समाजलाई मासिक तीन–तीन हजारमा भाडामा लगाएको छ। समाजले गुठी जग्गामा बनेका सटरबाट मासिक २० हजारका दरले भाडा उठाइरहेको छ।

जग्गा भाडा सम्झौतामा सटरमा मदिराजन्य वस्तु खरिदबिक्री गर्न नपाइने व्यवस्था छ। तर समाजले भाडा लगाएको सामुदायिक भवनको उत्तरतर्फको सटरमा मदिराजन्य वस्तुको व्यापार भइरहेको छ।

जग्गामा उत्तरतर्फ ३ तले पक्की भवनमा सत्य साई केन्द्रद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्र छ। उत्तरपूर्वी भागको पक्की भवनमा साई केन्द्रको कार्यालय छ। दुई भवनको बीचमा हरिहर नारायणको मन्दिर छ भने सत्य साई केन्द्रको कम्पाउन्डको दक्षिणपट्टि बगैंचा छ। त्यहीं १२ आना जग्गामा बनेको तीनतले भवनमा हरिहर नारायण समाजको कार्यालय छ। भवनको तल्लो तलाको २ कोठा सामुदायिक प्रहरीले प्रयोग गरेको छ। अन्य सटर रेस्टुरेन्ट र पसललाई भाडामा लगाएको पाइएको केन्द्रले जनाएको छ।

हरिहर नारायण मन्दिर लिच्छवि राजा नरेन्द्रदेवको पालामा बनेको इतिहास छ। मन्दिरको जग्गा २०४८ साउन २ को निर्णयबाट गुठी तैनाथी जग्गामा कायम भएको हो। उक्त जग्गालाई ईश्वरराज अर्याल संयोजकत्वमा रहेको सञ्चालन तथा व्यवस्थापन समितिको आग्रहमा राज गुठीअन्तर्गत ल्याइएको हो। २०४८ भदौ ६ गते मालपोत कार्यालयमा हरिहर नारायण गुठीका नाममा स्रेस्ता कायम भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

हरिहर नारायण मन्दिरमा पूजापाठ र जग्गा उपभोग गर्ने गरी २०५५ कात्तिक २३ मा धर्म संस्कृति संरक्षण समितिसँग सत्य साई केन्द्रको सम्झौता भएको थियो।

छानबिन प्रतिवेदनमा २०५६ पुस १६ मा २ रोपनी जग्गामा ३ तले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाले स्वीकृति दिएको देखिन्छ। २०५८ माघ २ मा जग्गाको उत्तरपट्टि सत्य साई भवन बराबरको उचाइका भवन बनाउन नक्सापास गर्ने गरी महानगरपालिकाले स्वीकृति दिएको देखिन्छ। सत्य साईको कम्पाउन्डभित्र बगैंचा छ।

मालपोत कार्यालय डिल्लीबजारमा रहेको स्रेस्तामा उक्त जग्गा गुठी संस्थानअन्तर्गत हरिहर नारायण गुठीका नाममा कायम रहेको उल्लेख छ भने फिल्ड बुकमा जग्गाधनी नारायणचौर उल्लेख भएको छानबिन प्रतिवेदनमा उल्लेख छ।

केन्द्रले कम्पाउन्ड पर्खाल लगााई संरक्षण हुने व्यवस्था गरी प्रचलित ऐन नियमअनुसार भाडामा लगाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पनि निर्देशन दिएको छ।

भवन निर्माण गर्ने गरी अधिकारै नभएको धर्म संरक्षण समिति नामक संस्थाले सत्य साई केन्द्रलाई भाडामा दिने सम्झौता गरेको छानबिनमा देखिएको छ। सार्वजनिक जग्गा अन्य व्यक्ति, समूह वा संस्थालाई दिने अख्तियार गुठी संस्था र नेपाल सरकारबाहेक अरूलाई छैन।

सरकारी, सार्वजनिक तथा गुठी तैनाथी जग्गा कुनै संस्थालाई उपयोग, भवन निर्माण गर्ने दिने कार्य अनधिकृत देखिएकाले त्यस्तो कार्यमा संलग्न व्यक्ति, संस्था, कर्मचारी तथा पदाधिकारीमाथि अनुसन्धान गरी कानुनअनुसार कारबाही केन्द्रले निर्देशन दिएको छ।

केन्द्रको छानबिनबाट प्राप्त प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन गरेको छ भने थप कारबाहीका लागि प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिए।

गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले हरिहर नारायण गुठीको जग्गा संरक्षणका लागि कारबाही प्रक्रिया अघि बढाइएको बताए। ‘हामीले व्यवसायी रुपमा दिएकै होइन। कसरी दुरुपयोग भयो र पसललाई भाडामा लगाइयो ? ’ उनले प्रश्न गरे, ‘हामी छानबिन गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.