ऐतिहासिक अमरगढी किल्ला जीर्ण
डडेल्धुरा : सरकारले घोषणा गरेका सय पर्यटकीय गन्तब्यमा परेको डडेल्धुराको अमरगढी किल्ला जीर्ण बनेको छ। द्वन्द्वकालमा नेपाली सेना बसेको उक्त किल्लामा अहिले सेनाले किल्ला छाडेको छ। सेनाले छाडेपछि किल्लाको मर्मत पनि हुन सकेको छैन। गतवर्ष पुरातत्व विभागबाट किल्ला पुर्ननिर्माण र मर्मतका लागि २५ लाख रुपैयाँ आएको थियो। तर उक्त बजेटबाट किल्ला मर्मतभन्दा पनि बाहिरी सजावटमै खर्च भएको थियो। अमरगढी किल्ला विकास समितीले किल्लाको सबै जिम्मेवारी पाए पनि मर्मत तथा सुधारमा चासो दिएको छैन।
डडेल्धुराको अमरगढी नगरपालिका यही किल्लाको नामबाट २०५४ सालमा नामाकरण गरिएको हो। नगरपालिकाले स्थापनापछि २०५६ सालमा किल्लालाई आफ्नो मतहतमा ल्याएको थियो। तर, २०५८ सालमा तत्कालीन माओवादी द्धन्द्धका बेला जिल्लालाई सुरक्षा दिन यो किल्ला नेपाली सेनाले आफू मातहत ल्याएको थियो। त्यसपछि किल्ला पर्यटकका लागि प्रतिबन्ध लगाइएको थियो। २०५८ देखि २०६६ सालसम्म किल्ला सेना मतहत रहयो। स्थानीयको पटक-पकटको प्रयासपछि २०६६ साल पुसदेखि अमरगढी नगरपालिकाले रेखदेख र सञ्चालन गर्ने जिम्मा पाएको हो।
नगरपालिका मातहत आए पनि यस किल्लामा निर्धक्क भएर पर्यटक जाने वातावरण अझै बनेको छैन। पर्यटकका लागि प्रवेश खुला गरिए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति दिइएको हो।
ऐतिहासिक यस किल्लामा हातहतियार तथा तत्कालीन सैनिकका पोशाक राख्न, प्रचार गर्न जरुरी रहेको स्थानीय जानकार नरेशबहादुर थापाले बताए। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अमरगढी नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीय स्थलको प्रचासका लागि ४ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रशाद ओझाले जानकारी दिए।
किल्लाको इतिहास
डडेल्धुराको अगरगढी नगरपालिका-५ खलंगास्थित अमरगढी किल्लाको इतिहास गजबको छ। बडाकाजी अमरसिंह थापाले निर्माण गरेको किल्लामा ठूला ढुंगा प्रयोग गरिएकाले कलात्मक पनि छ। पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासन कालमा नेपालको सीमा कुमाउ गढवालसम्म पुगेको थियो।
एकीकरण अभियानका बेला १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली र डोटेली फौजबीच युद्ध भएको थियो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए। थापाले आफू नियुक्त भएपछी यसक्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निमार्ण गर्न लगाएको इतिहासमा उल्लेख छ।
अमरसिह थापाले निर्माण गरेकाले यसलाई अमरगढी किल्ला भनिएको हो। यसकै नामबाट डडेल्धुरा सदरमुकाम र नगरपालिकाको पनि नामाकरण गरिएको छ। १९४७ सालमा निमार्ण भएको यस किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँकडा र कुमाउको अल्मोडामा नेपालको हार भएपछि यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको हो।
किल्लाभित्र युद्ध छल्न र सफलता प्राप्त गर्न सैनिकका लागी २२ वटा गुफा बनाइएका थिए। किल्ला मर्मतका लागी बजेट विनियोजन भए पनि पुरातात्विक विभागले खासै चासो दिएको छैन। पुरानो गुफा भत्किने अवस्थामा पुगेका छन्। बडाकाजि बस्ने घर भत्किएकाले राम्ररी मर्मत गर्नुको साटो टिनको छाप्रो बनाइएको छ।
नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाएर कुमाउ गडवालसम्म युद्ध लडेको स्थानीय ६५ वर्षीय उमा श्रेष्ठले बताइन्। २०२० सालपछि यो किल्लामा गोरख दल बसेर हेरचाह गर्दै आएको उनले बताइन्। ‘सेना बसेको बेला सरसफाइदेखि किल्लाको हेरचाहा र महत्व पनि थियो। अहिले त मान्छे आउँछन् जान्छन्। समितिले मतलब गर्दैन। किल्ला जिर्ण भइसक्यो कसलाई के भन्ने’, उनले भनिन्।
किल्लाका हतियार गायब
अमरगढी किल्लामा रहेका ऐतिहासिक हातहतियार गायव भएका छन्। बडाकाजी अमरसिंह थापाले नेपाल एकीकरणको समयमा प्रयोग गरेका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र भेटिँदैनन्। पहिले तोप, बन्दुक, घरेलु भाला, गोलाजस्ता हातहतियार देखेका स्थानीय अग्रज अहिले ती हतीयार त्यहाँ नहुँदा खिन्न भएको छन्। ‘सानो छँदा किल्ला भित्र तोप, बन्दुक, घरेलु भाला, गोला देखेको थिएँ’, स्थानीय भक्त नगरकोटीले भने, ‘अहिले त्यस्ता हतियार त्यहाँ देखिदैनन्। कसले कता पुर्यायो कुनै लेखाजोखा छैन।’
हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको स्थानीयको भनाइ छ। डडेल्धुरा सदरमुकाममा रहेको यस किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भालाजस्ता ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्व घटेको स्थानीय बताउँछन्। नेपालका जीवित किल्लामध्ये अमरगढी किल्ला पहिलो भएको डडेल्धुरा बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्पराज जोशीले बताए। अमरगढी र सिन्धुलीगढी मात्र जीवित किल्लाका रुपमा रहेको पुरातत्व विभागले पनि जनाएको छ।
युद्धका बेला प्रयोग भएका तोप तथा अन्य घरेलु हातहतियार दसैंको फूलपातीका दिन टँुडिखेलमा लगेर पड्काउने गरेको स्थानीय ६५ वर्षीय बृद्ध उमा श्रेष्ठले बताइन्। ‘त्यसबेला किल्लामा गोरख दल नामको तत्कालीन शाही सेना बस्ने गरेका थिए’, उनले भनिन्। किल्लाभित्र रहेका पुराना हतियार सेना त्यहाँबाट गएपछि सँगै लगेको र फिर्ता नल्याएको श्रेष्ठको भनाइ छ। किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, एक सयको हाराहारीमा बन्दुक, बम गोला बारुद बनाउने छट्टै घर, अन्य युद्ध सामाग्री रहेको उनले स्मरण गरिन्।