युवाविहीन गाउँ, बुढापाका भन्छन्, : मर्दापर्दा अभाव खड्किन्छ, चाडपर्वमा नरमाइलो लाग्छ
उदयपुर : युवा विदेशिन थालेपछि हिजोआज गाउँ रित्तिदै गएको छ । ७ वर्ष अघिसम्म भरीभराउ गाउँ यतिबेला सुनासान बन्दै गएको हो।राजनीतिक लहरले आर्थिक समृद्धिका कुरा उठाएपनि व्यवहारमा नदेखिदा विदेश जाने युवाको लर्को लागेको हो।
गाउँमा विवाह, व्रतबन्ध वा कुनै धार्मिक उत्सवमा अघि बढ्ने युवा नभएपछि त्यो कामको जिम्मेवारी बुढापाकामा सरेको छ। गाउँमा प्राकृतिक, दैविक विपत्ती आइलाग्दा नियन्त्रण गर्न र गाउँको बचाउ गर्न युवा नै अग्रसर हुन्थे । कोही बिरामी परे उपचारमा लैजान होस् या रातभरि रुघ्न, युवा नै तयार हुन्थे ।
तर, अहिले परिस्थिति फेरिएको छ । हिजोआज यी सबै काममा गाउँका बुढापाका तयार हुनुपर्ने बाध्यता छ। युवाजति प्रायः सबै रोजगारीका लागि गाउँबाट बाहिरएपछि गाउँ नै सुनसान बनेको हो । बुढापाका र विद्यालय पढ्ने उमेरका बालबालिका बाहेक गाउँमा कोही देखिँदैनन् ।
जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको जाँते, बलम्ता, ताम्लिछा, बारहा, ताप्लिको रुपाटार, ओख्ले, ठानागाउँ, इनामे, रौतामाईको लाफागाउँ, पोखरी, आँपटार, रौता, बेलका नगरपालिकाको मैनामैनी, बबला, रामपुर लगायतका ठाउँका अधिकांश युवा विदेशिएका छन् ।
यी क्षेत्रका प्रायः प्रति घर एक युवा वैदेशिक रोजगारमा रहेको सुरक्षित आप्रवासन उदयपुरका कार्यक्रम संयोजक रमा मगरले बताइन् । बाँकी रहेकाहरु कोही उच्च शिक्षा अध्ययनका लागि जिल्लाबाहिर बस्छन् भने कोही ज्याला मज्दुरीकै लागि गाउँ छाडेका छन्।
'युवा बाहिरिएपछि अधिकांश गाउँमा सामान्य काममा समेत समस्या उत्पन्न भएको छ,' उदयपुरगढीका ७५ वर्षीय रामबहादुर आलेले भने, 'मर्दापर्दा अभाव खड्किन्छ, चाडपर्व र उत्सवमा नरमाइलो हुन्छ।'
आफ्नै ठाउँमा रोजगारीको अवसर प्राप्त हुन नसक्दा युवा विदेशिन बाध्य भएपछि यस्तो अवस्था उत्पन्न भएको उनले बताए । ' विपत्ति पर्दा र चाडपर्वमा गाउँका युवाहरुको धेरै आवश्यकता पर्दो रहेछ,' रौतामाईका जितुहर्क तामाङ्ग भन्छन्, , 'कहिलेकाहीँ त बिरामी पर्दा अस्पतासम्म लैजाने र लास रुघ्ने मान्छेसमेत पाइदैन।' बुढाबूढी मात्र भएका कतिपय घरकाले त काम गर्न नसकेर आफूसँग भएको थोरै खेतबारीसमेत बाँझै राख्न थालेको उनको भनाई छ।
मजदुरको अभाव भएकै कारण जग्गा जमिन बाँझै राखेको मैनामैनीका जीवन राई बताउँछन् । खेती गर्ने मान्छेको अभावमा केही अधियाँ त केही बाँझै राख्न बाध्य भएको उनको भनाई छ। 'आफू काम गर्न सकिदैन, काम गर्ने मान्छे भेटिदैनन्, अनी बाँझो नराखेर के गर्नु त ?' मैनामैनीका ६५ वर्षीय हिरामणि राईले भने, युवा नभएकाले समयमा खेति गर्न नसक्दा आधा उत्पादन घटेको छ।'
भन्छन्, 'पहिले-पहिले विभिन्न उत्सवमा युवाले नाटक देखाउँथे र गाउँलेलाई मनोरन्जन दिन्थे, तर अहिले ५ प्रतिशत युवा बस्दैनन्, त्यसैले गाउँघरमा रमाइलो हुन छाड्यो।' पहाडी क्षेत्रका अधिकांश युवा वैदेशिक रोजगारमा छन् । खेतिबाट भनेजस्तो प्रगति गर्न नसकेपछि उनीहरुको गन्तव्य बैदेशिक रोजगारमा परेको हो ।
उदयपुरगढीको डुम्रेका प्राय सबै घरबाट १ जना वैदेशिक रोजगारीमा गएको वडासचिब गुणराज श्रेष्ठ बताउँछन् । करीब ४० घर बस्ती रहेको डुम्रेमा प्रत्येक घरबाट १ जना वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुगेको उनले बताए।
एसईईसम्मको अध्ययन सकेपछि युवा नेपालमा केही हुँदैन भन्दै रोजगारका लागि खाडीमुलुक जाने गरेको अधिकारकर्मी महेश्वरी राई बताउँछिन् । वर्षभरी खेति गर्दा पनि नगद नदेखिने र समस्या आइ पर्दा जहिले ऋण काटनुपर्ने पीरले विदेशिनु परेको वैदेशिक रोजगारबाट बिदामा आएका जाल्पा चिलाउनेका पदमबहादुर परियारले बताए ।
उनले भने, ' वर्षभरी दुःख गर्दा ३० हजार कमाउन चर्को पर्छ, विदेशमा एकै महिनामा त्यती पैसा कमाइन्छ अनि किन नेपाल बस्ने।' प्राविधिक शिक्षा र वैज्ञानिक कृषि प्रणालीको अभावमा नेपालीले यस्तो मार खेप्नु परेको उनको भनाई छ। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी बेलका नगरपालिकाको रामपुर ठोक्सीलाबाट राहदानी लिएका छन् ।
कार्यालयको तथ्यांकअनुसार ०७०-७१ मा सबैभन्दा बढी ५ हजार ३ सय ५१ जनाले राहदानी लिएका छन् । त्यस यताको तथ्यांक हेर्दा २४ हजार २ सय ६८ जनाले राहदानी लिइसेकेको कार्यालयका राहादानी फाँटका नायव सुब्बा डिल्लिराज बस्नेतले जानकारी दिए।