भाइल ज्वरोले मृत्यु
जाजरकोट : जाजरकोटमा भाइरल ज्वरोले एक बालिकाको मृत्यु भएको छ । बारेकोट गाउँपालिका ६ टाँसीधुमा घर भइ सदरमुकाम खलंगा थाप्लेमा बस्दै आएकी १४ वर्षीया आशा विकको मृत्यु भएको हो ।
ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज रेफर गरेको थियो ।
उपचारका लागि नेपालगंज लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताए । आशा खलंगाको त्रिभुवन माद्यामिक विद्यालयमा ८ कक्षामा पढ्दैथिइन्। उनका बाबुआमा मजदुरीका लागि ५ वर्षदेखि भारतको हिमाचलमा बस्दै आएका छन् ।
केही दिन यता जिल्ला अस्पताल र संस्थामा भाइरल ज्वरोका बिरामी बढेका स्वास्थ्कर्मीले बताए। जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा. केशर कार्कीले बताए ।
बिरामी बढ्दै गएको तर औषधिको स्टक सकिदै गएकाले समस्या हुन थालेको उनले बताए । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र बिरामी हुने वित्तिकै नजिकको स्वास्थ्य संस्था जान उनले आग्रह गरेका छन् ।