पूर्वी नवलरासीमा डेंगु प्रकोप : किट सकिदा महंगोमा उपचार गर्दै बिरामी
नवलपुर : पूर्वी नवलपरासीमा डेंगु रोगले प्रकोपको रुप लिएको छ। भदौको पहिलो सातादेखि देखा परेको डेंगु रोगबाट अहिलेसम्म ७२ जना संक्रमित भएका छन् । एकै स्थानमा ५२ जनासम्म संक्रमित बिरामी फेला परेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । डेंगु रोग महामारीको रुपमा फैलिएसँगै स्वास्थ्य संस्थामा किटको अभाव भएको छ । रोग परीक्षणका लागि आवश्यक पर्ने किट अभाव हुन थालेपछि सर्वसाधारणले महंगोमा खरिद गरेर उपचार गर्न बाध्य भएका छन्। स्थानीय सरकारले पनि रोग नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्नमा उदासिन देखाएका छन् ।
गैंडाकोट नगरपालिकामा डेंगु रोगले प्रकोपको रुप लिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख खेम केसीले जानकारी दिए । नगर क्षेत्रमा ५२ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यसैगरी देवचुली नगरपालिकामा १०, कावासोतीमा ९ र मध्यविन्दु नगरपालिकामा १ जनामा डेंगुको संक्रमण देखिएको छ ।
रोगको संक्रमण फैलिए पनि स्थानीय, प्रदेश र संघीय सरकारले किटको व्यवस्था गर्न नसक्दा बिरामीले महंगोमा खरिद गर्नु परेको केसीले बताए । बाहिर खरिद गर्ने किटको मूल्य ५ सयदेखि ८ सयसम्म पर्ने गरेको उनले जानकारी दिए । प्रदेश सरकारले मध्यविन्दु नगरपालिकामा पठाएको किट समेत सकिएको छ ।
गण्डकी प्रदेश सरकारसँग किटको व्यवस्था गर्न माग गरेपनि बजेट अभाव देखाएर पठाउन नसकेको केसीको भनाई छ । संक्रमितको चितवन मेडिकल कलेज, स्थानीय अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सबैभन्दा बढी चितवन मेडिकल कलेजमा बिरामी उपचारमा छन् । रोगबाट अहिलेसम्म कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
रोग फैलिएपछि अन्य शीर्षकबाट रकम उपलब्ध गराएर किटको व्यवस्था गर्ने गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताए । नगर क्षेत्रका सबै स्वास्थ्य संस्थामा किट उपलब्ध गराइएको उनको भनाई छ ।
रोग फैलिए पनि लामखुट्टेको बासस्थानमा औषधि छर्ने कार्यक्रम नगरपालिकाले गरेको छैन । विद्यालय, सरकारी निकाय र टोल विकास संस्थामार्फत जनचेतना मुलक कार्यक्रम सञ्चालन गरी लामखुट्टे 'खोज र नष्ट गर' अभियान सञ्चालन गरिएको नगर स्वास्थ्य संयोजक इन्द्र सापकोटाले जानकारी दिए ।
देवचुली नगरपालिकाका प्रमुख पूर्णकुमार श्रेष्ठले किट अभाव हुन नदिने बताए । रोगको संक्रमण फैलिए पनि नगरपालिकाले लामखुट्टेको बासस्थानमा औषधि छर्कने काम गर्न सकेको छैन । जनचेतना कार्यक्रममा मात्र सीमित छ । संभावित क्षेत्रको अनुगमन गरेर टोल विकास संस्थाका अध्यक्षलाई सचेतना कार्यक्रम सञ्चालन गर्न प्रशिक्षण दिन लागिएको नगरप्रमुख श्रेष्ठको भनाई छ ।
कावासोती नगरपालिकाकी प्रमुख चन्द्राकुमारी पुनले औषधि छर्कने काम नभएपनि टोल भेला बोलाएर जनचेतनाका कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् । यसैबीच पश्चिम नवलपरासीमा ३ जना डेंगुका बिरामी भेटिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक छवि गिरीले जानकारी दिए । फेला परेका बिरामीमा बर्दघाट नगरपालिकामा २ र रामग्राम नगरपालिकामा १ जना रहेको कार्यालयले जनाएको छ ।