६२ वर्षमा साहिली विद्यालय भर्ना, भन्छिन् : पढाउने शिक्षकको नाम लेख्‍ने धोको छ

६२ वर्षमा साहिली विद्यालय भर्ना, भन्छिन् : पढाउने शिक्षकको नाम लेख्‍ने धोको छ

फिदिम : बाल्यकालदेखि नै उनलाई पढ्ने तीब्र इच्छा थियो । तर, उनले त्यो इच्छा पुरा गर्न पाएकी थिइनन् । उमेर ढल्किदै गएपछि उनमा पढ्ने तिर्खा झनै बढ्दै गयो । बाल्यकालदेखिको पढाइप्रतिको तिर्खालाई बुढेकालमा मेटाउँदैछिन् पाँचथरको तुम्बेवा गाउँपालिका २ मेवाकी लाखमाया (साहिली) लामा । 

६२ वर्षीया साहिली कक्षा १ मा भर्ना भएर कखरा सिक्न थालेकी हुन् । मौवामा सञ्चालित इन्द्राणी माविमा भर्ना भएर उनले पढाइ सुरु  गरेकी छन् । 'नियमित रुपमा कक्षामा हाजिर भएर साहिली दिदी पढ्न थाल्नु भएको छ, 'प्रधानाध्यापक खड्गबहादुर थापाले भने, 'एक महिनाको अवधिमा उहाँले आफ्नो नाम लेख्न सक्ने हुनुभएको छ।'

समाजसेवामा सक्रिय साहिली विद्यालय भर्ना भएपछि नियमिति विद्यालय आउन थालेकी छिन् । बुढेसकालमा साहिलीको पढाइप्रतिको मोह देखेर स्थानीय छक्‍क छन् । 'उमेर पढाइको बाधक बन्नु हुँदैन,' साहिली भन्छिन्, 'सामाजसेवाको काममा तल्लिन रहँदा औपचारिक शिक्षा नभएकै कारण धेरै ठक्कर खाएर पढ्न सुरु गरेकी छु।'

प्रधानाध्यपक खड्कबहादुर थापासँग लेख्न सिक्दै साहिली लामा। 

पढेर आफ्नो नाम र हस्ताक्षर लेख्न सिक्ने साहिलीको लक्ष्य छ । क, ख सिक्दै उनले आफ्नो नाम लेख्न थालेकी छन्।उनी कक्षामा सबैभन्दा अगाडीको बेन्चमा बस्छिन् । पढाइमा खुब चासो दिन्छिन्।

आफूलाई पढाउने शिक्षकको नाम लेख्न सिक्ने उनको धोको छ।'नाम लेख्न र नेपाली अक्षर चिन्न पढाइ सुरु गरेकी छु,' लामाले भनिन्, 'साना साना नानीहरुसँग बसेर बढ्न पाउँदा मज्जा लागेको छ।'

अढाइ घण्टाको बाटो हिँडेर उनी विद्यालय आउँछिन्। समाजसेवामा सक्रिय रहेकी साहिली अविवाहित हुन् । ९० वर्षीया आमाको हेरचार गर्दागर्दै उनी समाजसेवामा तल्लिन भइन् । आर्थिक रुपमा विपन्न भएकाले समयमै आफूले पढ्न नपाएको उनले गुनासो पोखिन् । अहिले पढ्ने अनुकुल समय भएकाले विद्यालय आउन थालेको उनको भनाई छ। 'पढेर साक्षर बन्ने मेरो लक्ष्य हो, ' उनी भन्छिन्, 'पढाइले कसैलाई बुढो ठान्दैन ।'

नियमितरुपमा पढाइ सुरु गरेपछि विद्यालयले नै साहिलीलाई स्कुल ड्रेसको व्यवस्था गरेको छ । अरु विद्यार्थीका लागि निर्धारण गरेको सर्ट फ्रक लगाउन उनलाई असजिलो भएपछि कुर्ता सुरुवालको व्यवस्था गरेको विद्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.