पत्रकार हमाल रिहा
काठमाडौं : पत्रकार ओम हमाल रिहा भएका छन्। सर्वोच्च अदालतको आदेश अनुसार उनी मंगलबार रिहा भएका हुन्। पत्रकार हमालकी श्रीमती मोनिका गुरुङले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
रिहा लगत्तै नेपाल बार एशोसियनको प्राङ्गणमा नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले पत्रकार हमाललाई सम्मान गरेका छन् ।
क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्षसमेत रहेका जैसीले पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारमाथि राज्य निरंकुश नबन्न र अनाहकमैं पत्रकारलाई पक्राउ गरेर दुःख नदिन चेतावनी दिए ।
क्रान्तिकारी पत्रकार संगठनका सचिव र पोखराका स्थापित पत्रकार राजेन्द्र अधिकारीले संगठनका तर्फबाट पत्रकार हमाललाई सम्मान गर्दै पत्रकारमाथिको ज्यादती तत्कालै रोक्न र आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन सरकारलाई गरे ।
भदौ ८ गते बन्दी प्रत्यक्षीकरण रिट उपर आदेश जारी गर्दै सर्वोच्च अदालतले रिहा गरे पनि हमाल सोही दिन अदालत परिसरबाटै पक्राउ परेका थिए। पत्रकार हमाललाई बुधबार नै काठमाडौं जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको थियो।