विश्वभर आज : पाकिस्तानले यूएनमा उठायो 'कश्मीर', उत्तर कोरियामा अब के होला !

विश्वभर आज : पाकिस्तानले यूएनमा उठायो 'कश्मीर', उत्तर कोरियामा अब के होला !

काठमाडौँ : केही मानवीय घटना र प्राकृतिक विपद्बाट आज पनि संसारकै ध्यान खिच्ने खालका केही घटना भए । इराकमा मुस्लिम समुदायले मनाउने एक पवृमा भेला भएकाहरुबीच भागदौड हुँदा ठूलो दुर्घटना भयो । हालैको उक्त घटनामा एक सयभन्दा धेरै घाइते भए । हङकङको जारी आन्दोलनमा स्कुले विद्दार्थीले उत्साहजनक सहभागिता जनाए । यस्तै केही महत्वपूर्ण खबर यहाँ प्रस्तुत गरिएको छ ।


उत्तर कोरियाको फेरि क्षेप्यास्त्र प्रक्षेपण

सोल : उत्तर कोरियाले फेरि कम्तिमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । उसले प्रक्षेपण गरेको क्षेप्यास्त्रको प्रकृति भने खुल्न सकेको छैन । उत्तरले अमेरिकालाई वार्ताको लागि आह्वान गरेको केही घण्टामै यही मंगलबार यस्तो प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले बताएको हो ।

उत्तरले आफ्नो राजधानी प्योङयाङ नजिकै दक्षिणी प्रान्तबाट प्रक्षेपण गरेको थियो । उत्तरले गरेको क्षेप्यास्त्रको प्रकृति नखुले पनि समुद्रमा पुग्नुअघि ३३० किलोमिटर माथि उडेको बताइन्छ । अमेरिकाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

बुर्किना फासोमा ६ प्रहरी मारिए

बुर्किना फासो : उत्तरी बुर्किना फासोमा भएको हमलामा ६ जना प्रहरी मारिएका छन् । सोमबार सौम प्रान्तस्थित अधिकृतहरुको समूहलाई लक्षित गर्दै हतियारधारी समूहले एम्बुस थापेको सुरक्षाकर्मीले जनाएका छन् ।

२९ जनाको ज्यान जाने गरी भएको हमलालगत्तै बुर्किना फासोमा अर्को घटना भएको हो । विपन्न मुलुक बुर्किना फासोमा पछिल्लो समय हिंसाका घट्ना बढ्न थालेका छन् । २०१५ देखि अहिलेसम्म ५ सयभन्दा धेरैको ज्यान गइसकेको बताइन्छ । छिमेकी मुलुक मालीबाट यहाँ हतियारधारी विद्रोही समूह छिरेको स्थानीय मिडियाले जनाएका छन् ।

प्रेस नियन्त्रण गर्ने १० मुख्य देशको सूची सार्वजनिक

वासिङटन : प्रेस नियन्त्रण गर्ने संसारका मुलुकहरुको पहिलो सूचीमा एरिट्रिया परेको छ । पत्रकारहरुलाई संरक्षण गर्ने अमेरिकी संस्था (सिपिजे)ले मंगलबार सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख छ ।

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने १० मुख्य देशको सूची सार्वजनिक भएको हो । जहाँ चीन, उत्तर कोरिया र साउदी अरेबिया पनि छन् । प्रेस नियन्त्रणमा अति खराब तीन मुलुकमा एरिट्रिया, उत्तर कोरिया र तुर्केमिन्स्तान छन् ।

साउदी अरेबिया, चीन, भियतनाम, र इरान क्रमशः चौथोदेखि सातौं सूचीमा छन् । पत्रकारमाथि गरिने व्यवहार जस्तै, पक्राउ, धम्की, अवहेलना जस्ता व्यवहारलाई अनुसन्धानको सूचक बनाइएको थियो ।

गिनी, बेलारुस र क्युबा पनि खराब १० सूचीमा छन् । सिपिजेका अनुसार सिरिया, यमन जस्ता युद्ध प्रभावित मुलुकमा पत्रकारिता गर्न जोखिम भए पनि सरकारी तवरबाट खासै नियन्त्रित छैन । सिरिया, यमन जस्ता मुलुकलाई प्रेस नियन्त्रक खराब १० देशको सूचीमा राख्नु आवस्यक नभएको बताइएको छ ।

बेलायतमा आज पनि पाइलटको हड्ताल


लण्डन : बेलायतमा ब्रिटिश एयरवेजका पाइलटहरुको हड्ताल मंगलबार दोस्रो दिन पनि जारी छ । ब्रिटिश एयरवेजले दोस्रो दिन पनि आफ्ना लगभग सबै उडान स्थगित गरेको छ ।

पाइलटहरुले सोमबार नै तलब र भत्ताको माग गर्दै दुईदिने हड्ताल आह्वान गरेका थिए । यससँगै १ लाखभन्दा धेरै यात्रुको उडान योजनामा असर परेको बताइएको छ । ब्रिटिश एयरवेजले दैनिक आफ्ना सबै ८५० वटै उडान नै स्थगित गरेको हो ।

कश्मीरमा अन्तर्राष्ट्रिय छानविन गर्नुपर्छ : पाकिस्तानी विदेशमन्त्री

इस्लामाबाद : पाकिस्तानी विदेशमन्त्रीले भारतको कश्मीरमा अन्तर्राष्ट्रिय छानविनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । कश्मीरको मुस्लिम अल्पसंख्यक समुदायमा ‘नरसंहार’को जोखिम रहेको दावी गर्दै विदेमन्त्री साह मेहम्मुद कुरैसीले मंगलबार यस्तो आग्रह गरेका हुन् ।

जेनेभास्थित मानवअधिकार उच्चायोगमा यस्तो बताएका हुन् । ‘नरसंहार शब्द प्रयोग गर्न म डराउँछु, तर पनि भन्नैपर्छ,’ कुरैसीले भने । भारतले आफ्नो संविधान परिवर्तन गर्दै कश्मीरको विशेषाधिकार कटौती गरेपछि पाकिस्तानले विरोध जनाउँदैआएको छ । विदेशमन्त्री कुरैसीले भारत सरकारले ६ हजारलाई पक्राउ गरेको पनि आरोप लगाए ।

मस्जिदमा भागदौड हुँदा ३० भन्दा धेरैको ज्यान गयो, एक सय बढी घाइते

बगदाद : इराकको करबालास्थित एक मस्जिदमा भागदौड हुँदा कम्तिमा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । असौरा पर्व मनाउने क्रममा मंगलबार भेला भएको भीडबीच भागदौड हुँदा दुर्घटना भएको हो ।

घटनामा एक सयभन्दा धेरै तिर्थालु घाइते भएका छन् । अधिकांशको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनास्थल राजधानी बगदादको १ सय किलोमिटर पश्चिमतर्फ पर्छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता सेफ अल बद्रका अनुसार घाइतेको संख्या अझै यकिन हुन बाँकी छ ।

हङकङमा स्कुले विद्यार्थीहरुले बनाए मानव साङ्लो


हङकङ : हङकङका माध्यमिक तहका स्कुले विद्यार्थीहरुले यहाँ जारी प्रदर्शनमा समर्थन जनाउँदै मानव साङ्लो बनाएका छन् । मंगलबार हजारौँको संख्यामा भेला भएका स्कुले विद्यार्थीहरुले मानव साङ्लो बनाएर र्याली निकालेका थिए ।

उनीहरुले ‘प्रो डेमोक्रेसी’ प्रदर्शनकारीको समर्थनमा नारा लगाउँदै प्रदर्शन गरे । गृहकार्यका लागि कठिन मेहनेत गर्ने बालबालिकाको रुपमा चिनिने हङकङका स्कुले विद्यार्थीको यो आन्दोलनलाई प्रभावशाली ठानिएको छ ।

पछिल्लो १४ सातादेखि जारी हङकङको प्रदर्शनमा लाखौँ मानिस सहभागी भइसकेका छन् । विश्वकै ध्यान तानेको यो आन्दोलनमाथि चीनले पटक पटक धम्की दिँदैआएको छ ।

बहमासमा डोरियनले तहसनहस

नसाउ : बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको शक्तिशाली डोरियन आँधीले बहमासलाई तहसनहस पारेको छ । स्थानीय बासिन्दा भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन संघर्षरत छन् ।

समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी ‘इतिहासकै दुःखान्त’ भएको बताएका थिए ।

बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको थियो । यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.