डेंगु प्रकोप : डेंगुबाट त्रसित होइन, सचेत रहौं

डेंगु प्रकोप : डेंगुबाट त्रसित होइन, सचेत रहौं

करिब तीन महिनाअघि अन्नपूर्ण पोस्ट् दैनिकमा डेंगुसम्बन्धी आफ्नो धारणा राखेको थिएँ। समयमै नियन्त्रण नभए रोगले विकराल रूप लिने र धेरैको ज्यान जोखिममा पर्ने उल्लेख गरेको थिएँ। हुन पनि सरकारको शिथिल प्रयासका कारण यस रोगले नेपालको धेरैजसो क्षेत्रमा त्रास फैलाएको छ।

रोग नियन्त्रण हुनुको साटो फैलिँदै जानु विडम्बना हो। सरकारको भूमिका प्रभावकारी बन्न नसक्नु, मौसम गर्मीयाम हुनु, सामाजिक अभियान समेत फितलो हुनु, आम नागरिकमा रोग नियन्त्रणका विषय ओझेलमा पर्नु, रोगीको समयमा पहिचान गरी उपचार नगर्नु तथा लामखुट्टे नियन्त्रणमा आउन नसक्नु रोग फैलनुका प्रमुख कारण हुन्। प्रदेश एकको सुनसरी जिल्लाको धरानमा डेंगु इन्डेमिक भई फैलिएको तीन महिना भएको छ। त्यस बखत दुई सय भन्दा बढी संख्यामा यसको संक्रमण रहेको पुष्टि बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ टोलीले गरेको थियो।

धरानमा सीमित उक्त रोग अहिले आएर नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको छ,। चितवन, पोखरा हुँदै काठमाडौं र रूपन्देहीसम्मका घर आँगनमा डेंगुका लामखुट्टे र बिरामी भेटिएका छन्। कतै कतै त सोही रोगबाट बिरामीको अकालमै मृत्युसमेत भएको छ। बिरामीमा सामान्य ज्वरो आउने, जिउ, हात, जोर्नी तथा टाउको दुख्ने र आलस्यता हुनेजस्ता लक्षण देखिँदा चिकित्सकले अन्य रोगको पहिचानका लागि गरिने परीक्षणका अलावा डेंगु रोगको पनि परीक्षण गर्ने अवस्था झन् बढेको छ। सरकारले यस प्रकारका रोगका बारेमा जनचेतना दिनेदेखि उचित व्यवस्थापन गर्दै रोग नियन्त्रणमा समयमै चासो दिनुपर्ने र बिरामीको उपचारमा सरकारी सहयोगको व्यवस्था गर्दै रोग नियन्त्रणमा समेत रफ्तारमा काम गर्नुपर्ने थियो। विडम्बना सरकार रोग नियन्त्रणमा आफैं असफल भएर नेपाली सेनालाई सघाउन आग्रह समेत गरेको छ।

स्थानीय सरकार र केन्द्र सरकारबीच समन्वय हुन नसक्दा रोग नियन्त्रण हुन समस्या परेको छ। त्यसभन्दा बढी सामाजिक अभियान फितलो हुनु र नागरिक समेतको सहयोग नहुनु तथा प्रकृति मौसमका आधारमा प्रतिकुल हुनु पनि रोग नियन्त्रण नहुनुको अर्को पाटो हो। डाक्टरको सल्लाह लिन रोगले थलिएपछि मात्र आउने वैचारिक तथा गरिबी समाजमा विद्यमान भएकाले पनि रोगको उपचार तथा नियन्त्रणमा समस्या आएको छ। सरकारले चासो नदिएकाले यस रोगले देशभरका विभिन्न क्षेत्रमा विकारल रूप त लिइसकेको छ नै झन् जोखिम बढ्ने आशंका छ। सरकारले बेलैमा चासोका साथ अथक प्रयास गरेको भए यति धेरै जोखिम मोल्नुपर्ने थिएन।

पछिल्लो तथ्यांक

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांकअनुसार प्रदेश ३ मा सबभन्दा बढी र कर्णाली प्रदेशमा सबभन्दा कम डेंगुका रोगी पाइएको छ। यही भदौ महिनाको २२ गतेसम्मको तथ्यांकका आधारमा प्रदेश १ मा ८३१, प्रदेश २ मा २९, प्रदेश तीनमा २०१०, गण्डकी प्रदेशमा ८९४, प्रदेश ५ मा ९७, कर्णली प्रदेशमा ३ तथा सुदूरपश्चिम प्रदेशमा २३ जना गरी हालसम्म ३८९९ डेंगु रोगका बिरामी फेला परेका छन्। तथ्यांकमा नसमेटिएका तर संक्रमितको संख्या बढी हुने पक्का छ। चितवन, कास्की, मकवानपुर, सुनसरी र झापामा मात्र कुल संख्याको लगभग तीन चौथाइ बिरामी रहेको सोही तथ्यांकमा उल्लेख छ। सबभन्दा बढी चितवनमा १०३६ जना बिरामी रहेको जनाइएको छ।

डेंगुबाट त्रसित होइन सचेत रहौं

विश्वमा लामखुट्टेको टोकाइबाट अति नै शीघ्र फैलने भाइरसको संक्रमणबाट हुने रोगमध्येको हो डेंगु। यो रोग ग्रसित भएको क्षेत्रका मानिसको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेका विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले जनाएको छ। नेपालीको जस्तो आर्थिक स्तर कम भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकोले सरकारले समयमा नै समाधान खोज्नु जरुरी छ।

सुरुमा बिरामीमा सामान्य ज्वरो आउने, जिउ हात दुख्ने, जोर्नी दुख्ने, टाउको दुख्ने, रिङटा लाग्ने, बान्ता आउने र आलस्यता हुने जस्ता लक्षण देखिन्छ। रगतमा पानीको मात्रा कम भएमा कमजोरी बढ्दै जाँदा रक्तचाप कम हुन्छ। शरीरमा प्लेटलेटको संख्या घटेमा रक्तनलीबाट रगत शरीरका अन्य तन्तुमा जाने भएकाले शरीरमा डाबर आउने, बिरामी सिकिस्त हुने, रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभावमा बिरामीको मृत्युसमेत हुन सक्छ। त्यसैले चिकित्सकको निगरानीमा मात्र उपचार गराउनु बुद्धिमानी हुनेछ।

सामान्य ज्वरो वा भाइरल ज्वरो भए पनि सामान्यरूपमा नलिन र प्रकोपित क्षेत्रका बासिन्दाले समयमै अस्पताल पुग्नुपर्छ। रोग लागिहाल्यो भनेर अत्तिने र त्रासमा बस्नु हुँदैन किनकि अधिकांश रोगीलाई सामान्य उपचारपछि घर फर्काउन सकिन्छ। पाँच प्रतिशत बिरामीमा मात्र यो रोग विकराल रूपमा आउने गर्छ जसको सघन उपचार आवश्यक हुन्छ। तसर्थ रोग लागिहालेमा त्रसित हुनु आवश्यक छैन तर उपचार भने आवश्यक छ।

सामाजिक अभियान आवश्यक

डोंगु रोग मुख्यतः स्त्री जातिका एडिज लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। पानी जम्ने ठाउँ, एयर कन्डिसन, फूलका गमला, पुराना टायर, ड्राम, नरिबलका खोस्टा, साना खाल्डामा सफा पानी धेरै दिनदेखि जमेर बसेको भए यो रोग फैलने सम्भावना रहन्छ। उक्त प्रजातिका लामखुट्टे मुख्यतः सफा पानीमा फैलने भएकाले फोहर नाली भएको ठाउँ भन्दा घर र घरआसपासका पानी जम्ने पुराना भाँडाकुडामा बस्ने मच्छडबाट यो रोग फैलने सम्भावना हुन्छ।

तसर्थ आफ्नो घर सफाइ गर्नु र घरमा पानी जम्ने ठाउँ हटाउनु नै डेंगुको रोकथामको उपाय हो। साथै मच्छडको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने वा मच्छड धुप वा क्रिम प्रयोग गर्नु पनि उत्तिकै आवश्यक छ। यस्ता किसिमका अभियानका लागि सरकार होइन घरबाट समाज र एउटा समाजबाट देशभर अभियान चलाइनुपर्छ।

सरकारको जिम्मेवारी

सामाजिक अभियान नागरिकको जिम्मेवारी होला तर देशभर विकराल रूपमा फैलिएको यस प्रकारका रोगको नियन्त्रणदेखि बिरामीको उपचारमा सरकार नै सक्रिय हुनुपर्छ। सरकारले रोगको रोकथामका लागि टोली खटाउनेदेखि सक्रिय भएर रोगको पहिचान तथा नियन्त्रणमा जोड दिनुपर्छ। सरकार यसमा असफल भएको देखिन्छ।

अब प्रकृतिकै भरोसा

रोग नियन्त्रणमा सरकार त असफल भएको आफंैले स्वीकार गरिसकेको छ भने आम नागरिकको अभियान पनि हालसम्म प्रभावकारी नभएकाले अब रोग नियन्त्रणका लागि जाडो मौसमको प्रतीक्षा गर्नुको विकल्प देखिन्न। तापक्रम अनुकुल भए मात्र जमेको सफा पानी भएको ठाउँमा डेंगु भाइरस सार्ने लामखुट्टेको प्रजनन् प्रक्रिया पूरा हुने भएकाले रोग सर्ने गर्मीयाम उपयुक्त मौसम हो।

गर्मीयामको अन्त्यसँगै लामखुट्टेको कमी हुने र यसको टोकाइसमेत कम हुने भएकाले जाडोयाममा यो रोग पूर्णरूपमा नियन्त्रण हुने अनुमान गर्न सकिन्छ। ‘कहिले जाडोयाम सुरु होला र रोग नियन्त्रण होला’ सरोकारबालाको अहिलेको चासोको विषय हो। तर रोग नियन्त्रणका लागि मात्र प्रकृतिको पर्खाइ भन्दा अहिले सामाजिक अभियान तथा सरकारको सक्रिय भूमिका आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.