आजको मौसम : मेघ गर्जनसहित भारी वर्षा, सचेत रहन आग्रह
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार बिहान देशका पूर्वी, मध्य तथा पश्चिमी भु-भागका केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको बुधबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा पूर्वी भाग औसत स्थानभन्दा केहि माथि (नेपाल नजिक) रहेको छ र अन्य स्थानमा आसपासमा भएको उल्लेख गरिएको छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।
बुधबार दिउँसो देशभरी सामान्य बदली रहि धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित मध्यम वर्षा हुनेछ। देशका पूर्व र मध्य भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति देशभरी सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। देशको पुर्वदेखि पश्चिमसम्मकै केही स्थानहरुमा भारी वर्षाको सम्भावना भएको महाशाखाको बुलेटिनमा उल्लेख छ।
बिहीबार देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ। शुक्रबार पूर्व,मध्य र पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
'देशका धेरै स्थानमा मध्ययम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना भएकोले नदिमा आकस्मिक पानीको बहाव बढ्न सक्ने छ। बुलेटिनमा भनिएको छ, 'पहाडि भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउने भएकाले सतर्कता अपनाउन अनुरोध छ।'