ग्रामिण सडकमा मनलाग्दी भाडा
बेनी : म्याग्दीका ग्रामिण सडकमा यात्रा गर्ने सर्वसाधारण महँगो भाडा तिर्न बाध्य छन्। मर्मत र स्तरवृद्धि भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन हुन सकेको छैन। स्थानीय तह तथा नियमनकारी निकायले वेवास्ता गर्दा व्यवसायीले मनलाग्दी भाडा लिने गरेका कारण सर्वसाधारण मर्का छन्।
जिल्लाका ग्रामिण सडकमा चल्ने धेरै सवारीले आफूखुसी भाडा लिएको गुनासो छ। स्थानीय तह र प्रशासनले कायम गरेको भाडादर कार्यान्वयन हुन सकेको छैन्।
रघुगंगा गाउँपालिका-२ भगवती जोड्ने सडक बेनीदेखि १२ किलोमिटरको दूरीमा छ। गाउँपालिकाले २०० रुपैयाँ भाडादर निर्धारण गरेपनि ब्यवसायीले ३०० रुपैयाँ भन्दा बढी लिने गरेको स्थानीय चेतनाथ सुवेदी बताउछन्।
‘निर्धारण गरिएको भाडादर कार्यान्वयन भएको छैन््,’ सुवेदीले भने ‘ ब्यवसायीले आफूखुसी भाडा लिन्छन्।’ व्यवसायीले प्रतिकिलोमिटर तीस रुपैयाँसम्म भाडा लिने गरेका छन्।
महँगो भाडाले निम्न वर्ग व्यक्ति यातायात सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था भएको मर्कामा परेका स्थानीय प्रेम नेपालीको गुनासो छ।
बेनी–बरंजा, बेनी–अर्थुङ्गे, बेनी–पुलाचौर, बेनी–पात्लेखेत, बेनी–शिख, हिस्तान, राम्चे, दोवा, बेग, पाखापानी, कुहुँ, दरवाङ देखि देविस्थान, बिम, मराङ, ताकम, मुना, अर्मनको पुलचोकदेखि किमचौर जोड्ने सडकमा पनि यस्तै गुनासा छन्।
जिल्ला यातायात व्यवस्थापन समितिको २०७३ भदौ ६ गते बसेको बैठकले २९ वटा सडकलाई अस्थायी रुट कायम गर्न सिफारिस गरी २०७१ कात्तिक २८ गतेको बैठकले कायम गरेको भाडादरलाई निरन्तरता दिने निर्णय गरेको थियो।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा ७५०, बेनी-दरवाङ–ताकम सडकमा प्रतिकिलोमिटर ८.५० रुपैया र अन्य सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँका दरले भाडादर कायम गरिएको थियो। कच्ची र जीर्ण सडकका कारण भाडादर बढी कायम भएको यातायात व्यवसायीहरुको प्रतिक्रिया छ।
गाउँपालिका र प्रशासनले तोकेभन्दा बढी भाडा नलिएको व्यवसायीको दाबी छ। म्याग्दी यातायात प्रा.लीका अध्यक्ष लालबहादुर थापाले रातो नम्बर प्लेटका निजी गाडीले मनोमानी भाडा लिने गरेको र त्यसको आरोप आफूहरुले खेप्नुपरेको गुनासो गरे। प्रशासनलाई पनि जानकारी गराउँदा समेत भाडामा यात्रु बोक्ने निजी गाडीको मनोमानी नरोकिएको थापाले बताए।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जिप र ट्याक्सीको भाडादर कायम गरेर कार्यान्वयन गर्ने प्रक्रियामा रहेको जानकारी दिए। यात्रु चढ्ने र ओर्लने ठाउँमा भाडादर लेखिएको ब्यानर राख्ने, ट्राफिक प्रहरीलाई उपलब्ध गराउने र अनुगमन गरिने उनले बताए।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भाडादरको बारेमा गुनासो आएपछि गाउँपालिका अध्यक्षलाई जानकारी गराएको र ट्राफिक प्रहरीलाई बोलाएर अनुगमन गरी बढी भाडा असुल्नेलाई कारबाही गर्न निर्देशन दिएको बताए।
‘प्रशासनमा भाडादरको बारेमा लिखित उजुरी आएमा एक्सन लिन सजिलो हुने थियो,’ प्रजिअ ढकालले भने ‘स्थानीय तहले कायम गरेको भाडादरको बारेमा जानकारी मागेर कार्यान्वयनका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिन्छौ। कडाइका साथ कार्यान्वयन हुन्छ। ’