साइबर क्राइम मुद्दामा पत्रकार चन्दले पाए सफाई
काठमाडौं : विद्युतीय कारोबार ऐन अन्तर्गतको साइबर अपराधको मुद्दा खेपिरहेका पत्रकार गोपाल चन्द र केबी गुरुङले अदालतबाट सफाइ पाएका छन्। समाचार लेखेकै आधारमा पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्द र संचालक केबी गुरुङले विद्युतिय कारोबार सम्बन्धि मुद्दा खेप्दै आएका थिए।
१० महिनापछि काठमाडौं जिल्ला अदालतले मुद्दाको छिनोफानो गरेको हो। न्यायाधीश विदुर कोइरालाको एकल इजलासले प्रतिवादी पत्रकार द्वय चन्द र गुरुङलाई सफाइ दिएको हो।
अदालतमा मंगलबार भएको बहसमा पत्रकार चन्द र गुरुङकोतर्फबाट अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दिवस निरौलाले बहस गरेका थिए।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबारे अफवाह फैल्याएको भन्दै प्रहरीले गएको मंसिर ११ गते पक्राउ गरि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्धा चलाएको थियो। उनी १८ दिने हिरासत बसाइपछि छुटेका थिए।
चन्द सम्पादक रहेको पोस्ट्पाटी डटकमले गत मंसिर ६ गते प्रचण्डमाथि चितवनको कृष्ण चोकमा 'स्थानीयले खुकुरी प्रहारको प्रयास' शीर्षकमा अर्कै अनलाइनको स्रोत दिई समाचार सम्प्रेषण भएको थियो।
सूचना विभागमा सूचिकृत अनलाइनको समाचारलाई प्रेस काउन्सिलले हेर्नुपर्ने भएपनि प्रहरीले पक्राउ गरेपछि आलोचना भएको थियो।