साजसज्जाको प्रदर्शनी

साजसज्जाको प्रदर्शनी

काठमाडौं : आधुनिक जीवनशैली, सहरीकरण र ‘कर्पोरेट कल्चर’ले मानिसलाई साजसज्जामा आकर्षित गर्न थालेको छ। एकातिर उपभोक्तासँग खर्चयोग्य आम्दानी बढ्दै गएको र सँगसँगै बजारीकरणको विस्तारले घर, कार्यालयमात्र होइन, हरेक स्थान सजाउने प्रवृत्ति बढ्दो छ। ठाउँ, परिवेश, मौसम र साँस्कृतिक विविधताअनुसार फरक पर्ने भए पनि मुलतः चार्डपर्वको समयमा मानिसको ध्यान यस्तो साजसज्जामा केन्द्रित हुने गर्छ। हामी नेपालीले दसैं र तिहार नजिकिएपछि घर सिँगार्ने प्राचीन प्रचलन कायमै छ। यसमा थपिएको छ – आधुनिक फर्निसिङ।

भान्साकोठा, बैठक कक्ष, शयनकक्षदेखि शौचालय र पूजा कोठासम्म सजाउने नविन तौरतरिका अपनाउन थालिएको छ। घरबाहिरको सजावट, फ्लोरिङ र भर्‍याङ कस्तो बनाउने भन्नेदेखि कार्यकक्षको सजावटमा पनि अहिले ‘विज्ञ’ वा आर्किटेक्ट प्रयोग गर्न थालिएको छ। यस्ता ग्राहक र आर्किटेक्टको आवश्यकता धान्न पछिल्लो समय काठमाडौंमा आयोजना हुँदै आएको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स)को सातौं संस्करण बुधबारबाट सुरु हुँदै छ।

५ दिनसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन्। स्वदेशी उत्पादकका उत्पादनमात्र होइन, विदेशी उत्पादन नेपालमा भिœयाउने स्थानीय वितरकले आफ्ना उत्पादन तथा सामग्री प्रदर्शनीमा राख्नेछन्। नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रूपमा एक्स्पोको आयोजना हुँदै आएको छ। एक्स्पोमा ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले बताएको छ।

ब्रान्डिङ गर्ने मेला

नयाँ प्रविधि र भिन्न कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरिएका सामग्री नेपाली बजारमा भिœयाउने मौकाको रूपमा एक्स्पो आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। ‘नेपाली बजारमा उपलब्घ भएका फर्निचर र फर्निसिङका नयाँ उत्पादन ब्रान्डिङ गर्न मेला आयोजना गरिएको हो’, एक्स्पो आयोजक समितिका संयोजक मनिष अग्रवाल भन्छन्। अवलोकनकर्ताले आफूलाई मन परेको सामान अर्डर गर्नसक्ने व्यवस्था मिलाउन एक्स्पो आयोजना गरिएको उनी बताउँछन्। मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने बताए। उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन पनि ग्राहकलाई आग्रह गरेका छन्।

नयाँ प्रविधि र भिन्न कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरिएका सामग्री नेपाली बजारमा भिœयाउने मौकाको रूपमा एक्स्पो आयोजना गरिएको छ।

आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष रुपेश प्रधान भने विगत वर्षको तुलनामा परिष्कृत रूपमा मेला आयोजना हुन लागेको बताउँछन्। उनले बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताए। किचन, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीमा राखिने आयोजकले बताएको छ। त्यस्तै कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेसन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीमा राखिने अध्यक्ष प्रधानले बताए। उनले घरेलु बजारमा आधुनिक फर्निसिङको प्रचारप्रसार गर्न र मानिसलाई आकर्षित गर्न एक्स्पोले सहयोग गर्ने बताए।

बदलिँदो शैली

पछिल्लो समय फर्निचरको उपयोगमा नविन शैली अपनाउन थालिएको व्यवसायी बताउँछन्। परम्परागत काठका सामग्रीबाट विस्तारै प्लास्टिक र स्टिलका वस्तुको माग बढ्दै गएको उनीहरू बताउँछन्। बाँस र निगालोबाट बनेका फर्निचरको माग भने तुलनात्मक रूपमा बढ्न सकेको छैन। ‘बाँसका सामग्रीको दीगोपना नभएकाले त्यसमा आकर्षण बढ्न सकेको छैन’, संयोजक अग्रवाल भन्छन्। बरु सिसा वा काँचका सामग्रीको माग नेपाली बजारमा ह्वात्तै बढेको उनको बुझाइ छ।

केही दशकयता घरजग्गा बजारमा भएको तीव्र मूल्यवृद्धि, रेमिट्यान्सको आयमा सुधारजस्ता कारणले नेपालीको खर्चयोग्य आम्दानी बढाएको अध्ययनले देखाएका छन्। यसले सहरीकरण र नागरिकको जीवनस्तर सुधार्न ठूलो मद्दत पुगेको छ। यसले गर्दा पनि फर्निचरमा खर्च गर्ने प्रवृत्ति बढेको व्यवसायी नै बताउँछन्। फर्निसिङको नयाँ शैली र नयाँ खालका वस्तुको उत्पादनले ग्राहकलाई छनोटको सुविधा बढाएको छ।

बढ्दो छनोटको यस्तो सुविधा अर्थतन्त्रका लागि भने धेरै लाभदायक छैन। फर्निचरलाई मानिसको शोखमात्र नभई सम्पन्नताको प्रतिकको रूपमा हेर्ने प्रवृत्ति बढ्दा विदेशी वस्तुको आयात चुलिएको छ। स्टिल, सिसा र काठको आयातमा मुलुकले ठूलो रकम बर्सेनि विदेश पठाउनु परेको छ। नेपालभित्रै पर्याप्त काठ भए पनि त्यसको सदुपयोग हुन नसक्दा अहिले मलेसियादेखि ब्राजिलसम्मबाट काठ आायत गर्नुपर्ने अवस्था रहेको काठ व्यवसायीहरू बताउँछन्।

फैलँदो बजार

व्यावसायिक क्षेत्रमा अनुसन्धान गर्ने अमेरिकी संस्था ‘ग्रान्ड भ्यू रिसर्च’ ले गत वर्ष गरेको एक अध्ययन अनुसार सन् २०२५ सम्म विश्व फर्निचर बजार ७ खर्ब १८ अर्ब अमेरिकी डलर (अहिलेको मूल्य अनुसार करिब ८२५ खर्ब रुपैयाँ) पुग्नेछ। उक्त अध्ययनले सन् २०१७ मा विश्व फर्निचर बजार ४ खर्ब ८१ अर्ब अमेरिकी डलरको हाराहारी रहेको उल्लेख गरेको छ। यो त्यतिबेलाको नेपालको कुल गार्हस्थ्य उत्पादनको झण्डै १७ गुणा हो। तर यसपछिका ८ वर्षमै फर्निचर बजार झण्डै दोब्बर बढ्ने प्रक्षेपणले संसारभर नै फर्निचर व्यवसायको तीव्रतर विस्तारलाई दर्शाउँछ।

नेपाली बजारमा पनि फर्निचर र फर्निसिङको उपभोग तीव्र दरमा बढिरहेको व्यवसायी बताउँछन्। मेला आयोजक समितिका संयोजक अग्रवाल हाल नेपालमा वार्षिक ४० देखि ५० अर्बको फर्निचर व्यापार हुने गरेको बताउँछन्। हरेक वर्ष १५ देखि २० प्रतिशतले बजार बढिरहेको उनको भनाइ छ।

नेपालमा काठसँगै स्टिललगायत धातुजन्य वस्तु र बाँस तथा प्लास्टिकका फर्निचर सामग्रीको पनि माग बढिरहेको उनी बताउँछन्। पछिल्लो समय विदेशी फर्निचरको आयात पनि तीव्र दरमा बढेको छ। मुलतः चीनबाट फर्निचर आयात चुलिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछन्। व्यवसायीहरू अहिले मुलुकमा वार्षिक खपत हुने फर्निचरको करिब आधाजतिमात्रै स्वदेशी बजारको उत्पादनले थेग्ने गरेको छ। बाँकी आयातमै निर्भर हुनुपरेको भन्दै संयोजक अग्रवाल भन्छन्, ‘हामी आत्मनिर्भर हुने बाटोमा छौं। यसका लागि पनि यस्ता मेलाले सहयोग पुर्‍याउँछ।’

फर्निचर व्यवसायमा कति लगानी भएको छ भन्ने स्पस्ट तथ्यांक नरहेको संयोजक अग्रवाल बताउँछन्। तर यसले रोजगारी सिर्जनामा ठूलो योगदान गरेको उनको बुझाइ छ। नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि गत एक वर्षमा सिकर्मीको औसत ज्याला दर ६.९ प्रतिशत बढेको देखाएको छ। जबकी, यही अवधिमा डकर्मीको ज्यालादर ४.८ प्रतिशत मात्रै बढेको छ। त्यसो त, फर्निसिङमा दक्ष जनशक्ति अभाव रहेको व्यवसायीहरू बताउँछन्।

स्रोत ः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.