किन स्थगित भयो कोरला व्यापार मेला ?
जोमसोम : मुस्ताङको उत्तरी कोरलानाकामा संञ्चालन हुने दोश्रो अन्तरदेशीय व्यापार मेला स्थगित भएको छ । सुरक्षा तथा विविध कारणले व्यापार मेला बन्द भएको जनाइएको छ । बर्सेनी असार र भदौमा कोरलामा चिनियाँ व्यापार मेला लाग्ने गथ्र्यो । तर , असारमा मेला सञ्चालन भएपनि भदौमा लाग्ने मेला हुन सकेन । एक साताअघि चिनियाँ पक्ष तथा इलाका प्रशासन कार्यालय ,लोमान्थाङ गाउँपालिका र स्थानीयबीच लोमान्थाङमा व्यापार मेला संञ्चालन गर्न छलफल भएको थियो ।
चिनियाँ पक्षले माथिको आदेश भन्दै व्यापार मेला स्थगित गरेको इलाका प्रशासन कार्यालयका प्रमुख मुरारी निरौलाले जानकारी दिए । उनले अर्को आदेश नभएसम्म व्यापार मेला स्थगित भएको बताए ।
लोमान्थाङबासीले चिनियाँ पक्षलाई व्यापार मेला संञ्चालन गरिदिन आग्रह गरेका थिए । उनीहरुले भदौमा हुने दोश्रो व्यापार मेलामा आफूहरुले पर्याप्त आवश्यक दैनिक उपभोग्य सामानहरु जोहो गर्ने गरेको उल्लेख गर्दै मेला आयोजना गर्न अनुरोध गरेका थिए।
उपल्लो मुस्ताङका स्थानीयले भदौमा हुने व्यापार मेलामा हिउँदलाई चाहिने अतिआवश्यक सामान संचित गर्ने गर्छन् । लोमान्थाङबासीले चिनियाँ सुरक्षा अधिकारसमक्ष व्यापार मेलाको मिति तोक्न अडान लिएका थिए । तर, सुरक्षा अधिकारीले अक्टोबर १४ तारिखमा व्यापार हुनसक्ने आश्वासन दिए । उक्त समयमा उपल्लो मुस्ताङी हिउँदयामको जाडो छल्न र व्यापार व्यवासाय गर्न बेशी झर्छन् । इलाका प्रमुख निरौलाले चिनियाँ पक्षले आशा देखाएको मिति उपयुक्त समय नभएको औंल्याए ।
सीमावर्ती क्षेत्रका बासिन्दाबीच एक अर्काको अति आवश्यकीय सामग्री किनमेलका लागि बर्सेनी कोरलापासामा व्यापार मेला आयोजना हुने गर्छ । मेलामा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीय किनमेलका लागि कोरला जाने गर्छन् । मेलामा चिनियाँ पक्षले प्रवेशकार्ड अनिवार्य गथ्र्यो।
यसअघि असारमा भएको अन्तरदेशीय व्यापार मेलामा इलाका प्रशासनले ८ सय जनालाई बोर्डर पास उपलब्ध गराएको थियो । मेलाका लागि २ सय ७४ जनाले मात्र बोर्डर प्रवेश बनाइ नवीकरण गरेका थिए । २ महिनाअघि भएको कोरला अन्तरदेशीय व्यापार मेलाको ४ दिनमा ३ लाख १४ हजार १ सय ४५ राजस्व संकलन भएको थियो।