चण्डीगढ अस्पतालमा नेपाली आवासीय चिकित्सकले भत्ता पाउने

चण्डीगढ अस्पतालमा नेपाली आवासीय चिकित्सकले भत्ता पाउने

नयाँ दिल्ली : भारतका सरकारी मेडिकल कलेजमा पोस्ट ग्र्याजुएटमा अध्ययन गरिरहेका नेपाली आवासीय चिकित्सकहरूले स्टाइपेन्ड (भत्ता/पकेटखर्च) पाउने भएका छन्। चण्डीगढको स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान (पीजीआई एमईआर)ले मंगलबार भत्ता दिने निर्णय गरेको छ।

संस्थानले मंगलवार जारी गरेको पत्रमा विदेशी विद्यार्थीहरूलाई समेत भारतीय विद्यार्थी सरह भत्ता उपलब्ध गराउने उल्लेख छ। चण्डीगढ अस्पतालमा ६२ जना आवासीय नेपाली चिकित्सक अध्ययनरत छन्। संस्थानको नियमअनुसार विद्यार्थीहरूले ९० हजारदेखि १ लाख ५ हजार भारतीय रुपैयाँ मासिक भत्ता पाउनेछन्।

चण्डीगढ संस्थानले भत्ता उपलब्ध गराउने विषयमा १२ सेप्टेम्बर २०१८ मा नै निर्णय गरिसकेको थियो। उतिबेलाको पत्रमा ‘भारत सरकारको स्वीकृतिका आधारमा निर्णय गरिने’ भनेर लेखिएको थियो। त्यसैलाई आधार मानेर यो लागू गरिएको थिएन। अहिले ‘संस्थानको सञ्चालक समितिले स्वीकृत गरेको निर्देशनअनुसार उपलब्ध गराइने भनेर लेखिएको हुँदा भत्ता पाउने निश्चित भएको पीजीआईएमईआरमा एमडी तेस्रो वर्षमा अध्ययनरत विपिन यादवले स्पष्ट पारे।

‘संस्थानका निर्देशक निकै सहयोगी हुनुहुन्छ तर भारत सरकार र संस्थानबीचको प्रशासकीय समन्वय र बुझाइमा फरक परेको हुँदा यो निर्णय लागू हुन सकेको थिएन। हामीले भारत सरकारका स्वास्थ्य सचिव र नेपालका स्वास्थ्य मन्त्रीहरूसँग पनि भेट गरेर समस्या अवगत गराएपछि यो निर्णय आएको छ। हाम्रो प्रयास सफल भएको छ।’ यादव संस्थानका आवासीय चिकित्सक संघका कार्यकारी सदस्य समेत हुन्। यो निर्णय कार्यान्वयन हुँदा गत वर्षको निर्णय भएको समयावधिदेखि नै लागू हुनुपर्ने हुन्छ।

प्रतीक्षामा दिल्ली एम्स र पण्डिचेरीका विद्यार्थीहरू

चण्डीगढको यो निर्णयपछि एम्स, दिल्ली र जवाहरलाल इन्स्टिच्यूट अफ एजुकेशन एण्ड रिसर्च (जेपीआइएमईआर),पण्डिचेरीका विद्यार्थीहरू पनि उत्साहित भएका छन्। चण्डीगढ संस्थानले निर्णय गरेपछि आफूहरू पनि आशावादी रहेको एम्सका सागर पौडेलले बताए। पौडेलका अनुसार एम्स अस्पतालमा ५५ देखि ६० को संख्यामा अध्ययनरत चिकित्सकहरू छन्।

उता पण्डिचेरीका संस्थानका सुमन रस्तोगीका अनुसार प्रशासनले विदेशी विद्यार्थीहरूको तथ्यांक संकलन गरेको अनौपचारिक जानकारी पाएको बताए। ‘तर त्यो एक वर्षअघिको कुरा हो, अहिले त केही कुरा आएको छैन’, जुनियर आवासिय चिकित्सक संघका विदेशी नागरिक प्रतिनिधि समेत रहेका रस्तोगीले भने। पण्डिचेरी संस्थानमा नेपालका २२ आवासीय चिकित्सक रहेको रस्तोगीले जानकारी दिए।

अहिले नेपाली विद्यार्थीहरूले भत्ता त परै जाओस् चिकित्सकले पाउने न्यूनतम मेडिकल सुविधा अर्थात् इम्प्लोइ हेल्थ सर्भिसेज(ईएचएस) समेत नपाइरहेको अवस्था छ।

भारत सरकारले तीनवटै संस्थानमा भत्ता उपलब्ध गराउने निर्णय यसै वर्षदेखि लागू गर्ने आश्वासन दिएको स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बताएका थिए। विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनमा सहभागी हुन दिल्ली आएका यादवले गत शुक्रवार भारतका स्वास्थ्यमन्त्री डा. हर्षवर्धनसँगको भेटमा यस्तो आश्वासन पाएको अन्नपूर्णलाई बताएका थिए। उनले चण्डीगढ अस्पतालका लागि निर्णय भइसकेको जानकारी पाएको बताएका थिए। अब निर्णय कार्यान्वय गर्ने पालो एम्स र जेपीआईएमईआरको रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.