ओलम्पिक कमिटीको निर्वाचन शनिबार

ओलम्पिक कमिटीको निर्वाचन शनिबार

काठमाडौं : सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचनका लागि नयाँ मिति घोषणा गरिएको छ । नयाँ घोषित मितिअनुसार एनओसीको निर्वाचन आगामी शनिबार हुनेछ । निर्वाचन ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा हुनेछ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठका अनुसार निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)को पर्यवेक्षणमा हुन लागेको हो । यसअघि गत भदौ २० गते एनओसीको निर्वाचन गर्ने भनी मिति घोषणा गरिएको थियो । तर, राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको निर्वाचन रोक्न माग गर्दै भदौ १७ गते कमलबहादुर चित्रकारले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

नेपाल टेबुलटेनिस संघका पूर्वमहासचिवसमेत रहेका चित्रकारले सरोकारवाला १२ जना व्यक्ति र संस्थालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले तत्कालका लागि एनओसीको निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले भदौ २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

तर, भदौ २२ गते दुवै पक्षको बहस सुनेपछि सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय सुनाएको थियो । त्यसपछि एनओसीको निर्वाचन गर्ने बाटो खुलेको हो । एनओसी निर्वाचनका लागि उम्मेदवारी दर्तालगायतका प्रक्रिया यसअघि नै पूरा भइसकेको छ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी कोषाध्यक्षमा रतन टण्डन र उपमहासचिवमा पीताम्बर तिमल्सिना निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी पाँच उपाध्यक्ष पदका लागि आठ, एक महासचिवका लागि दुई, तीन सचिवका लागि चार र सात सदस्यका लागि आठजनाले उम्मेदवारी दिएका छन् ।

एनओसीको नयाँ विधानअनुसार १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । निर्वाचनमा विभिन्न २७ वटा राष्ट्रिय संघका प्रतिनिधिले मतदान गर्ने व्यवस्था छ । अध्यक्ष पदका उम्मेदवार जीवनराम र उमेशलाल दुवै नेकपाका नेता हुन् । जीवनराम प्रतिनिधिसभाका सांसद र नेकपाका काठमाडौं उपत्यका इन्चार्ज पनि हुन् । उमेशलाल पुष्पलाल र सहाना प्रधानका छोरा हुन् ।

उमेशलाल एनओसीको अघिल्लो निर्वाचनमा जीवनरामसँगै पराजित भएका थिए । जीवनराम स्की संघ र उमेशलाल हक्की संघका अध्यक्ष हुन् । मताधिकार प्राप्त २७ जना प्रतिनिधिमध्ये एनओसीका पूर्वअध्यक्ष एवं नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधान एकजनाले मात्र कुनै पनि पदमा उम्मेदवारी दिएका छैनन् । लोकभक्त राणाको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले एनओसीको निर्वाचन गराउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.