मेलम्चीमा आन्दोलन जारी

मेलम्चीमा आन्दोलन जारी

सिन्धुपाल्चोक : मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेर गएको इटालियन कम्पनी सीएमसीसँग लिन बाँकी भुक्तानी सरकारले दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका व्यवसायी र मजदुरले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

भदौ १९ गते आन्दोलनकारीमाथि गोली चलाएलगत्तै २० गतेबाट स्थानीय प्रशासनले निषेधाज्ञा लगाए पनि आपूर्तिकर्ता र मजदुरले आन्दोलन जारी राखेका हुन् । शान्तिपूर्ण आन्दोलनका क्रममा आयोजनाको मुहान क्षेत्र अम्बाथान जान लागेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अ श्रुग्यास र रबरको गोली प्रहार गर्दा दुई मजदुर घाइते भएका थिए । बिहान १० बजेदेखि कार्यालय समयभरि आयोजनाको काम भइरहेको क्षेत्र र साइड कार्यालय आसपास निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञापछि बिहान १० बजेअघि आयोजनाको साइड कार्यालयअगाडि नियमित धर्ना बस्दै आएको संघर्ष समितिका संयोजक विष्णुमणि आचार्यले जानकारी दिए । नियमित धर्नाका अलावा बुधबार मेलम्ची बजारमा कलाकारसहित आयोजनाविरुद्ध प्रदर्शन गरिएको थियो । आयोजनापीडित पछिल्लो समय ऐक्यबद्धता र जनमत बटुल्ने अभियानमा लागेका छन् । ‘हामीले सुरु गरेको आन्दोलनसँगै आयोजनाका अन्य कमजोरी पनि बाहिर आउनुपर्छ,’ आचार्यले भने, ‘पानी लगेपछिको रोयल्टी, मुआब्जालगायत समस्या सबै एकसाथ अघि बढाउन हामी आग्रह गर्दछौं ।’

प्रशासनले निषेधाज्ञा जारी गरेर आयोजनाको काम अघि बढाउने प्रयास गरे पनि आन्दोलनकारीले आयोजनाका कर्मचारी, नयाँ ठेकेदार कम्पनी सिनो हाइडोलगायतलाई आफूहरूको समस्या समाधान नभएसम्म कार्यक्षेत्रमा नआउन चेतावनी दिएका छन् ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले मेसिन उपकरण भाडामा दिने, निर्माण सामग्री आपूर्ति गर्ने व्यवसायी एवं कर्मचारी र मजदुरलाई भुक्तानी नदिई नौ महिनाअघि एकतर्फी ठेक्का तोडेर गएको थियो । इटालियन कम्पनी फर्किएदेखि नै व्यवसायी आफूहरूको पाउनुपर्ने भुक्तानी आयोजनाले उपलब्ध गराउनुपर्ने माग राख्दै आएका छन् । इटालियन कम्पनीले कर्मचारी, व्यवसायी र पेटी ठेक्का पाउने कम्पनीलाई गरी एक अर्ब ६७ करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले जनाएको छ ।

आफूहरूको भुक्तानी नपाए आयोजनाले छनोट गरेको चिनियाँ कम्पनी सिनो हाइड्रोलाई आयोजनाको काम गर्न नदिने भन्दै भदौ ५ गते प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई संघर्ष समितिको तर्फबाट ज्ञापनपत्र बुझाएका थिए । आयोजनाले सीएमसीको चार अर्ब रुपैयाँ धरौटी जफत गरेको छ । आयोजनाले जफत गरेको धरौटीबाट आफूर्तिकर्ता र मजदुरलाई आयोजनाले भुक्तानी गर्न सक्ने प्रावधान भएकाले बाँकी भुक्तानी आयोजनाबाट पाउनुपर्ने आन्दोलनकारीको माग छ । आयोजनाले भने तिर्न बाँकी भुक्तानीको जिम्मेवार सीएमसी नै हुने भन्दै पन्छने गरेको आन्दोलनकारीको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.