चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा गिरी
काठमाडौं : सरकारले राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा. श्रीकृष्ण गिरिलाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले डा. गिरीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चिकित्सासम्बन्धी शिक्षण संस्थाको नियमन गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउनका लागि आयोगको स्थापना गरिएको हो । आयोगको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ ।
चिकित्सा क्षेत्रमा विशिष्ट योगदान गरेका चिकित्सकमध्येबाट सरकारले डा. गिरीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । बरिष्ठ अर्थोपेडिक सर्जन समेत रहेका डा. गिरी राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सिफारिस समितिले डा. गिरीलाई तेस्रो नम्बरमा सिफारिस गरेको थियो । समितिले डा. सुरेन्द्र शेरचन र डा. शम्भुकुमार प्रहारीलाई क्रमशः पहिलो र दोस्रो नम्बरमा सिफारिस गरेको थियो।