विश्‍वभर आज : चिनियाँ सीमामा भारतीय सेनाको अत्याधुनिक हतियार, सिरियामा सेना थप्दै अमेरिका

विश्‍वभर आज : चिनियाँ सीमामा भारतीय सेनाको अत्याधुनिक हतियार, सिरियामा सेना थप्दै अमेरिका

भारतमा डुंगा दुर्घटना हुँदा १२ तिर्थालुको मृत्यु

नयाँदिल्ली : भारतको मध्यप्रदेशस्थित तिर्थयात्रीहरुले भरिएको डुंगा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार बिहान साढे ४ बजे दुर्घटना भएको थियो ।

भोपालस्थित एक तलाउमा हिन्दूहरुका भगवान गणेशको मूर्ति विसर्जन गर्न जाँदै गर्दा २० भन्दा धेरै यात्रु भएको डुंगा पल्टिएको हो । प्रदेश सरकारका सञ्चारमन्त्री पिएस शर्माका अनुसार हिन्दूहरुको आस्थाको चाड गणेश चतुर्थी मनाउने क्रममा तिर्थालुहरु तलाउमा गणेशको प्रतिमा सेलाउन गएका थिए ।

सोमालियामा २० लाख मानिस भोकमरीको जोखिममा


सोमालिया : सोमालियामा २० लाख जति मानिस भोकमरीमा पर्ने खतरा रहेको बताइएको छ । २०११ देखि सोमालियामा यस्तो खतरा निम्तिएको भन्दै संयुक्त राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो ।

यस्तो समस्याबाट उम्किन राष्ट्रसंघले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्क लोकले सोमालिया भ्रमणको अन्तिम दिन यसबारे तथ्य पेश गरेका थिए । दशकौं लामो द्वन्द्व र लगानीको अभावका कारण सोमालिया यस्ता मानवीय संकटसँग जुध्न सक्षम नरहेको उनको भनाइ छ ।

भारतीय पूर्वमन्त्रीलाई यौन शोषण आरोपमा ७ घण्टा सोधपुछ

नयँदिल्ली : भारतका पूर्व गृहराज्य मन्त्री स्वामी चिन्मयानन्दसँग करिब ७ कण्टा लामो सोधपुछपछि विशेष अनुसन्धान टोलीले उनको दिव्य आश्रम बन्द गरिदिएको छ ।
शुक्रबार अनुसन्धान टोली पीडित छात्रालाई लिएर उनको निवासमा समेत पुगेको थियो ।

चिन्मयानन्दमाथि उनको एसएस ल क्याम्पसकी एक छात्राले यौन शोषणको आरोप लगाएकी छन् । भारतीय मिडियाका अनुसार चिन्मयानन्द वाहेक अनुसन्धान टोलीले बिहीबार राति उत्तर प्रदेश प्रहरीसँग पनि यौन शोषण केससँग जोडिएका प्रश्न सोधेको थियो ।

चिन्मयानन्दका वकिलले भने अदालतको फैसलालाई सम्मान गर्ने प्रतिक्रिया दिएका छन् । चिन्मयानन्दले केही छात्राहरुलाई यौन शोषण गरेको भन्दै भिडियो सहित एक युवतीले गत अगस्टमा आरोप लगाएकी थिइन् ।

चिनियाँ सिमानामा अमेरिकी अत्याधुनिक हतियार राख्दै भारतीय सेना

नयाँदिल्ली : भारत र चीनको सीमाक्षेत्र अरुणाञ्चलस्थित अमेरिकी अत्याधुनिक हतियार राख्ने बताइएको छ । विवादित क्षेत्र लद्दाखस्थित भारतीय सेनाले चिनुक हेभी लिफ्ट हेलिकप्टर, एम ७७७ अल्ट्रालाइट होविटजर जस्ता अमेरिकी अत्याधुनिक हतियार तैनाथ गर्ने तयारी गरेको हो ।

हालै भारतीय र चिनियाँ सेनाबीच भीडन्त भएपछि भारतबाट यस्तो योजना सार्वजनिक भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । ‘इकोनोमिक टाइम्स’ का अनुसार भारतले अरुणाञ्चलस्थित सीमा क्षेत्रमा सैन्य अभ्यास गर्ने तालिका समेत बनाएको छ । यसअघि पनि पटक पटक चिनियाँ सेना र भारतीय सेनाबीच दोहोरो भिडन्त भइसकेको छ ।

सिरियामा १ सय ५० सैनिक तैनाथ गर्दै अमेरिका


वासिङ्टन : अमेरिकाले सिरियाको उत्तरपूर्वी क्षेत्रस्थित १ सय ५० सैनिक पठाउने तयारी गरेको छ । अमेरिकी रक्षा मन्त्रालयले त्यहाँ टर्कीस सुरक्षा फौजसँग स्थल गस्तीका लागि सैनिक पठाउने तयारी गरेको हो । डोनल्ड ट्रम्पले गत वर्ष सिरियाबाट सैनिक फिर्ता बोलाउने घोषणा गरे पनि यस पटक अस्थायी रुपमा गस्तीका लागि सैनिक पठाउन लागेको बताइएको छ ।

'प्लम्बर'लाई अपहरण गरेको अभियोगमा साउदी राजकुमारीलाई सजाय

पेरिस : फ्रान्समा एक कामदारलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा साउदी राजकुमारीलाई यहाँको अदालतले जेलसजाय र ११ हजार डलर जरिवाना तोकेको छ ।

साउदी राजाकी छोरी हास्सा बिन्त सलमानले अंगरक्षकलाई लगाएर पेरिसस्थित अपार्टमेन्टमा एक प्लम्बरलाई कुटपिट गराएको भन्दै मुद्दा दायर भएको थियो । ती व्यक्तिले आफूलाई बाँधेर यातना दिइएको पनि आरोप लगाएका थिए । मुद्दापछि राजकुमारीलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।

इजिप्टका ती नागरिकले आफूलाई घण्टौँसम्म थुनेर कुटपिट गराएको आरोप लगाएका थिए । २०१८ मार्चमा यस्तो घटना भएको भन्दै मुद्दा अदालतमा पुगेपछि राजकुमारी हास्सालाई पक्राउ पूर्जी जारी गरिएको हो । तर उनीमाथिको फैसला शर्त सहित तत्कालै लागु नहुने गरी गरिएको छ ।

ट्युनिसियाका नेता अस्पतालमा


ट्युनिसिया : ट्युनिसियामा हटाइएका राष्ट्रपति जीन एल अबिदिन बेन अली अचानक अस्पताल भर्ना भएका छन् । २०११ देखि बन्दी जीवन बिताउँदैआएका उनको स्वास्थ्यमा संकट आएपछि अस्पतालमा पुगेका थिए ।

मिडियाहरुका अनुसार उनी क्यान्सरबाट पीडित छन् । उनको वकिलको हवाला दिँदै अन्तर्राष्ट्रिय मिडियाले उनको स्वास्थ्य अवस्था नाजुक रहेको उल्लेख गरेका छन् । उनको स्वास्थ्यबारे पहिलो पटक यसरी सार्वजनिक रुपमा समाचार आएको हो । शक्तिमा रहेका नेता जीन २०११ मा अपदस्थ भएका हुन् ।

क्युवामा अधिकांश पत्रकारको ट्वीटर एकाउन्ट बन्द


क्युबा : ट्वीटर कम्पनीले क्युबामा नियम उल्लंघन गरेको भन्दै धेरै पत्रकार सहित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको एकाउन्ट बन्द गरिदिएको छ । ट्वीटर एकाउन्ट बन्द हुनेमा अधिकांश सरकारी मिडियाका पत्रकार छन् ।

उनीहरुले ट्वीटरको नियम उल्लंघन गरेको भनिए पनि कसरी, कुन ठाउँबाट भनी ट्वीटरले यकिन गरेको छैन । यसरी प्रतिबन्ध लगाइनेमा कम्युनिस्ट पार्टीका नेता राउल क्यास्त्रोकी छोरी सहित अन्य कार्यकर्ता समेत छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.