‘गफ लाउँदै सोल्टी’

‘गफ लाउँदै सोल्टी’

काठमाडौं : अहिले लोकदोहोरीको बजार छ। तर, यो बजारमा आफ्नो छुट्टै पहिचान बनाउने गायक÷गायिका कमै छन्। गुल्मेली गायिका सुशीला गौतम लोकदोहोरीमा आफ्नो पृथक् पहिचान बनाउने गायिकामध्येकी एक हुन्।

तीजको अवसरमा भएको कार्यक्रम सकाएर उनी भर्खरै रसियाबाट फर्केकी छन्। रसियाबाट आएकै दिन सीधै एअरपोर्टबाट बुटवलको कार्यक्रममा सहभागिताले उनको व्यस्तता झल्काउँछ। यही धपेडीले गलेकी छन् उनी। भन्छिन्, ‘अब त तंग्रिनैपर्छ क्यारे। अब दसैंको उपलक्ष्यमा हुने कार्यक्रमको चटारो पनि त छ।’

एक दशकदेखि गायनमा क्रियाशील सुशीलाले विगत पाँच वर्षदेखि प्रत्येक वर्ष तीज गीत पनि ल्याउने गरेकी छन्। यस वर्ष उनले ‘लेउ लायो बोल’को गीत बजारमा ल्याइन्। यस गीतमार्फत ‘छायाँछवि म्युजिक तीज अवार्ड’मा उनले उत्कृष्ट गायिकाको अवार्ड हात पारिन्। ‘गफ लायो सोल्टीले’ बोलको उनको गीत सुनेर कतिले सोल्टी भनेर पनि बोलाउँछन्।

भन्छिन्, ‘मेरो केमेस्ट्री गायक खुमन अधिकारीसँग मिल्छ। उहाँसँग गाएका सबै गीत हिट भएका छन्।’ ‘पञ्चेबाजा’को गीतमा गायक अधिकारीसँग बेहुला र बेहुली बनेर खेलिएको म्युजिक भिडियो पनि निकै रुचाइयो। ‘अनि वास्तविक दुलही कहिले बन्ने नि ? ’ प्रश्नमा उनी थोरै लजाउँछिन्, ‘होलटाइमर गायनले यस विषयमा सोच्ने फुर्सद नै छैन।’

सुशीलाका गीत संख्या त्यति धेरै छैन। ३० गीत आएका छन् उनका। यी सबै लोकदोहोरी नै हुन्। उनले गाएका प्रायः सबै गीतमा कि शब्द कि लय उनकै छ। यसरी गीतकारको पनि पहिचान बनाउन तल्लीन छिन् उनी। लेखनमा रुचिको कारण खुलाउँछिन्, ‘सानैदेखि गीत सुन्ने बानी थियो। मन परेको भाका टिप्थँे। ती भाका पछ्याउँदै आफ्नो मौलिक शब्द मिलाउँदै गीत लेख्न कोसिस गर्थें। यसरी मेरा धेरै डायरी भरिएका छन्।’ नजानिँदो पाराले उनी गीतकार पनि भइन्। युट्युबले गर्दा गीत सुन्नेभन्दा बढी हेर्ने बनेको छ। ‘आफैंले गीत लेखेपछि कस्तो दृश्य चाहिन्छ, परिकल्पना गरिँदो रहेछ। यसले नृत्य निर्देशकलाई पनि सघाउँछ’, सुशीला भन्छिन्।

सुशीला मोडलिङमा पनि जम्दै गएकी छन्। उनले आफूले गाएका १० वटा गीतको भिडियोमा मोडलिङ गरेकी छन्। मोडलिङले गायनमा डिस्टर्व गर्दैन र ? भन्ने प्रश्नमा उनको भनाइ छ, ‘एउटा राम्रो गीत एरेन्ज हुन निकै समय लाग्छ। सबै गीत तयार भएपछि छायांकनका लागि जाँदा बरु मुड फ्रेस हुन्छ। यसले गायनमा असर गर्दैन।’

गायिका सुशीलाले आफ्नै परिवारका सदस्यलाई पनि आफूले गाएका गीतमा अभिनय गराएकी छन्। उनले आफ्नै बाबा, आमा, फुपूलाई पनि अभिनय गराइसकिन्। परिवारकै सदस्यलाई गीतमा अभिनय गराउन किन यति धेरै मोह ? उनको प्रष्टीकरण छ, ‘यसै वर्ष मेरा बाबा बिते। फुपू पनि बितिसकिन्। उहाँहरूको न्यास्रो लाग्यो भने ती भिडियो हेरेर मन बुझाउँछु। उहाँहरू बाँचिरहेझैं लाग्छ।’ यसरी आफन्तका सम्झना जीवन्त राख्न पनि उनले भिडियोलाई गतिलो माध्यम बनाएकी रहिछन्।

उनले आफ्नै ‘सुशीला गौतम च्यानल’को युट्युब बनाएकी छन्। कुनै कम्पनीलाई निःशुल्क गीत दिएर मोटाउन दिनुभन्दा हरेक गायक गायिकाको आफ्नै च्यानल हुनुपर्ने उनको ठहर छ। तर युट्युबले हरेक व्यक्तिलाई कलाकार बनाइदिएको छ। उनी हाँस्दै भन्छिन्, ‘नेपालमा दर्शकभन्दा बढी कलाकार हुन्छन् कि भन्ने डर छ।’

सुशीलाले करिब ६ वर्ष काठमाडौंमा लोकदोेहोरी साँझमा गीत पनि गाइन्। कार्यक्रमका लागि उपत्यकाबाहिर तथा देशबाहिर पनि गाइरहनु पर्दा दुई वर्षयता लोकदोहोरी साँझमा गाउन छोडेकी छन्। यी लोकदोहोरी साँझले पनि लोकगीत फस्टाउन धेरै मद्दत गरेको उनको बुझाइ छ। त्यहाँ गाउने खासगरी गायिकाहरूको पारि श्रमिकदेखि यौन शोषण हुने घटनाबारे उनको टिप्पणी छ, ‘आफ्नो इमानमा बस्नु पर्‍यो। त्यसपछि त कसैले खोट लाउन सक्दैन।’ उनले पारि श्रमिकमा ठगिनु परेको, यौन दुव्र्यवहार भोग्ने अवस्था आइनपरेको बताइन्।

उनको ‘पाहुना’ एल्बमको गीत राप्ती म्युजिक अवार्डको ‘टप ५’मा मनोनयनमा परेको छ। ‘रातो भाले’, ‘माइतीको माया’, ‘जवानीले ढुनुमुनु बनायो’, ‘माली गाई भीडमा छ’, ‘चर्चा धेरै भो’लगायत उनका गीत हिट छन्। पञ्चेबाजाको ‘माइतीको माया’ बोलको गीतको २२ लाख भिअर्स छन्।

बुवा बितेपछि उहाँको सम्झनामा गीत निकाल्ने सोँचमा छिन् सुशीला। यसको भिडियोमा सपरिवार समेट्ने योजना छ उनको। उनको गुल्मीको चन्द्रपुर गाउँपालिका–७, शान्तिपुर गाउँमा हरेक वर्ष बाला चतुर्दशीमा निकै ठूलो चक्रेश्वर मेला लाग्छ। यहाँ हरेक वर्ष देशका ठूला कलाकार आफ्ना प्रस्तुति दिन गइरहन्छन्। ती कलाकारको ‘हाई हाई’ देख्दा सुशीलालाई लाग्दो रहेछ, ‘हातमा माइक समाएर तिनका जस्तै मैले पनि प्रस्तुति दिन पाए।’ हो, यही सपनाले नै अहिले आफूलाई गायनमा तानेको उनको बुझाइ छ।

उनलाई रंगीचंगी लुगाभन्दा एउटै प्लेन कलरको लुगा मन पर्छ। बाहिर निस्किँदा हल्का लिपस्टिक लगाउन मन पराउँछिन्। ‘म्याक’को लिपस्टिक, ‘गुसी’ ब्रान्डको ब्याग, ‘डियो’को स्कुटी उनको मन परेका ब्रान्ड हुन्। अहिले ‘प्लेजर’को बा.६७ प १७०७ नम्बरको स्कुटी चढिरहेकी छन् उनी। उनलाई ‘क्रेटा’ गाडी चढ्ने रहर छ। तर कलाकारको कमाइ सोेचेजस्तो छैन भन्छिन् उनी।

फुर्सदमा अग्रजहरू बिमाकुमारी दुरा, शर्मिला गुरुङलगायतका गीत सुन्दै बस्ने उनी दिमागमा फ्याट्टै कुनै भाका आए डायरीमा टिप्न बसिहाल्छिन्। सानोतिनो कारणले रुँदिनन् उनी। न त अति खुसीको कुरामा दिल खोलेर हाँस्छिन्। थोरै मुस्काए पुग्छ। सायद ‘रिसाए नि आफ्नै’ भन्ने मान्छे नभएर पो हो कि ? ‘जवानीले ढुनुमुनु बनायो’ बोलको गीत गाउने यी ‘गफ लाउने सोल्टी’लाई कसले पो आँखा लाउने हो ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.