शक्तिको आडमा जग्गा कब्जा

शक्तिको आडमा जग्गा कब्जा

बुटवल : रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको हो। पूर्वराज्यमन्त्री अब्दुल रज्जाकका स्वकीय सचिव विशाल तामाङले ४ बिघा ९ कट्ठा ६ धुर जग्गा दर्ता गरेको भेटिएको छ।

रुपन्देहीको सियारी गाउँपालिका–१ चिल्हियाको उक्त जग्गा चिल्हिया माविले भोगचलन गर्दै आएको थियो। विद्यालयले भोगचलन गरेको जग्गा एकाएक व्यक्तिका नाममा सरेको भेटिएपछि सबै आश्चर्यमा परेका छन्। यो जग्गाको मूल्य आठ करोडभन्दा बढी छ। मालपोत कार्यालयको अभिलेख अनुसार कित्ता नम्बर ४५ को उक्त जग्गा ‘निर्णयानुसार’ भन्दै तामाङको नाममा सारिएको छ। भैरहवा मालपोत कार्यालयबाट २०७१ माघ १८ गते उक्त जग्गा तामाङको नाममा सारिएको छ। मालपोतको       श्रेस्तामा मिसिल नं. २८ बाट विशाल तामाङको नाममा जग्गा नामसारी भए पनि मिसिल भने गायव छ। मालपोतका उच्च अधिकारी फाइल गायवप्रति बेखबर छन्। नापी र मालपोतको फिल्डबुकमा भने उक्त जग्गा ऐलानी नै छ। मिसिल गायव भएपछि कुन निकायको निर्णयअनुसार जग्गा नामसारी भएको हो त्यो भन्ने खुलेको छैन। जग्गाधनी तामाङले भने जग्गा कसरी आफ्नो नाममा आयो भन्ने बताउन चाहेनन्। तामाङ देवदह नगरपालिका केरवानीवासी हुन्।

उनले कांग्रेस रुपन्देही सभापतिसमेत रहेका पूर्वराज्यमन्त्री रज्जाकका स्वकीय सचिव भइ काम गरेका थिए। अहिले भने उनी ठेक्कापट्टा गर्छन्। पालिकाभित्रको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएपछि खोजी सुरु गरिएको छ। गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले व्यक्तिको नामको जग्गा फिर्ता गर्न पहल थालिएको बताए। ‘यसमा धेरै चलखेल देखिएको छ’, उनले भने, ‘हामीले प्रमाण जुटाएर फिर्ता प्रक्रिया थाल्नेछौं।’

रुपन्देहीमा सोही समयतिर कम्तिमा पाँच स्थानमा त्यस्तै प्रकृतिका जग्गा व्यक्तिको नाममा गरिएको कर्मचारीहरू बताउँछन्। मालपोतका सूचना अधिकारी ईश्वरी अर्यालले जग्गाका कागजात खोजी भइरहेको बताए। रुपन्देहीकै मैनहियामा पनि त्यस्ता अरु जग्गा पनि व्यक्तिको नाममा गरिएको बताइएको छ। चिल्हिया गाविसका तत्कालीन सचिव केशव भट्टराईले गाविसबाट कुनै सिफारिस नभएकाले मन्त्रिपरिषद् बैठकको निर्णयानुसार हुनसक्ने बताए।

‘जग्गा विद्यालयले उपयोग गरेको थियो, वन क्षेत्र बनाउन वृक्षारोपणसमेत गरिएको छ’, उनले भने, ‘गाविसले तत्कालीन समयमा कुनै सिफारिस दिएको छैन।’ शक्तिको आडमा सरकारी जग्गा नामसारी भएको भन्दै चौतर्फी विरोध गरिएको छ। उक्त जग्गामा नदीजन्य पदार्थ उत्खनन् गरेर राखिएको छ। गाउँपालिकाले सरकारी जग्गा भन्दै बोर्ड नै गाडेको छ। सियारीकै भर्थापुरमा ३९ बिघा सरकारी जग्गामा कित्ताकाट गरी भागवण्डा गरिएको छ। मालपोतबाट वैधानिक पुर्जा नबनाए पनि दलालले जग्गा बाँडफाँड गरेका हुन्।

सरकारी जमिन आसपासका पुर्जावाल सधियारसहित दलालले कित्ताकाट गरेको सियारी गाउँपालिका सार्वजनिक जग्गा व्यवस्थापन समितिका संयोजक झपेन्द्र अर्यालले बताए। ‘२०६३ सालमा करिब ३५ वटा कित्ता बनाएर जग्गा बाँडिएको छ’, उनले भने, ‘सरकारी जग्गामा होटल तथा घरहरु निर्माण गरिएका छन्।’ यो जग्गा बालुवाखानीसमेत हो। नदिउकास क्षेत्रमा लाखौंको बालुवा उत्खनन गर्न सकिने उनले बताए।

रुपन्देहीमा सरकारी जग्गा नामसारी गर्ने गिरोह नै सक्रिय छ। त्यस्ता गिरोह राजनीतिक दलका कार्यकर्ता र ठेकेदार धेरै छन्। रुपन्देहीको भैरहवा–लुम्बिनी सडकमा करोड बढी मूल्य पर्ने सरकारी जग्गाको किर्ते पुर्जा बनाई भूमाफियाले हत्याउन खोजेको भेटिएको छ। जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा जग्गाको किर्ते लालपुर्जासहित आवश्यक कागजपत्र तयार पारेर बिक्री गर्न लाग्दा घटना बाहिर आएको हो।

साविक सेमरी गाविस–९ ‘ख’ (हाल मायादेवी गाउँपालिका–४) को कित्ता नम्बर ५२ को २ बिघा तीन कट्ठा १ धुर क्षेत्रफल जग्गा भूमाफियाले बिक्री गर्न थालेका हुन्। यो भैरहवा–लुम्बिनी सडकखण्डसँगै जोडिएको छ। यो जग्गाको बजार मूल्य करोडौं रुपैयाँ छ। गुलाम हैदर र जैनुल मु. कुजडाको संयुक्त नाममा रहेको देखिने लालपुर्जामा साविक सेमरी गाविस–९ ‘ख’ को कित्ता नम्बर ५२ को २ बिघा ३ कट्ठा १ धुर जग्गाको जग्गाधनी रहेको उल्लेख छ। पुर्जामा उनीहरूको ठेगाना सिद्धार्थनगर नगरपालिका–४ उल्लेख छ।

मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष धर्मपाल लोधले चलानी नम्बर १७९ बाट ०७५ असोज २८ गते उक्त जग्गा व्यक्तिको हो भन्दै चारकिल्ला परमाणित गरेका छन्। वडाध्यक्ष लोधले ५२ नम्बर कित्ता सरकारी भन्ने जानकारी नभएकोले आफूले उक्त जग्गाको चार किल्ला प्रमाणित गरिदिएको दाबी गरे। लोधले वडाका तत्कालीन सचिव रिन्कु हरिजनले आफूलाई फसाएको पनि दाबी गरे। चारकिल्ला प्रमाणित, तिरो तिरेको रसिद र लालपुर्जालाई आधार बनाएर भूमाफियाले जग्गा हत्याउन अन्तिम चरणमा पुगेका बेला घटना बाहिरिएको हो।

तर मालपोत कार्यालय भैरहवाको       श्रेस्तामा र नापी कार्यालयको फिल्ड बुकमा साविक सेमरी गाविस–९ ‘ख’ कित्ता नम्बर ५२ को जग्गा सरकारको नाममा छ। भैहरवा मालपोत प्रमुख कुमार आचार्यले कित्ताकाट भएर सरकारी सम्पत्तिकै रुपमा सडकलाई केही जग्गा दिए पनि ५२ नम्बर कित्ता जग्गा सरकारी नै भएको बताए। व्यक्तिको नाममा रहेको भनि देखाएका कागजपत्र नक्कली भएको आचार्यले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.