‘कुलवोट’ प्रविधिको अनुसन्धान हुँदै

‘कुलवोट’ प्रविधिको अनुसन्धान हुँदै

धनकुटा : सुन्तला, कागतीलगायत अमिला जातका फलफूल भण्डारण गर्न मिल्ने कुलवोट (चिस्यान भण्डार) प्रविधिको विकास गर्न राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेका कृषि वैज्ञानिक जुटेका छन्।

रैथाने जातका सुन्तला र तराइमा फल्ने कागतीलाई सिजनको बेला भण्डारण गरी अफसिजनमा निकाल्न मिल्ने गरी चिस्यान भण्डारण ‘कुलवोट’ प्रविधिको अनुसन्धान भइरहेको राष्ट्रिय सुन्तलाजात कार्यक्रम पारिपात्लेका वरिष्ठ वैज्ञानिक डा. उमेशकुमार आचार्यले बताए।

यो प्रविधिको परीक्षण सफल भए मध्यमस्तरका किसान लाभान्वित हुने उनले बताए। अहिले उनैको नेतृत्वमा पारिपात्ले परिसरमा यो प्रविधिको अध्ययन भइरहेको छ। रैथाने सुन्तला बढीमा तीन महिना र तराईमा फल्ने कागती बढीमा ८ महिना ताजा रूपमा बजारमा उपलब्ध हुन्छन्। बाँकी समय विदेशबाट आयात हुने गर्छ। उत्पादन भएका फलफूल बजारमा एकैपटक पुग्ने हुँदा किसानले उचित भाउ नपाइरहेको अवस्था छ।

प्रविधि सफल भए भाउ पाएपछि फलफूल बिक्री गर्दा किसानलाई बढी फाइदा पुग्ने उनले बताए। उनले भने, ‘बेसिजनमा पनि उपभोक्ताले सिजनको जस्तै स्वादका फलफूल खान पाउँछन्। यसैलाई ध्यानमा राखेर हामीले कुल स्टोरेज टेक्नोलोजीलाई सुन्तलाबाली अनुसन्धान कार्यक्रममा भित्र्याएका हौं।’

साधारण एसीले १६ डिग्रीसम्म चिस्यान बनाउँछन् भने कुलवोट प्रविधि जडानपछि तापक्रमलाई शून्य डिग्रीसम्म नियन्त्रण गरिदिन्छ। यो प्रविधिले कति तापक्रम आवश्यक पर्ने हो। त्यति नै बनाइदिन्छ। सुन्तला भण्डारणका लागि न्यूनतम ८ देखि १२ डिग्रीसम्म तामक्रम आवश्यक पर्छ भने आद्रता ८५ प्रतिशतभन्दा माथि चाहिन्छ। जुन एसीले गर्न सक्दैन।

लागतको हिसाबले कुलवोट प्रविधि मध्यमस्तरका किसानका लागि उपयोगी हुन सक्छ।

कुलवोट प्रविधि सफल भए तीनदेखि चार महिनासम्म स्वाद, आकार र गुणस्तर नबिग्रिने गरी भण्डारण गर्न मिल्छ। ‘अहिले हामी परीक्षणको क्रममा छौं। रहन्छ रहन्दैन अहिले नै भन्न सक्दैनौं’, उनले भने, ‘प्रमाणित भएको खण्डमा हामी किसानलाई सिफारिस गर्छौं।’ कुलस्टोरभित्र अहिले तराइमा फल्ने कागतीलाई परीक्षणको रूपमा प्रयोग गरिएको छ। पारिपात्ले नै भदौ महिनामा पाक्ने सुन्तलाको रूपमा विकास गरेको उन्सु जातको सुन्तलालाई स्टोरेज गरेर परीक्षण गरिनेछ।

१०÷१२ टन फलफूल कोल्डस्टोर बनाएर स्टोर गर्दा लागत महँगो पर्छ। मध्यमस्तरका किसानले यस्तो प्रविधि प्रयोग गर्न सक्दैनन्। लागतको हिसाबले सस्तो कुलस्टोरेज प्रविधि मध्यमस्तरका किसानका लागि उपयोगी हुन सक्छ। लागतको हिसाबले ३ लाखभन्दा बढी खर्च नलाग्न सक्छ। यो प्रविधिमा बढीमा २ टनसम्म स्टोर गर्न मिल्छ। यो प्रविधि पूरा गर्न ८ महिना समय लाग्ने छ।

चैतसम्म अनुसन्धान पूरा भइसक्नेछ। कृषि मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २०७३/७४ मा सुन्तला जात बालीको कुल क्षेत्रफल ४६ हजार ३ सय २८ हेक्टर छ। कुल उत्पादन २ लाख ३९ हजार ७ सय ७३ मेक्ट्रिक टन छ। अमिलो जात फलफूलको खेती विशेष गरी मध्यपहाडी क्षेत्रमा हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.