गाउँमा भालु आतंक : बालबालिका स्कुल जानै छाडे
भोजपुर : टेम्के मैयुङ गाउँपालिका- २ छिनामखु रुम्लाका फुर्तेन्जी शेर्पा निराश छन् । सुख्खाले बर्खे मकै मरेपछि पुनः हिउँदे मकै छरेर घोगा लाग्न नपाउँदै जंगली भालुले रातारात सखाप पारेपछि उनी निराश देखिएका हुन् । आफ्नो झण्डै २५ रोपनी बारीमा लगाएको मकै परिवारको एकमात्र हिउँदे बर्खा धान्ने अन्न थियो । तर उनलाई अहिले 'काम गर्ने मकै खाने भालु' को उखान मिल्दोजुल्दो भएको छ।
'दुःखले दोहोर्याएर मकै लगाए, फलाए तर घोगा भाँच्ने बेला ढोँड मात्रै बाँकी छ, 'उनले भने, 'विगतमा दुम्सीले निकै दुःख दिन्थ्यो तर यो वर्ष त भालुले बारीका सबै मकै सखापै पार्यो । यो वर्ष त अन्नको जोहो गर्नै गाह्रो हुने भो।'
स्थानीय धोद्रे जंगलबाट आएको भालुले सयौं रोपनीमा लगाएको मकै सखाप पारेपछि गाउँबासी हैरान भएका छन्। छिनामखुका रुम्ला, पञ्ची, काङटाङ, खैला, सिगानेलगायत गाउँमा जंगली भालुको आतंक बढेसँगै त्रास बढेको छ।
'गोठालो बस्न र घरमा केटाकेटीलाई छाड्न पनि डर छ। स्थानीय विसन राईले भने, 'बाघजस्तै भालु पनि उत्तिकै हिंस्रक भएकाले रुघीँरहने कुरै भएन ।बारीका मकै लतारलुतुर ढालेर सखाप पारिसक्यो।'
दुम्सीले मकै खाएको आशंकमा धोद्रे जंगलस्थित खोजी गर्ने क्रममा स्थानीयले ३ वटा भालु भेटेका थिए। गाउँमा भालु आतंक बढेपछि हिँडडुल गर्दा पनि सर्तक रहनुपर्ने अवस्था आएको स्थानीयबासी सुनाउँछन् । भालुको डरले सरस्वती आधारभूत विद्यालयका साना बालबालिका विद्यालय आउन छाडेका छन् ।
बालबालिका विद्यालय नआएपछि पढाइ नै ठप्प पार्नुपर्ने स्थिति आएको प्रधानाध्यापक रविन तामाङले बताए । भने, 'भालुको डरका कारण अभिभावकले पनि साना नानीलाई विद्यालय पठाएका छैनन् । नानीहरु नभएपछि कक्षा सुरु हुन सकेको छैन ।'
भालु नियन्त्रणका लागि स्थानीयले वडा कार्यालयमार्फत गाउँपालिकालाई निवेदन पेश गरेका छन् । सर्वसाधारणको सुरक्षाका लागि गाउँपालिकाले जिल्ला प्रशासनलाई अति सीघ्र डिबिजन वन कार्यालयमार्फत भालु नियन्त्रण गर्न पहल गरिसकेको गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए । उनले भने, 'जनताको सुरक्षाका लागि भालुलाई नियन्त्रणमा लिई सुरक्षित निकुञ्जमा प्रतिस्थापन गर्न प्रजिअलाई निवेदन गरेको छु । यदि यो प्रक्रिया ढिला भए गाउँपालिका आफैँले वैकल्पिक उपाय रोज्न बाध्य हुनेछ ।'