डेंगुबाट यसरी जोगिने
भाइबहिनीहरू, नजिकै लामखुट्टे उडेका देखेपछि ‘उ डेंगु आयो’ भन्दै तिमीहरू चिच्याउँछौ होला, हैन ? अहिले डेंगुको संक्रमण बढ्दो छ। मन्त्री, डाक्टरलाई पनि डेंगुको संक्रमण भएर ज्वरो आएको छ। तिमीहरूका साथीलाई पनि डेंगु भएको छ होला। तर तिमीहरू डेंगु ज्वरो हुनबाट जोगिनुपर्छ है।
कसले फैलाउँछ डेंगु ?
सबै लामखुट्टेले डेंगु फैलाउँदैनन्। लामखुट्टे विभिन्न जातको हुन्छ। एडिस जातको लामखुट्टेले मात्र डेंगु फैलाउने डा. विवेककुमार लाल बताउँछन्। एडिस एजेप्टाई र एडिस एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेले मात्र डेंगु फैलाउँछ।
कस्तो हुन्छ, एडिस लामखुट्टे ?
एडिस जातको लामखुट्टे खतरनाक मानिन्छ। यो लामखुट्टे सानो हुन्छ। यसका खुट्टाहरू बाँधिएको जस्तो देखिन्छ। हेर्दा कालो देखिन्छ। यसले बढी मात्रामा दिउँसोपख टोक्छ। सूर्य उदाएपछि नअस्ताउँदासम्म यसले बढी टोक्ने गर्छ। तर, कृत्रिम प्रकाश (बत्ती) बालिने भएकाले राति पनि टोक्न सक्छ।
हेर्दा सानो देखिए पनि यो लामखुट्टेले ठूलाठूला रोगको संक्रमण गराउन सक्छ। यसले डेंगुका साथै चिकनगुनिया, जिका भाइरस लगायतको रोगको संक्रमण पनि गराउन सक्छ। यो लामखुट्टे फोहोरमा बस्छ। स्थिर र सफा पानीमा अन्डा पार्छ। गमला, एसीमा समेत पानी जमेको छ भने अन्डा पार्छ।
एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ। पोथी जातको लामखुट्टेलाई फुल पार्नका लागि प्रोटिन आवश्यक पर्छ। मानिसको रगतमा प्रचुर मात्रामा प्रोटिन पाइन्छ। त्यसै कारण पोथी लामखुट्टेले मात्र मान्छेको रगत चुस्छ। भाले लामखुट्टेले बोटविरुवाको रस चुसेर जीवनयापन गर्छ।
कसरी सर्छ ?
डेंगुबाट संक्रमित एडिस नामको लामखुट्टेले रोग सार्छ। संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि मात्र यो रोग एकबाट अर्कोमा सर्छ। मानिसबाट मानिसमा सर्दैन।
डेंगु भएको व्यक्तिलाई लामखुट्टेले टोक्दा सो व्यक्तिको रगतमा भएका डेंगुका भाइरसहरू लामखुट्टेमा सर्छन्। संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग एकबाट अर्कोमा सर्छ। त्यसपछि व्यक्तिमा डेंगुका लक्षणहरू देखिन सक्छ।
डेंगुबाट संक्रमित व्यक्तिको रगत चुसेको आठदेखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ। एकपटक संक्रमित भएपछि जीवनभर संक्रमित भइरहन्छ।
के हो डेंगु ?
डेंगु एक प्रकारको भाइरसले हुने रोग हो। डेंगु भाइरसको चार प्रजाति हुन्छन्। यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। जुनसुकै उमेरका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ।
कुनै व्यक्तिलाई एक पटक डेंगु भाइरसको संक्रमण भएपछि जीवनभर त्यसै प्रजातिको डेंगु रोग लाग्दैन। अन्य प्रजातिको डेंगु रोग लाग्न सक्छ। प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक किसिमको हुन्छ।
कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि केही दिनपछि लक्षणहरू देखिन सुरु हुन्छ। धरैजसोलाई संक्रमित लामखुट्टेले टोकेको चारदेखि सात दिनभित्र विभिन्न लक्षण देखिन्छ।
लक्षण
वाकवाकी लाग्ने
बान्ता हुने
टाउको दुख्ने
आँखाको गेडी र पछिल्लो भाग दुख्ने
ढाड, जोर्नी दुख्ने
मांसपेशी दुख्ने
शरीरमा बिमिरा देखिने
नाक र गिजाबाट रक्तस्राव हुने
शरीरमा रगत जमेको चक्का देखा पर्ने
बेहोश हुने
जोगिने उपाय
लामखुट्टेको टोकाइबाट बच्ने
वरपर फालिएका टायर, बट्टा, बाल्टिन, बोतलमा पानी जम्न नदिने
शरीर ढाक्ने पुरा बाहुला भएको कपडा लगाउने
मल्हम लगाउने
सुत्दा झुल प्रयोग गर्ने
डेंगु ज्वरो आएको बेला सिटामोल खाने
प्रशस्त झोल पदार्थ खाने
के नगर्ने ?
हाफ सर्ट वा टिसर्ट नलगाउने
हाफ पाइन्ट नलगाउने
फोहोरमा नखेल्ने
लामखुट्टे बस्ने ठाउँमा नजाने
डेंगु ज्वरो आएको बेला एन्टिबायोटिक्स औषधि नखाने