पूरै गाउँ मौरीपालनमा

पूरै गाउँ मौरीपालनमा

बेनी : म्याग्दीको मंगला गाउँपालिका-३ सातबिसेका बासिन्दाले गाउँभरिनै मौरीपालन गरेका छन् । अनुकूल वातावरण, चरनको उपलब्धता, बजारको सहजता, थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने भएकाले सातबिसेका बासिन्दा व्यावसायिक मौरीपालनतर्फ आकर्षित भएका हुन् ।

सातबिसेमा ३५ घरको बसोबास छ । एउटा घरमा ४ देखि १५ घार मौरी पालेका छन् । घारको संख्या बढाउँदै लैजाने अगुवा कृषक टेकबहादुर खड्काले बताए ।

‘परम्परागत काठको मुडे घारमा घरायसी प्रयोजनका लागि मौरी पालिएको थियो’, खड्काले भने, ‘व्यावसायिक मह र मौरी उत्पादन गर्ने उद्देश्यले आधुनिक घारमा मौरीपालन गर्ने अभियान चलाएका छौं ।’

१२ वर्ष कुवेत, ३ वर्ष दुवई र १६ वर्ष भारतमा काम गरेर गाउँ फर्किएपछि खड्काले मौरीसँगै माछापालन गरेका छन् । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रममा सातबिसेलाई समेटेको छ ।

नमुना मौरीपालन समूह गठन गरेर सामूहिक मौरीपालन सुरु गरेका हुन् । मन्त्रालयको अनुदानमा कृषकलाई १२९ वटा मौरीसहितको घार वितरण गरिएको समूहका सचिव नुरबहादुर खड्काले बताए ।

स्थानीयको दुई लाख १९ हजार ३०० रुपैयाँ र मन्त्रालयको आठ लाख १२ हजार ७०० रुपैयाँ लगानीमा मौरीपालन गरिएको हो । आठ हजार रुपैयाँ पर्ने मौरीसहितको घार खरिद गर्न कृषकले प्रतिघार एक हजार सात सय रुपैयाँका दरले लगानी गरेका छन् ।

यहाँ एपी सेरेना जातको मौरी पालिएको हो । मंगला गाउँपालिकाले पनि सातबिसेलाई मौरी पकेट क्षेत्र बनाउने योजना अघि सारेको उपाध्यक्ष सिर्जना केसीले बताइन् । मौरीपालन विस्तारका लागि प्राविधिक र बजारीकरणमा कृषकले सहयोगको अपेक्षा राखेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.