भगवान बनाउने मान्छे
जीतपुर : उनको काम भगवान बनाउने। भगवान बनाएर नै उनको परिवारको जीविका चल्न थालेको वर्षौं भइसक्यो। तेस्रो पुस्ताका उनले हजुरबुवा र बुवाले गरेको पेशालाई छाड्नै सकेनन् । त्यसैले हिजोआज पनि उनी भगवानको मूर्ति बनाउनमै व्यस्त छन्।
भारत रक्सौलका २६ वर्षीय मुकेश पण्डित मूर्तिकार वर्ष दिनमा ६ महिना नेपालमै बस्छन्।विश्वकर्मा पूजा, विजया दशमी, सरस्वती पूजालगायतका चाडपर्वमा नेपाल आएर भगवान बनाउन उनी व्यस्त हुन्छन्। मुकेशको बुझाईमा उनको यो पेशा पुण्यको काम हो ।
'भगवानप्रति सबैको आस्था छ। हरेक चाडपर्वमा भगवानलाई नपुज्ने को छ ? यो हाम्रो संस्कार हो, मुकेशले भने, 'त्यसैले पनि घरआँगनमै पुगेर भगवानको प्रतिमा बनाइदिन्छु । आस्था र विश्वासको धरोहर भगवानको मूर्ति बनाउने कामलाई पुण्य ठानेको छु ।'
मुकेश दुई महिनायता बाराको जीतपुरमा व्यस्त छन् । विश्वकर्मा पूजाका लागि जीतपुर आएका उनले ४० भन्दा बढी मूर्ति तयार गरिसकेका छन् । दुई महिना लगाएर बनाएको मूर्तिलाई सिंगार गरिरहेको अवस्थामा भेटिएका मुकेश मंगलबार साँझसम्म सबै मूर्ति बिक्री गर्ने तयारीमा थिए ।
मुकेश प्रत्येक वर्ष विश्वकर्मा पूजामा जीतपुरमै आएर मूर्ति बनाउँछन् । आफूले बनाएको भगवान अर्थात् मूर्ति सबैलाई मनपर्ने उनको बुझाई छ । 'काठ, माटो र पराललाई भगवानको स्वरुपमा ढाल्न सजिलो छैन । धेरै मेहनत र समय खर्च गर्नुपर्छ , मुकेशले भने, 'मैले यहाँ आएर मूर्ति बनाउन थालेको धेरै वर्ष भयो । सबैले मन पराउने गरेका छन् ।'
करिब १५ वर्षदेखि यस पेशामा आवद्ध मुकेश सबै भगवानको मूर्ति बनाउन सिपालु छन् । उनलाई मूर्ति बनाउन अब कुनै भगवानको फोटो हेरिरहनु पर्दैन । ग्राहकले अर्डर गर्ने आकारअनुसार मूर्ति तयार पार्छन उनी।'
बुवा शिवपुजनलाई ११ वर्षको उमेरदेख मूर्ति बनाउने काममा सहयोग गर्न थालेका मुकेश त्यसयता यसै पेशामा सक्रिय छन् । मुकेशका ७० वर्षीय बुवा शिवपुजन अहिले मूर्ति बनाउन सक्दैनन् । मुकेशको दाइ राजेश पनि यही पेशाबाट जिविका चलाइरहेका छन् । राजेश नारायणघाटमा विश्वकर्मा बाबाको मूर्ति बनाइरहेका छन् ।
सानो उमेरदेखि मूर्ति बनाउने काममा सक्रिय मुकेश पेशाबाट सन्तुष्ट रहेको बताउँछन् ।मेहनत अनुसारको बचत नभएपनि पुण्यको कामबाट आफू सन्तुष्ट रहेको मुकेशको भनाई छ । मूर्ति बनाउने कलाकार धेरै नभएकाले पेशा छाड्न नचाहेको मुकेश बताउँछन् । प्रविणता तहसम्म अध्ययन गरेका मुकेशलाई पेशा छाड्ने रहर कहिल्यै लागेन् । हजुरबुवा र बुवाजस्तै यसै पेशामा सधैं सक्रिय रहने उनको इच्छा छ । थोरै रकम बचत भएपनि सन्तुष्ट रहेकाले पेशा छाड्ने सोच नआएको मुकेशले बताए।
मुकेशले विश्वकर्मा पूजा र सरस्वती पूजाका लागि बनाएको मूर्ति दुई हजारदेखि चार हजारसम्म बिक्री गर्ने गरेका छन्। दुर्गा पूजामा ५० हजारसम्मको मूर्ति बनाउँछन् उनी । ६ महिना नेपालमा बसेर मूर्ति बनाउने उनी बाँकी समय रक्सौलमै बसेर काम गर्छन् । मुकेशलाई गणेशको मूर्ति बनाउन भने निकै रुचि लाग्छ । 'गणेशजीको मूर्ति बनाउने बेला धेरै खुशी लाग्छ । हेर्दा पनि राम्रो लाग्छ,' मुकेशले हाँस्दै भने , 'कसैलाई चिनो दिनुपर्यो भने गणेशजीकै मूर्ति दिएर पठाउँछु।'