भ्याली कपको उपाधि आयोजक भ्याली क्लबलाई
दुनै, डोल्पा : डोल्पाको भ्याली कप छैटौं संस्करणको उपाधि आयोजक भ्याली क्लबले हात पारेको छ।
हरेक वर्ष हुने भ्याली कपको फाइनलमा डोल्पो भैरबी क्लबलाई एक गोलले पछि पार्दै एक लाख एक हजार आयोजक भ्यालीले हात पारेको हो। डोल्पो भैरवीले कुनै पनि गोल हान्न सकेन।
कुल १२ टिमले सहभागी भएको प्रतियोगितामा पहिलो हुनेले एक लाख एक हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन्।
फाइनल खेलको उद्घाटन गर्दै प्रदेश मन्त्री नन्दसिंह बुढा र राज्य मन्त्री धनबहादुर बुढा। फोटोः टेकबहादुर शाही/अन्नपूर्ण
भ्याली क्लबका अध्यक्ष हिक्मतबहादुर शाहीले खेलाडीलाई खेलमा निरन्तरता दिन स्थानीय स्रोतबाटै प्रतियोगितालाई नियमित सञ्चालन गरिएको बताए। 'कठिन छ, सरकारले सहयोग गर्दैन', उनले भने, 'स्थानीय क्षेत्रमा खेलकुदलाई विकास गर्न हामी लागिरहेका छौँ।'
१२ दिन चलेको प्रतियोगिताको समापन कार्यक्रममा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले आफ्नो बाल्यकाल सम्झिए। आफूलाई खेलमा रुचि भए पनि खेल्ने मैदान नपाएको भन्दै उनले खेलमैदान स्तरोन्नतीका लागि सरकारका तर्फबाट ५० लाख प्रदान गरिने घोषणा गरे।
खेलाडीहरूको मनोबल बढाउन र खेलमैदान विस्तारका लागि कर्णाली प्रदेश सरकारले २० लाख सहयोग गर्ने घोषणा गरेको उद्योग,पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले जानकारी दिए।