उदयपुरमा बाढी, ३७ परिवार विस्थापित

उदयपुरमा बाढी, ३७ परिवार विस्थापित

उदयपुर : वर्षासँगै आएको बाढी र पहिरोका कारण उदयपुरको बेलका नगरपालिका आसपासका क्षेत्रका ३७ घरपरिवार विस्थापित भएका छन्। भदौ ३० गते रातिदेखि भारी वर्षासँगै पहिरो जाँदा बेलका ६ स्थित घारे र तित्रीबोटका १० घर राई र बोटे परिवार विस्थापित भएका हुन् । त्यसैगरी- ३ को गिदेरी खोला गाउँमा पस्दा सातपत्रे र निसानटोलका २१ घर डुबानमा परेको मेयर दुर्गाकुमार थापाले जानकारी दिए । 

वर्षा नरोकिँदा ४ को सिसुवा खोलाले खोर्सानेझोर गाउँको सुरक्षाका लागि लगाएको बाँध भत्काउँदा ६ घर विस्थापित भएको थापाले जानकारी दिए । पहिरो र नदीको उच्च जोखिममा रहेका परिवार छिमेकीको शरणमा पुगेका छन् । उनीहरुको उद्धारका लागि बुधबार बिहानैदेखि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको मेयर थापाले बताए ।

पहिरोले तित्रीबोटका चुर्नलाल राईको घर पुरिसकेको छ भने जयलाल राईको आधा घर भत्काइसकेको उनले बताए । पहिरोले मानबहादुर माझीको ३ विघा खेतीयोग्य जमिन पुरेको छ भने माइक्रो हाईड्रो पावर पूर्णरुपले क्षतिग्रस्त भएको छ ।

स्थानीयका खेतीयोग्य जमिन वगरमा परिणत गर्नुका साथै सिचाईँ कुलो, बोरिङ्ग र खानेपानीमा क्षति पुगेको जनाइएको छ । शिसुवा खोलामा आएको बाढीले स्थानीयको २५ बिघा धानखेत पुरेको छ भने कटारी आसपासका क्षेत्रमा कटान गरेको वडाध्यक्ष दिपक दंगालले जानकारी दिए । 

स्थानीय नदी तथा खहरेले ९ धौरी, १ को आम्बासी, २ को धार र प्रथा खोलाले पारुहाङ्ग क्षेत्रका धानखेतीमा क्षति पुर्‍याएको छ । त्यसैगरी  ८ को बोप्ताङ्ग खानेपानी योजना, ७ र ८ पर्ने कोठुफेरी-बाग्दा, सोमबारे-मायुङ्ग्टार, लालबजार-बबला-घारे सडकका सडकमा क्षति पुगेको छ मेयर थापाले बताए ।

सडक भत्किएसँगै बिहानैदेखि आबागवन बन्द भएको छ । पहाडी क्षेत्रमा पहिरो र तराई क्षेत्रका सडकमा ठाउँ-ठाउँमा नदीले कटान गरेपछि सडक अवरुद्ध भएको हो । पहिरोले वडान ५ स्थित आधारभुत विद्यालय पोखरेमा क्षति पुर्‍याएको छ । लगातारको भेलबाढीले उदयपुरको बेलका र सुनसरीको वरहाक्षेत्र नगरपालिकाको सिमानाबाट बग्ने सप्तकोसी नदीले स्थानीयको जमिन कटान गरेको मेयर थापाले जानकारी दिए । 

सप्तकोसीले पश्चिमी क्षेत्रको चिलियामा कटान गर्दा धार परिवर्तन गर्ने सम्भावना बढेको उनले बताए । बाढी घरमा पसेपछि स्थानीय ज्यान जोगाउँदै बाहिरिएका थिए । घार खोलामा आएको बाढी गाउँ पस्दा खाद्यान्न, लत्ताकपडा केही निकाल्न नपाएको मानबहादुर माझीले बताए । उनले भने, 'रित्तो हात निस्कनु पर्‍यो, भएको खेत बगायो, ५ सुँगुर, एउटा गोरु पनि बगायो ।'
 
त्यसैगरी चौदण्डीगढी नगरपालिका ३ को कालीखोलामा आएको बाढीले को.१.च.६४२० नम्बरको मारुती भ्यान बगाएको छ । स्थानीयले भ्यानमा रहेका तीनजनालाई सकुशल उद्धार गरेका छन् भने भ्यानसमेत निकालेको प्रमुख जिल्ला अधिकारी धु्बबहादुर खड्काले बताए । 

सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका- ३ का रमानन्द साहले सञ्चालन गरेको किराना पसलमा बाढी पस्दा ६ लाख बराबरको क्षति पुगेको उनले बताए ।लगातारको विपत्तिले ठूलो क्षति पुगेको भन्दै मेयर थापाले बुधबार एक अपिल जारी गर्दै सहयोग मागेका छन् । अपिलमा भनेका छन्, ' वीपतिको घडीमा एकाअर्कालाई सामुदायिकरुपमा सहयोग गर्न र सबै विकास साझेदारलाई राहात उद्दार र पुनःस्थापनका लागि सहयोग गर्न हार्दिक अपिल गर्दछु।' उनले सहयोगी मनलाई साथसहयोग गरिदिन अपिल गरेका छन् । बाढीले बुजुलीका पोलहरुसमेत बगाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.