एक महिनामै दुई करोड क्षतिपूर्ति
काठमाडौं : वैदेशिक रोजगार पीडितले छोटो समयमै क्षतिपूर्ति पाउन थालेका छन्। वैदेशिक रोजगार विभागले भदौ महिनामा मात्रै वैदेशिक रोजगार पीडितलाई २ करोड १४ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको हो।
विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार दुई सय ९५ पीडितलाई क्षतिपूर्तिस्वरूप उक्त रकम भराइएको हो। भदौ महिनामा संस्थागततर्फ १६७ र व्यक्तिगततर्फ ४८ उजुरी दर्ता भएका थिए। भदौ महिनामा दर्ता भएका उजुरीमध्ये संस्थागततर्फ ८५ र व्यक्तिगततर्फ ४० मुद्दा फरफारक भएको महानिर्देशक भुसालले बताए। यसअघि दर्ता भएका संस्थागततर्फका १ सय ७० वटा मुद्दा पनि फरफारक भएका छन्।
विभागका अनुसार टर्कीको रोजगारीका क्रममा ठगिएका १ सय ७० जनाको क्षतिपूर्ति भराइएको हो। टर्की पीडितले मात्रै ९७ लाख रकम क्षतिपूर्ति पाएकाले अन्यभन्दा बढी क्षतिपूर्ति भराइएको विभागले जनाएको छ। यसअघि एक महिनामै एक करोडसम्म क्षतिपूर्ति भराइएको थियो।
विभागका अनुसार भदौ महिनामा ४१ मुद्दा दायर भएका छन्। २ करोड ८५ लाख बिगो दाबीसहित वैदेशिक रोजगार न्यायाधीकरणमा दर्ता भएका हुन्।