देशको नक्सा सच्याउन बेवास्ता

देशको नक्सा सच्याउन बेवास्ता

काठमाडौं : कालापानी र सुस्ताबिनाको नेपालको नक्सा सरकारले गत फागुनमा सच्यायो। अन्नपूर्णमा समाचार आएपछि आधिकारिक नक्सै पहिलो पटक सार्वजनिक गरियो। त्यसको कार्यान्वयनमा भने सरकारी निकायले बेवास्ता गरेको छ। कूटनीतिक नियोगमा गलत नक्सा भएको निसान छाप प्रयोग भइरहेको छ।

भारतस्थित नेपाली दूतावासको वेबसाइटमा रहेको निसान छापको नक्सामा कालापानी, सुस्ता गायब छ। इजरायल, ओमनलगायत देशमा रहेका नेपाली दूतावासले पनि नयाँ नक्सा भएको निसान छाप प्रयोग गरेका छैनन्। पुरानो नक्सा भारत तथा अन्य देशले बनाइदिएका थिए। कालापानी र सुस्तासमेत समेटेर नयाँ नक्सा नेपालले बनाएको छ। नापी विभागले यसको प्रचार नगर्दा गलत नक्साको प्रयोग नहटेको हो।

विभागका महानिर्देशक प्रकाश जोशी यसबारे जनचेतनाको काम गरिरहेको बताउँछन्। ‘नक्साको सम्बन्धमा टिम बनाएर काम गरिरहेका छौं’, उनी भन्छन्, ‘थाहा नभएर प्रयोग गरिरहेका छन्। त्यसैले कारबाही गरेर त कहाँ साध्य हुन्छ र ?  ’

उनका अनुसार छपाइगृहमा अनुगमनको काम भइरहेको छ। गुगलमा भएको गलत नक्साका सम्बन्धमा विभागले केही गर्न नसक्ने उनको भनाइ छ। गुलतमा राखेको नक्सामा पनि कालापानी, सुस्ता गायब छन्। गुगलबाट गलत नक्सा हटाउन कूटनीतिक पहल गर्नुपर्ने विज्ञ बताउँछन्।

सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार संविधानको अनुसूची ३ मा अंकित निसान छापमा पनि गलत नक्सा परेको छ। त्यसलाई सच्याउन सरकारले पहल गरेको छैन। संविधान बनाउने क्रममा ६०१ सभासदमध्ये कसैको पनि ध्यान नक्सामा नपर्नु लापरवाही भएको उनी बताउँछन्।

‘देशको नक्सै आवरण पृष्ठमा राखिनुपर्ने हो’, उनी भन्छन्, नभए पछाडि राखेको भए पनि हुन्थ्यो तर कतै राखिएन। अनुसूची १ मा नेपालको राष्ट्रिय झन्डासहित बनावट वर्णन राख्न हुने तर नक्सा समावेश गर्न किन नहुने ? ’ राज्य संघीयतामा गएकाले संविधानमा नक्सा हाल्नु अपरिहार्य हुने उनको भनाइ छ। संविधान संशोधन हुँदा नक्सा राख्न उनी सुझाउँछन्।

पुरानो नक्सामा १ लाख ४१ हजार १८१ वर्गकिलोमिटरभन्दा क्षेत्रफल कम थियो। कालापानी क्षेत्रमा लिपुलेकसमेत गरी ६२ वर्गकिलोमिटर क्षेत्रफल उक्त नक्सामा छैन। चीनसँगको युद्धकालदेखि कालापानीमा भारतले सेना राख्दै आएको छ। ५७ वर्षदेखि नेपाली भूभाग कब्जा गरी भारतीय सेना बसिरहेका छन्। भारतकै प्रभावमा बनाइएको नक्सा प्रयोग भइरहेको थियो। नेपाल, भारत र चीनको ‘ट्रान्जिट प्वाइन्ट’ भएका कारण कालापानी क्षेत्रको सामरिक महत्त्व छ। यस्तै, नवलपुरको सुस्तामा भारतले १४ हजार ५ सय हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ। सुस्ता र कालापानी क्षेत्र अझै विवादित रहेको जोशी बताउँछन्।

विभागका पूर्वउपमहानिर्देशक सुरेशमान श्रेष्ठले हेलो सरकारमा पुरानो नक्साको निर्वाध प्रयोगविरुद्ध उजुरी दिएका छन्। उनले विभिन्न सञ्चारमाध्यम (पत्रपत्रिका, टेलिभिजन, अनलाइन, सरकारी वेबसाइट)मा गलत नक्सा प्रयोग भइरहेको उल्लेख गरेका छन्। गलत नक्सा प्रयोग गर्नेहरुलाई कडा कारबाही गर्न परराष्ट्र, गृह, भूमिव्यवस्था मन्त्रालय र नापी विभागको ध्यानाकर्षण गराएका छन्। निसान छापमा कालापानी र सुस्ता गायब भएको नक्सा रहेको विषयमा अन्नपूर्णले समाचार प्रकाशन गरेको थियो।

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गलत नक्सा प्रयोग नगर्न सर्कुलर गरेकी थिइन्। सरकारले अनुगमन टोली गठन गरी सिंहदरबारभित्र मन्त्रालय, आयोगमा रहेका गलत नक्सा हटाएको थियो। गलत निसान छाप प्रयोग नगर्न सार्वजनिक आह्वान गरेको थियो।

कांग्रेसको लोगोमा गलत नक्सा

राजनीतिक दल देशको नक्साप्रति कति जिम्मेवार छन् ? कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानको लोगोमा भने गलत नक्सा प्रयोग भएको छ। यो नक्सामा कालापानी, लिपुलेक छैन। यसमा नेपालको ६२ वर्गकिलोमिटर क्षेत्र कम छ। कांग्रेसले लोगोमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाको तस्बिर राखेको छ।

नापी विभागका पूर्वउपमहानिर्देशक एवं नक्साविद् सुरेशमान श्रेष्ठ कांग्रेसले जागरण अभियानको अभियानको लोगोमा सही नक्सा प्रयोग नगरेको बताउँछन्। ‘यो नक्सा ठीक छैन’, उनी भन्छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा यसबारे आफू अनभिज्ञ रहेको बताउँछन्। ‘त्यस्तो नहुनुपर्ने हो’, उनी भन्छन्, ‘हामी नेपालको नक्सामा संवेदनशील छौं।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.