संरक्षित क्षेत्रमा साढे सात लाख पर्यटक : स्वदेशी पर्यटक घटे, विदेशी बढे
काठमाडौं : निकुञ्ज र संरक्षित क्षेत्र घुम्ने पर्यटकको संख्या बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा ७ लाख ६ हजार १ सय १० पर्यटक निकुञ्ज र संरक्षित क्षेत्र घुमेका छन्। जसमध्ये २ लाख ७६ हजार ७ सय ५५ स्वदेशी र ४ लाख २९ हजार ३ सय ५६ जना विदेशी पर्यटक रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ।
अघिल्लो आर्थिक वर्षको तुलनामा संरक्षित क्षेत्र घुम्ने स्वदेशी पर्यटक घटेका छन् भने विदेशी पर्यटकको संख्या बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा यस आवमा स्वदेशी पर्यटक २७ हजार ६ जनाले घटेको छ भने ३३ हजार ५ सय ६५ जनाले बढेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। संरक्षित क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रमुख गन्तव्य रहेको श्रेष्ठले बताए।
२०७४/७५ मा ६ लाख ९९ हजार ५ सय ५२ पर्यटक निकुञ्ज र संरक्षित क्षेत्र घुमेका थिए। जसमध्ये आन्तरिक ३ लाख ३ हजार ७ सय ६१ र विदेशी ३ लाख ९५ हजार ७ सय ९१ छन्। जसबाट ६४ करोड ६४ लाख राजस्व संकलन भएको थियो। २०७३/७४ मा ६ लाख ४ हजार ९१ र २०७२/७३ मा ३ लाख ८९ हजार २ सय २३ पर्यटक निकुञ्ज र संरक्षित क्षेत्र घुमेका थिए।
विभागको तथ्यांकअनुसार सबैभन्दा बढी विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा १ लाख ८१ हजार ६ सय ७९ जना आएका छन्। त्यसपछि चितवन राष्ट्रिय निकुञ्जमा १ लाख ४२ हजार ४ सय ८६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए। सगरमाथा राष्ट्रिय निकुञ्जमा ५७ हजार २ सय ९८ जना, शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जमा १२ हजार ४ सय ९६ जना, लाङटाङ राष्ट्रिय निकुञ्जमा १२ हजार १ सय ३२, बर्दिया राष्ट्रिय निकुञ्ज ८ हजार २ सय ६०, मनास्लु संरक्षण क्षेत्र ७ हजार ६ सय ५५ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए।
त्यस्तै सबैभन्दा बढी स्वदेशी पर्यटक शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए। शिवपुरीमा १ लाख ५६ हजार ३ सय २९ पर्यटक आएका छन्। त्यस्तै चितवन राष्ट्रिय निकुञ्जमा ४४ हजार ६ सय २३, कोशीटापु वन्यजन्तु आरक्षमा १८ हजार ३ सय ८५, बर्दिया राष्ट्रिय निकुञ्जमा १६ हजार २ सय ९८ स्वदेशी पर्यटक भ्रमणमा आएका थिए।
आगामी दिनमा पर्यटक बढाउन थप सेवासुविधा बढाउने कसरत गरिरहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए। विदेशी तथा स्वदेशी पर्यटकको आगमन बढाउने रणनीतिसहित थप सेवा सुविधा बढाइने ढकालले बताए। ‘निकुञ्जभित्रको पूर्वाधार विकासको कामको साथै मध्यवर्ती क्षेत्रको पूर्वाधार विकास पनि भइरहेको छ’, ढकालले भने, ‘वन, सिमसार क्षेत्रको व्यवस्थापन गर्दै पूर्वाधारको विकास गरेर पर्यटक बढाउने योजना छ।’ निकुञ्जको होटल व्यवसायी, पर्यटन व्यवसायी र स्थानीय समुदायसँग पनि सहकार्य गरेर पर्यटकको आगमनलाई बढाउने नीति लिएको ढकालले बताए।
जैविक विविधताको महŒव बढी भएका कारण स्वदेशी तथा विदेशी पर्यटक संरक्षित क्षेत्रको भ्रमण गर्न रुचाउँछन्। नेपाल घुम्न आउने पर्यटकमध्ये झन्डै आधा पर्यटक संरक्षित क्षेत्र भ्रमण गर्न आउने तथ्यांकले देखाउँछ। संरक्षित क्षेत्रमा पर्यापर्यटनको विकास र सेवासुविधा बढाउने योजना सरकारको छ।
नेपालमा १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ सरंक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र छन्। ६ वटा संरक्षण क्षेत्रमध्ये ३ वटा राष्ट्रिय प्रकृति संरक्षण कोषले २ वटा नेपाल सरकार र १ वटा स्थानीय बासिन्दाले नै संरक्षण र व्यवस्थापन गर्दै आएका छन्। नेपालको भू–भागको ३४ हजार ४ सय २० वर्गकिलोमिटर (२३.३९ प्रतिशत) संरक्षण क्षेत्रले ओगटेको सरकारी तथ्यांक छ।