कान्ति लोकपथको बिजोग
ललितपुर : कान्तिलोक पथमा सडकमा खसेको ढुंगा पन्छाउने क्रममा घाइते भएका ललितपुरमा १७ वर्षीय दीपेश मार्फाको मृत्यु भयो। उनी गोदावरी नगरपालिकाको देवीचौरबाट दक्षिण ललितपुरतर्फ जाँदै थिए।दूध बोक्ने गाडीका सहचालक उनी सडकमा खसेको ढुंगा पन्छाउँन लाग्दा माथिबाट खसेको ढुंगाले लाग्दा टाउकोमा गहिरो चोट लागेको थियो। बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनका अनुसार उनलाई अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो।
काठमाडौं-हेटौंडा जोड्ने कान्ति लोकपथमा पहिरो र ढुंगा खस्ने समस्याबाट दक्षिण ललितपुरवासी पीडित छन्। केही दिनदेखिको लगातार वर्षाका कारण दक्षिण ललितपुरका सडकहरू हिँड्ने नसकिने भएका छन्।सडकमा हिँड्दा माथिबाट ठूल्ठुला ढुंगा खसिरहने हुँदा ज्यान जोगाउन मुस्किल भएको गाउँपालिका अध्यक्ष लोप्चनले बताए। ‘माथि हेर्दै सडक पार गर्नुपर्छ’, उनले भने, ‘बिहान निस्किएपछि बेलुका घर पुगिन्छ की पुगिन्न थाहैै हुन्न।’ लगनखेल क्षेत्रमा बसोवास गर्ने बागमतीस्थित कार्यालय आउजाउ गर्छन् उनी।
बैठक, भेटघाटलगायत धेरै काम सदरमुकाममै हुने भएकाले यतैबाट धाउँदै आएको छु’, अध्यक्ष लोप्चनले भने। ‘यता बस्दा पनि जनताले बाटो खुलाउनु पर्यो भनेर हैरान पार्छन्। बाटोको अवस्था दयनीय छ’, उनले भने ‘जिम्मेवार निकायले वषौं झुलाए। बाटो बनेन्।’
जिल्ला समन्वय समितिका सदस्य जयराम तिमल्सिना पनि बागमतीबाटै आउजाउ गर्छन्। सडक खुलाउने नाममा ब्रेकर र डोजरले थिलथिलो बनाएको जमिन पानी पर्ने बित्तिकै पहिरो जान थालेको उनको भनाइ छ। जताजतै पहिरो, माथिबाट खसेको ढुंगाले लाग्ला भन्ने त्रासले माथि हेर्दै सवारी चलाउनुपर्ने बाध्यता रहेको उनले सुनाए।
वर्षाका कारण झाँक्रीडाँडा नयाँगाउँ, भालुखोला छपेली, बगुवा, कोटडाँडा, विर्खेधारालगायतका ठाउँ समस्याग्रत छन्।
जिल्ला समन्वय समितिका अध्यक्ष अम्बरबहादुर खड्काले कान्ति लोकपथको हालत सुध्रन नसक्ने भएकाले सुरुङ मार्गको आवश्यकता रहेको बताए।कान्ति लोकपथका आयोजना प्रमुख विनोदप्रसाद सापकोटाले यो मार्ग सम्पन्न हुन अझै एकवर्ष लाग्ने बताउँछन्।गत असारमा ठाउँठाउँमा पहिरो जाँदा ती स्थानमा मर्मत गर्नुपरेकाले थप एक वर्ष लम्बिने उनले बताए। कान्ति लोकपथ अप्ठेरो खालको सडक भएकाले समस्या आइरहने सापकोटा बताउँछन्।०१६ देखि निर्माण सुरु गरिएको यो सडकको लम्बाई ९२ किलोमिटर छ। ५१ किलोमिटर मकवानपुर खण्डमा पर्छ भने सातदोबाटोबाट बागमती गाउँपालिकासम्म ४१ किलोमिटर ललितपुरखण्डमा पर्छ। कान्ति लोकपथको १५ किलोमिटर सडक कालोपत्रे गरिएको तथा ११ किलोमिटर ग्राभेल भएको छ।