छुवाछूत छोएर

छुवाछूत छोएर

उपन्यासमा लोग्ने हराएकी देविकाको कथालाई जति ‘स्पेस’ दिइएको छ, त्योभन्दा बढी छुवाछूतकै घटनाको कथावस्तुलाई परिचर्चा गरिएको भए उपन्यास अझ खँदिलो हुने थियो।


नेपालको संविधान २०७२ मा छुवाछूत गर्न नपाइने व्यवस्था प्रस्ट रूपमा उल्लेख छ। तर छुवाछूतको जरो यति गहिराइसम्म गएको छ कि निमिट्यान्न हुने छाँटकाँट देखिँदैन। अहिले पनि पानी छोएको निहुँमा दलितमाथि कुटपिट हुने, दलित भएकै कारण डेरा नपाउनेलगायतका समस्या यथावत् छन्। स्थानीय निकायमा दलित वडा सदस्यको अनिवार्य व्यवस्था गरिएको छ। तर, कतिपय निर्वाचित दलित जनप्रतिनिधिहरू स्वयं पनि छुवाछूतको दुव्र्यवहार भोगिरहेको विडम्बनापूर्ण समाचार आइरहन्छ। अझ बीसको दशकमा यो अवस्था निकै उत्कर्षमा रहेको अनुमान गर्न सकिन्छ। 

आख्यानकार गगनसिंह थापाले यही छुवाछूतको सेरोफेरोमा पाँचौं कृतिका रूपमा ‘उज्ज्वली’ लघुउपन्यास ल्याएका छन्, जसमा बीसको दशकको कालक्रमलाई लिएर कथावस्तु उनिएको छ। 

पश्चिम पहाडमा ‘भुल’ दलितहरूको एक थर हो। उनीहरू प्रायः हलिया जीवन बाँचिरहेका छन्। ‘भुल’ दलितका पुर्खाहरू कुनै समय राज्य सञ्चालन गरेको प्रसंग यस आख्यानमा छ। आख्यानअनुसार ब्राह्मण समुदायको उदय आफ्नै हलियाकी छोरी उज्ज्वलीसँग सानैदेखि बसउठ गर्छ। उनीहरूबीच प्रगाढ मित्रता छ। उदयको जुँगाको रेखी बस्दै गएपछि अनि उज्ज्वलीका छाती उक्सिँदै गएपछि दुवै परिवारका अभिभावकहरूले सँगसँगै हाँसखेल नगर्न सचेत गराउँछन्। तर परिवारको कुरालाई बेवास्ता गर्दै दुवै प्रेममा चुर्लुम्म डुब्छन्। अन्ततः दुवै सधैंका लागि जीवनसाथी बन्छन्। 

यसरी उपन्यासको एउटा पाटो उदय र उज्ज्वलीको प्रेम प्रसंगतिर दौडिएको छ भने कथाको अर्को पाटो आमाले उदयकी भाउजू देवकीलाई दिएको यातनाको बारेमा समेटिएको छ। उदयका दाजु हराएपछि मेरो छोरो यसैले खाई भनेर उसलाई तथानाम यातना दिइएको छ। हुँदाहुँदा खेतमा खाजा पुर्‍याउन गएकी बुहारीलाई सासूले दुइटा रोटी कम भएको निहुँमा भुत्ल्याएकी छन्। खेतालाहरूका अगाडि सर्वांग नांगेझार बनाइदिएकी छन्। बेइज्जती सहन नसकेपछि देविकाले आत्महत्या गर्छिन्। 

देविकाले आत्महत्या गरेको केही दिनमा मुग्लान भासिएको उनको लोग्ने आइपुग्छ। श्रीमतीलाई आमाले हेला गरेर मर्न बाध्य बनाएको घटना सुनेपछि ऊ पुनः घर छोड्छ। मर्न बाध्य बनाएको उसकै उजुरीले आमालाई प्रहरीले समातेर लान्छ। श्रीमती पक्राउ परेको घटना सहन नसकेर बूढा हर्टअट्याक भई मर्छन्। यसरी परिवार छिन्नभिन्न हुन पुग्छ। 

सासू जेलबाट छुटेर आएपछि बुहारी ‘उज्ज्वली’ दलितकी छोरी भएकीले उसको हातले पकाएको नखाने भनेर मुखियाको घर बस्न थाल्छिन्। मुखियाले स्याहार नगरेपछि अन्ततः छोराबुहारीको शरणमा आइपुग्छिन्। मोटामोटी कथाको संक्षेपीकरण यत्ति हो। 

उपन्यासमा खड्किएको एउटा पाटो उदयलाई पढालेखा युवा देखाउनुपर्नेमा उसलाई पनि गोठालो नै देखाइएको छ। भैंसी लिएर वन जाँदा बाख्रा लिएर वन गएकी उज्ज्वलीसँग उसको लसपस भएको छ। उसले आफ्नो प्रेमलाई न्याय त दिएको छ। तर, बिहेभोजको पार्टीमा ‘भुल’ समुदायका आफन्त पनि नआएको देखाएर छुवाछूतको पराकाष्ठा देखाइएको छ। 

भोकमरी पर्दा ‘भुल’ समुदायका मात्र होइन, गाउँका मुखियासमेत उदयकहाँ अन्नका लागि हात पसार्न आएका छन्। यसरी बल्ल दलितसँग बिहे गरेको ब्राह्मणको घरआँगन पवित्र भएको देखाइएको छ। 

उपन्यासमा लोग्ने हराएकी देविकाको कथालाई जति ‘स्पेस’ दिइएको छ, त्योभन्दा बढी छुवाछूतकै घटनाको कथावस्तुलाई परिचर्चा गरिएको भए उपन्यास अझ खँदिलो हुने थियो। जे होस्, शारीरिक रूपले कमजोर भइसक्दा पनि आख्यानमा लागिपरेका गगनसिंह थापाको आख्यान लेखन सरर्र बगेको छ। पढ्दा झिँजो लाग्दैन। यसअघि उनको ‘कर्णालीको छेउछाउ’, ‘पुर्खाको चिठ्ठी’, ‘मेरो मधुशाला’लगायत आख्यान कृति प्रकाशन भइसकेको छ। 

बुक्सेलरले प्रकाशन गरेको ‘उज्ज्वली’ पुस्तकको मोल १५० रुपैयाँ रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.