पूर्णता पाएन एकल विन्दु सेवा केन्द्रले
काठमाडौं : स्वदेशी तथा विदेशी लगानीकर्तालाई छिटो छरिटो सेवा दिने उद्देश्यले एकल विन्दु सेवा केन्द्र सुरु गरिए पनि अझै पूर्णता पाउन सकेको छैन।सरकारले उद्योगजन्य सम्पूर्ण सेवा एउटै विन्दुबाट सेवा दिने उद्देश्यले जेठ १ गतेदेखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो। उद्योग विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलका अनुसार एकल विन्दु सेवा केन्द्रमा नौवटा एकाइले नियमित काम गरिरहेको जानकारी दिए। पाँचवटा निकाय अझै आउन सकेका छैनन्।
उनका अनुसार उद्योग दर्ता, ईआईए स्वीकृति, विदेशी मुद्रा, विदेशी लगानी स्वीकृति, भन्सारको एक्जिम कोड, जग्गा प्रशासनलगायत काम भइरहेको छ। एकल विन्दु सेवा केन्द्रमा अध्यागमन, श्रम मन्त्रालय, वाणिज्य, कम्पनी रजिस्ट्रार, खानी विभाग, वन तथा वातावरण विभागको काम पनि सुरु हुने क्रममा रहेको निर्देशक लुइँटेलले जानकारी दिए। श्रमलगायत केहीको प्रतिनिधि आइसकेकाले एकल विन्दु सेवा केन्द्रले छिट्टै पूर्णता पाउने उद्योग विभागले जनाएको छ।
केन्द्रबाट विभिन्न निकायले प्रदान गर्ने सेवा छोटो समयमै उपलब्ध हुने व्यवस्था गरिए पनि तोकिएका निकाय अझै नगएका हुन्। केन्द्रमा विभिन्न १४ वटा एकाई रहने व्यवस्था छ। केन्द्रबाट लगानी परामर्श, उद्योग स्थापनाको अनुमति, दर्ता र विस्तारदेखि बहिर्गमन (एक्जिट) सम्मका सेवा पाउँछन्। औद्योगिक व्यवसाय ऐन, २०७३ ले समेत एकल विन्दु सेवा केन्द्रको अवधारणा ल्याए पनि कार्यान्वयनमा लामो समयसम्म चर्चामा सीमित थियो।
केन्द्रमा उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अध्यागमन विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी केन्द्रमा रहन्छन्।
केन्द्रबाट विभिन्न निकायले प्रदान गर्ने सेवा छोटो समयमै उपलब्ध हुने व्यवस्था गरिए पनि तोकिएका निकाय अझै त्यहाँ पुगेका छैनन्।
लगानीकर्ताले केन्द्रबाटै छुट, सुविधा, सहुलियत वा प्रोत्साहन सरल एवं सहज प्रक्रियाबाट सेवा पाउनेछन्। उद्योग मन्त्रालयका सहसचिव दिनेश भट्टराईले केन्द्रमा खटिएका सम्बन्धित कर्मचारीले निर्णय गर्न सक्ने गरी सेवा दिन सुरु गरिएको बताए। ‘यदि कर्मचारीले निर्णय गर्न नसके उसैले नै सम्बन्धित निकायमा फाइल पु¥याउने व्यवस्था’, उनले भने, ‘सेवाग्राही यताउता कुद्नुपर्ने अवस्था अन्त्य भएको छ।’ एकल विन्दु सेवा केन्द्र विस्तारै प्रभावकारी हुँदै गएको भट्टराईले बताए।
एकल विन्दु सेवा केन्द्रमा ४१ कर्मचारी रहने व्यवस्था छ। उद्योग विभागमा ५६ जनाको दरबन्दी छ। सरकारले एकल विन्दु सेवा केन्द्रलाई उद्योग विभागअन्तर्गत नै राख्ने तयारी गरेको छ। उद्योग विभाग एकल विन्दु सेवा केन्द्रलाई संयुक्त रूपमा चलाउँदा १७ जना कर्मचारी कम हुँदा पनि प्रभावकारी ढंगले सञ्चालन गर्न सकिने निर्देशक लुइँटेलले जानकारी दिए।
एकल विन्दु सेवा केन्द्रलाई अझै प्रभावकारी बनाउन पूर्वाधार शाखा स्थापना गरेर पूर्वाधार, जलविद्युत्लगायत क्षेत्रमा काम गर्ने सरकारको तयारी छ। प्राविधिक समूह राखेर एकल विन्दु सेवा केन्द्र र पूर्वाधार विकास शाखालाई प्रभावकारी बनाउने योजना रहेको निर्देशक लुइँटेलले जानकारी दिए। सुरुमा एकल विन्दु सेवा केन्द्र छुट्टै संरचनामा बनाउने तयारी भए पनि उद्योग विभागअन्तर्गत नै राख्ने तयारी भएको छ।
एकल विन्दु सेवा केन्द्रमा प्राविधिक १० जना र प्रशासनतर्फ ५ जना निर्देशक रहन्छन्। एकल विन्दु सेवा केन्द्रको प्रमुख कार्यकारी उद्योग विभागका महानिर्देशक नै रहनेछन्। केन्द्रबाट सम्पूर्ण निकायले अनलाइनमार्फत सेवा उपलब्ध गराउन सक्ने गरी प्रक्रिया अघि बढेको छ। केन्द्रबाट कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट भइरहेको कम्पनी, फर्म, उद्योग दर्ता, अनुमति, इजाजत, स्थापना, नवीकरण, कारोबार अनुमति, क्षमता वृद्धि र बहिर्गमनलगायत सेवा सरलीकृतरूपमा दिने उद्देश्यले एकल सेवा सञ्चालनमा ल्याएको हो।
केन्द्रबाट व्यवसाय दर्ताका लागि आवश्यक पर्ने कागजात पहिचान, विदेशी लगानी स्वीकृति र विदेश फिर्ता लैजाने निर्णय गर्न सक्ने अधिकार पनि छ। त्यस्तै केन्द्रले विदेशी लगानीकर्ता तथा कामदारलाई श्रम स्वीकृति तथा प्रवेशाज्ञा उपलब्ध गराउँछ। उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा सहजीकरण गर्ने तथा आयात अनुमति लिनुपर्ने मालवस्तु भएमा सबै प्रकारका अनुमति दिने एवं सोका लागि सिफारिस गर्छ। उद्योग स्थापना गर्न प्रारम्भिक वातावरणीय परीक्षण स्वीकृत गर्ने र सम्बन्धित मन्त्रालयबाट अधिकार प्रत्यायोजन भएबमोजिम ‘स्कोपिङ डकुमेन्ट’ र कार्यक्षेत्रगत शर्त स्वीकृत गर्ने प्रावधान राखिएको छ।
११० उद्योगमा सवा खर्ब लगानी प्रतिबद्धता
एकल विन्दु सेवा केन्द्र केन्द्रमा चार महिनाको अवधिमा एक सय १० उद्योगका लागि झण्डै सवा खर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त अवधिमा एक खर्ब २० अर्ब २६ करोड ५१ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
एकल विन्दु सेवा केन्द्रका अनुसार जेठमा ३९, असारमा २०, साउनमा १९ र भदौमा २२ वटा उद्योग स्थापना भएका छन्। पाँचवटा कृषि तथा वनजन्य उद्योगमा एक अर्ब ४५ करोड, २९ वटा ऊर्जामूलकमा एक खर्ब पाँच अर्ब ६७ करोड ५० लाख, आठवटा सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ३२ करोड १० लाख, २५ वटा उत्पादनमूलकमा ६ अर्ब २८ करोड ७० लाख, ११ वटा सेवामूलकमा ८५ करोड ५० लाख, ३२ पर्यटनमूलकमा पाँच अर्ब ६७ करोड ४० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
एकल विन्दु सेवा केन्द्रमा दर्ता भएका उद्योगले ६ हजार तीन सय ८२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन्। विदेशी लगानीमा प्राथमिकता दिइए पनि २० अर्बभन्दा बढी विदेशी लगानी आउन सकेको छैन।